अर्बौं डलर खर्च गर्दै चिनिया“ पर्यटक

चीन साताव्यापी लामो लुनार नयाँ वर्षको बिदामा प्रवेश गर्दैछ । यो बिदाका अवसरमा ६५ लाख पर्यटकले विदेश भ्रमण गर्ने र अर्बौ डलरको खर्च गर्ने अपेक्षा गरिएको देशको पर्यटन प्राधिकरण र भ्रमण वेबसाइट सी–ट्रिपले जनाएको छ ।
यो वष पर्यटकको संख्यामा गत वर्षको ६१ लाख ५० हजारबाट ५.६ प्रशितको वृद्धि हुने अपेक्षा गरिएको छ ।
यो भ्रमणको समयमा प्रत्येक पर्यटकले ९ हजार ५ सय युआन अर्थात् १ हजार ५ सय डलर खर्चए गर्ने अपेक्षा गरिएको छ । एक साताको अवधिमा उनीहरूले अन्तर्राष्ट्रिय पर्यटनमा गर्ने कुल खर्च १० अर्ब डलरको हाराहारीमा हुने अपेक्षा गरिएको छ । यो खर्च गत वर्षको तुलनामा औसत ५ प्रतिशतले बढी भएको चाइना टुरिजम एकेडेमी र सी–ट्रिपले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।
पर्यटकहरूले केही दक्षिणपूर्वी एसियाली राष्ट्रमा हजारौं युआनदेखि १ लाख ६० हजार युआनसम्मको खर्च गर्ने बताइएको छ । दक्षिणपूर्वी एसियाली राष्ट्र र अन्टार्कटिका क्षेत्र समृद्ध चिनियाँका लागि लोकप्रिय गन्तव्य रहँदै आएको छ । उत्कृष्ट गन्तव्यमा थाइल्यान्ड, जापान, सिंगापुर र अमेरिका छन् ।
उत्कृष्ट गन्तव्यबाट दक्षिण कोरिया अलग भएपछि यसले अन्य मुलुकलाई फाइदा पुगेको छ ।
सिंगापुरको पर्यटन प्राधिकरणले यसै साता पर्यटकको संख्याका आधारमा चीन पहिलो पटक ठूलो बजार भएको जनाएको छ । चिनियाँ पर्यटकहरू सिंगापुरमा सबैभन्दा बढी खर्च गर्नेमा पनि परेका छन् ।
समृद्ध र मध्यमवर्गको वृद्धिका कारण चिनियाँहरू हाल अनुभव गर्न र विलासी बजारमा खर्च गर्नका लागि लालायित हुँदै आएका छन् ।
“यी उपभोक्तालाई अनुभव गराउने प्रयास गर्नुहोस् । हामी होटलभित्र मात्रै अनुभव गराउन प्रयास गर्दैनौं । हामी स्थानीय बजारसँग उनीहरूको सम्पर्क स्थापित गर्नका लागि पनि प्रयास गर्नेछौं,” हङकङको फोर सिजन होटलका महाप्रबन्धक क्रिस्टोफले बताए ।
विलासी होटलले अन्य सेवाप्रदायकहरू रेस्टुराँ, बार र विभिन्न क्षेत्रको अवलोकन गर्ने फर्महरूसँग पनि मिलेर काम गरिरहेको उनले बताए ।
यद्यपि अनुशासन नमान्ने पर्यटकको व्यवहारप्रति बेइजिङ भने खुसी देखिएको छैन ।
बिदेसिने पर्यटकलाई सुझावका साथ गत साता मात्र जारी गरिएको परिपत्रमा चाइनिज टुरिजम एकेडेमीले पर्यटकलाई सभ्य हुन अनुरोध गरेको थियो ।