Logo

१८ करोडमा मासु प्रशोधन केन्द्र बन्ने

भैरहवा– रुपन्देहीको श्रीनगर एग्रिटेक इन्ड्रस्टिले १८ करोड रुपैयाँको लागतमा मासु प्रशोधन तथा कोल्डस्टोरेज निर्माण गर्ने भएको छ । श्रीनगरले आउँदो वैशाख भित्र मासु प्रशोधन तथा कोल्ड स्टोरेजको काम सुरु गर्नका लागि पूर्वाधार निर्माणको काम सुरु गरेको इन्ड्रस्टिका अध्यक्ष सतिश चन्द्र श्रेष्ठले बताए ।

लुम्बिनी प्रदेशलाई लक्षित गरी कम्पनीले मासु प्रशोधन एवं कोल्ड स्टोरेजको काम सुरु भइसकेको बताएको छ । ‘हाम्रो मुख्य उद्योग रुपन्देहीको शुद्धोधन गाउँपालिकामा छ । यहाँ चल्ला, अन्डा उत्पादन हुन्छ । हामीले चल्ला किसानलाई बिक्री गर्ने गरेका छौं र त्यही किसानले पालेको चल्ला खान योग्य हुने भएपछि उनीहरुबाटै खरिद गरी मासु प्रशोधन बिक्री गर्ने लक्ष्य लिएका छौं’ अध्यक्ष श्रेष्ठले भने ।

मासु प्रशोधन उद्योगबाट दैनिक ३ हजार कुखुरा अर्थात् ६ हजार किलो मासु तयार गरी बजारमा पठाउने लक्ष्य रहेको र कोल्ड स्टोरको क्षमता २ सय टनको हुने श्रेष्ठले बताए । मासु प्रशोधन उद्योगबाट फ्रोजन मिट साथै बोनलेस, विथ बोन, किमा, ससेज, विंग्सलगायतका मासु उपलब्ध हुने जनाइएको छ । वाणिज्य विभागबाट नेपाल गुणस्तर (एनएस) चिन्ह लिएर प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने सोचका साथ काम सुरु भएको श्रेष्ठले बताए ।

प्रशोधन तथा कोल्ड स्टोरको लागि कम्पनीले चीन र भारतबाट सेमी अटोमेटिक प्लान्ट ल्याउनका लागि प्रक्रिया अघि बढाएको कम्पनिका प्रबन्ध निर्देशक मौसमी श्रेष्ठले बताइन् । कम्पनीको उत्पादन ४० भन्दा बढी जिल्लामा वितरण तथा खपत हुँदै आएकोमा प्रशोधित मासुको मुख्य बजार लुम्बिनी प्रदेशलाई लक्षित गरिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्