बेसार प्रवर्द्धन गर्दै रोङ गाउँपालिका

इलाम– पछिल्लो समय इलामको रोङ गाउँपालिका बेसार प्रवर्द्धनमा जुटेको छ । गुन्द्रक र सिस्नोको ब्राण्डिङमा सफलता प्राप्त गरेपछि गाउँपालिका बेसार प्रवर्द्धनमा जुटेको हो । गाउँपालिकाले यसअघि गुन्द्रुक र सिस्नोको ब्राण्डिङ पछि बजारीकरण समेत गरेको थियो । सो कार्यमा सफलता मिलेपछि गाउँपालिका बेसार प्रवर्द्धनमा लागेको हो ।
अन्न बालीमा बाँदर, मृग, खरायो जस्ता विभिन्न जंगली जनावरले दु:ख दिने गरेपछि स्थानीयसमेत बेसार लगाउने सोचमा थिए । जंगली जनावरबाट अन्नबाली जोगाउन समस्या भएको गुनासो बढ्न थालेपछि गाउँपालिका बेसार उत्पादन र प्रवर्द्धनमा लागेको हो । पहिलो चरणमा गाउँपालिकाले बेसारको बिउ वितरण गरेको छ । स्थानीय एक सहकारीमार्फत बेसारको बिउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्बोले जानकारी दिए ।
उनका अनुसार गाउँपालिका भित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना किसानलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको छ । उत्पादन भएको बेसार सहकारीले नै खरिद गर्ने बताइएको छ । प्रतिकिलोग्राम ४० रुपयाँका दरले किसानबाट काँचो बेसार खरिद गर्ने बताइएको छ । सुरुमा ४५ जना किसानलाई दिइएको बिउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराइने छ । र पर्याप्त उत्पादन पछि बाहिर निकास गर्न थालिने बताइएको छ ।
सो गाउँपालिकामा बेसारको राम्रो उत्पादन हुँदै आएको छ । बेसार १० गुणा बढि फल्ने गरेको किसानहरु बताउँछन् । एक किलोग्राम बेसारबाट १० किलोग्रामसम्म उत्पादन हुने गरेको किसानको भनाइ छ । गाउँपालिकाकै किसान शान्त कुमारी लाप्चाले एक किलो बेसारको बिउँबाट १६ किलोग्राम बेसार उत्पादन गरेको बताइन् । किसान लाप्चाले यसअघि पनि बेसार रोपेको र राम्रो उत्पादन भएको बताइन् । गाउँपालिकाले सबै ६ वटै वडामा बेसार खेती विस्तार गर्ने लक्ष लिएको छ ।
गाउँपालिका र जिल्ला बाहिर समेत बेसार निर्यात गर्न सकिने भएकाले किसानलाई व्यावसायिकता तर्फ उन्मुख गराउन यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष स्याङ्बोको भनाइ छ । बेसार पनि विभिन्न जातमा हुन्छन् । गाउँपालिकाले भने कपुरबोट एक जातको बेसार किसानलाई वितरण गरेको जनाइएको छ । गाउँपालिकाले यसअघि ‘रोङ मह’ सहित गुन्द्रुक ब्राण्डिङ गरिसकेको छ । सिस्नोसमेत बजारसम्म पुर्याउन काम थालिएको बताइएको छ । उत्पादन सुरु भएपछि ‘रोङ बेसार’ समेत ब्राण्डिङ गरीने बताइएको छ ।