Logo

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी पूरा

चितवन– भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । समारोहमा पूर्वप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश सांसदलगायतको उपस्थिति रहने छ । करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न सांस्कृतिक झाँकीहरु प्रर्दशन गरिनेछ ।

‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिति तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ । यस्तै महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमिति गठन गरी कार्य विभाजनसहितको जिम्मेवारी प्रदान गरिएको छ ।

भ्रमण वर्षको तयारीका सन्र्दभमा विभिन्न राजनीतिक, दल, बुद्धिजिवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवाला सबैसँग पटकपटक छलफल तथा अन्तरक्रिया गरिसकेको महानगरले जनाएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ ।

महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको महानगरपालिका प्रमुख दाहालले बताइन् । भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा संघसंस्थाको अगुवाईमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।

भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिएको महानगरले जनाएको छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, सम्भावनाहरुको पहिचान, तथा बदलिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा राखिएको उपप्रमुख अधिकारीले बताए ।

भ्रमण वर्षमा आउने पाहुनालाई सेवा प्रदान गर्न महानगरभित्रका होटलमा ७ हजार ५ सय बेड र सौराहादेखि गैंडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए । भ्रमण वर्षमा आउने पाहुना लक्षित गरी होटल तथा रेष्टुरेन्टहरुले छुट सुविधा यसअघि नै घोषणा गरेका छन् । भ्रमण वर्ष भरी सञ्चालन गरिने विविध गतिविधिले समग्र चितवनलाई नै पर्यटकीय तथा आर्थिक हबका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्