प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माण हुने «

प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माण हुने

ललितपुर-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको सैँबु आवास क्षेत्र, भैँसेपाटीमा शिलान्यास गरेका छन् ।
२७ रोपनी १२ आना जग्गामा ९७ करोड ११ लाख रुपैयाँको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने भवनको शहरी विकास तथा भवन निर्माण विभागले सोमबार आयोजना गरेको कार्यक्रममा शिलान्यास गरिएको हो । ‘केसी समान्तर जेबी कम्पनी’ले निर्माण गर्ने सो स्थलमा सात प्रदेशका लागि सात ब्लक र प्रत्येक ब्लकमा तीन–तीनतले दुई भवन गरी कूल १४ अत्याधुनिक र सुविधासम्पन्न भवन बन्नेछ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार पूर्वाधार र विकासका हरेक क्षेत्रमा तीव्र विकास गर्दै समृद्ध नेपालको परिकल्पनाका साथ अघि बढेको बताए । उनले लोककल्याणकारी राज्यको स्थापना गर्दै कोही पनि नागरिक भोकै मर्न नपरोस् भन्नका लागि गरिबी लक्षित कार्यक्रमको अनुदानलाई बिचौलियाले खाने प्रवृत्तिमा सुधारेर लक्षित वर्गमा पु-याउने बताए ।
उनले भने, “हामी देखिने गरी सामाजिक रूपान्तरण र परिवर्तनको दिशामा छौँ । अब कोही पनि बेसहारा भएर सडकमा रहनु पर्दैन । त्यस्ता कोही अलपत्र नागरिक देखिएमा सरकारलाई खबर गर्नुहोला ।”
शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो भवन निर्माणमा पारदर्शिता र गुणस्तरीयता अपनाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारले शुरु गरेको सघन तराई कार्यक्रमबाट अहिले तराईका हरेक जिल्ला सदरमुकाममा मुहार परिवर्तन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्