Logo

सुनकोशी–मरिन डाइभर्सन

सुरुङ निर्माणको ८० प्रतिशत काम सकियो

जनकपुरधाम– संघीय सरकारको प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको बहुउद्देश्यीय सुनकोशी मरिन डाइभर्सन अन्तर्गत निर्माण हुने सुरुङ निर्माणको ८० प्रतिशत काम सकिएको छ । संघीय सरकारको ४९ अर्ब ५२ करोड लागतमा आयोजना निर्माण भएको हो । हालसम्म करिब १२ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजना प्रमुख मित्र बरालले बताए ।

२०७७ फागुन २० मा कमलामाई– २ कुसुमटारमा शिलान्यास भई सो आयोजनाको निर्माण कार्य सुरु भएको थियो । कुल १३.३ किलोमिटर लामो सुरुङको काममध्ये हालसम्म ८० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । विद्युत तथा अन्य सिँचाई आयोजनाहरुमा सुरुङ निर्माण भएपछि सुनकोशी नदीको पानी मरिनखोलामा झारेर विद्युत उत्पादन गरिने आयोजनाले लक्ष्य लिएको छ ।

उक्त पानी मधेश प्रदेशका एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा उपलब्ध गराउन योजना संघीय सरकारले लिएको आयोजना प्रमुख बरालले बताए । आयोजनाबाट हाल सञ्चालनमा रहेको विपी राजमार्गको केही भाग प्रभावित हुनेछ । चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिंगले ठेक्का लिएको सो आयोजना निर्माण हुने स्थानमा कुल १ हजार २२४ मिटर बराबरको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।

आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि तराई मधेशको एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ । चुरे पर्वत श्रृंखलाबाट महाभारत पर्वत श्रृंखलामुनि सुरुङ निर्माण भइसकेको छ । कडा चट्टानयुक्त क्षेत्र भएकोले काम गर्न अप्ठ्यारो भए पनि समयमै आयोजना सकिने बताइएको छ । सुनकोशी गाउँपालिका– ७ कानढुंगास्थित सिन्धुली र रामेछापको सीमाना भएर बग्ने सुनकोशी नदीमा उक्त पानी मिसाइने छ ।

सुनकोशीको करिब ६७ क्यूसेट पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिन खोलामा खसालिने योजना छ । उक्त पानी बागमती सिँचाई आयोजनाको पूर्वाधार प्रयोग गरी मधेश प्रदेशको धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रौतहट र बारा जिल्लाको एकलाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा उपलब्ध हुने आयोजनाले जनाएको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएपछि पर्याप्त सिँचाई सुविधा उपलब्ध भएपछि मधेश प्रदेशमा कृषि क्रान्ति आउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्