Logo

सरकार र निजी क्षेत्रबीच सहकार्यमा जाेड

विराटनगर– आर्थिक विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन् । कार्यक्रममा स्थानीय तथा प्रदेश सरकारसँग सम्बन्धित प्रतिनिधि तथा निजी क्षेत्रका व्यवसायीहरू सहभागी रहेका थिए ।

आर्थिक विकासका लागि सरकारले सहजीकरण गर्नुपर्ने निजी क्षेत्रले बताएका थिए भने स्थानीय तहका जनप्रतिनिधिले भने निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्ने अवस्थामा नरहेको बताएका थिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भलो चिताउने उद्देश्यले गरेका काममा समेत समर्थन नगरेको भन्दै विराटनगरका व्यापारीहरूको आलोचना गरे ।

उनले विराटनगरको पार्किङ व्यवस्थापन गर्दा आलोचना गर्नेहरूले भन्सार जाँचपासमा कडाई गरिएको विषयमा समेत आलोचना नै गरेको बताए । कोइरालाले भने,‘सडकको पार्किङ हटाउँदा व्यापार भएन भन्नेहरू अहिले पार्किङ सुविधा दिँदा पनि व्यापार भएको कुरा गर्दैनन् । भन्सार जाँचपासमा कडाई गरेर स्थानीय बजार प्रवद्र्धन गर्न समन्वय गर्दा तस्करहरूले घेराबन्दी गर्छन्’ । ‘कुनै काम गर्न खोज्दा समर्थन हुँदैन भने कसरी सहकार्य हुन्छ’ कोइरालाले भने,‘विराटनगर सबैको हो, मेरो कार्यकाल तीनवर्ष बाँकी छ, त्यसपछि म नागरिककै तहमा आउँछु ।’

सहकार्य गर्नका लागि सहअस्तित्व स्वीकार हुनुपर्नेमा जोड दिदै उनले निजी क्षेत्र र सरकारबीचको सहकार्यले मात्रै दिगो आर्थिक विकास हुने धारणा राखे । त्यसैगरी बूढीगंगा गाउँपालिकाका प्रमुख जीतनारायण थापा मगरले औद्योगिक क्षेत्र समेटिएको पालिकाको विकासमा सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरे । उनले निजी क्षेत्रले एउटै राज्यमा तीन स्थानमा कर बुझाउनु परिरहेको बाध्यता कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल आवश्यक रहेको बताए ।

कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले लगानी आकर्षण हुन नसक्दा सरकारले निर्माण गरेको संरचनासमेत प्रयोग विहीन रहेको बताए । उनले निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारीमा ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष भीम पौडेलले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै देशको आर्थिक विकास हुने विचार व्यक्त गरे । निजी क्षेत्रका कतिपय व्यक्तिले आन्तरिक उत्पादनको खपत बढाउन सके मात्रै आर्थिक विकासमा सहयोग पुग्ने त्यस अवसरमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्