Logo

पाँच वर्षमा पनि बनेन बुटवल मेडिकल कलेज

बुटवल– आयोजना कार्यालय उद्घाटन भएको पाँच वर्षमा पनि प्रस्तावित बुटवल मेडिकल कलेज निर्माणको काम अघि बढ्न सकेको छैन । २०७५ साल चैत १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, नयाँमिलमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गरेका थिए । तर मेडिकल कलेजको निर्माण कहिले सुरु हुन्छ टुंगो छैन ।

बुटवल मेडिकल कलेज निर्माणका लागि अहिले पूरक ईआईएको प्रक्रिया चलिरहेको आयोजनाले जनाएको छ । पूरक ईआईएको काम सकिएपछि रुख कटानको हुन्छ । त्यसपछि मात्र निर्माणको काम अघि बढ्ने आयोजनाका निर्देशक नारायणप्रसाद पोखरेलले बताए । ‘पूरक ईआईएको लागि हामीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा चिठी पठाएका छौं । मन्त्रालयले अनुमति दिएर बजेट प्राप्त भएपछि पूरक ईआईए हुन्छ,’ उनले भने, ‘पूरक ईआईए सकिएपछि रुख काट्न वन मन्त्रालयसँग सम्झौता हुन्छ ।’

आयोजना कार्यालय स्थापना भएपछि सुरुमा दुई सय बिघा क्षेत्रफलमा बुटवल मेडिकल कलेज बनाउने गरी काम अघि बढेको थियो । त्यसका लागि गुरुयोजना, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रमाव मूल्यांकन (ईआईए) तयार भएको थियो । २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बुटवल मेडिकल कलेजका लागि ५० बिघा जग्गा मात्र भोगाधिकारका लागि दिने निर्णय गर्‍यो । मन्त्रिपरिषद्को निर्णयपछि डीपीआर पनि परिमार्जन गरियो । डीपीआर निर्माणका लागि तीन करोड ४१ लख खर्च भएको थियो ।

जग्गा र रुख काट्ने संख्यामा हेरफेर भएपछि पूरक ईआईए गर्नुपर्ने भयो । पहिले २० लाख रुपैयाँ खर्च गरेर प्रस्तावित मेडिकल कलेजको ईआईए भएको थियो । अब पूरक ईआईए गर्दा थप १६ लाख लाग्ने आयोजनाका इन्जिनियर उमेश सिंहले बताए । मेडिकल कलेज निर्माणका लागि २०७५ सालदेखि नै बजेट विनियोजन हुँदै आएको छ । काम अघि नबढेपछि खर्च नभएको बजेट फ्रिज हुँदै गएको छ । यो वर्ष पनि मेडिकल कलेजका लागि सात करोड ८० लाख रुपैयाँ विनियोजन भएको छ ।

चालु आर्थिक वर्षको बजेटमा ईआईएका लागि रकम छुट्याइएको थिएन । शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त भएपछि मात्र ईआईएका लागि बजेट छुट्याइने छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ र ८ मा पर्ने सामुदायिक वनमा मेडिकल कलेज बनाउन लागिएको हो । मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि ८४० वटा रुख काट्नुपर्नेछ । गुरुयोजना अनुसार मेडिकल कलेज निर्माणका लागि १८ अर्ब लाग्ने छ । ५० बिघा क्षेत्रफलमा बन्ने अस्पताल, प्रशासनिक र शैक्षिक संरचना निर्माण हुने आयोजनाका इन्जिनियर उमेश सिंहले बताए ।

‘६ सय बेडको अस्पतालको भवन बन्नेछ । दुई दुई सय बेडको कार्डिया अंक, प्रशासनिक भवन, शैक्षिक भवन निर्माण हुनेछ ।’ उनले भने, ‘त्यस्तै छात्रावास र सभाहल, डाक्टर क्वाटर, प्राध्यापकको क्वाटर बन्ने छ ।’ सबै प्रदेशमा एक एकवटा सरकारी मेडिकल कलेज बनाउने अवधारणाअन्तर्गत तिलोत्तमामा प्रदेशस्तरीय मेडिकल कलेज निर्माणअघि बढेको हो । रुपन्देहीमा निजीतर्फ भैरहवामा युनिभर्सल मेडिकल कलेज र देवदहमा देवदह मेडिकल कलेज रहेको छ । सरकारी अस्पतालतर्फ बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवामा भीम अस्पताल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्