सगरमाथा आरोहीलाई सुरक्षा दिन अब चिप्स प्रयोग

काठमाडौं– सरकारले सगरमाथा आरोहणमा जाने आरोहीलाई विद्युतीय चिप्स लगाएर पठाउने भएको छ । पर्यटन विभागले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने आरोही तथा आरोहण दलकासदस्यलाई आउने वसन्तयामबाट विद्युतीय चिप्स अनिवार्य गर्न लागेको हो । विभागमा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताए ।
उनले भने,‘आगामी वसन्तयामबाट लागू हुने गरी आरोहणमा जाने दलका सदस्यसहित आरोहीले अनिवार्य रूपमा विद्युतीय चिप्स प्रयोग गर्नुपर्नेछ ।’ उनका अनुसार चिप्स प्रयोगले आरोहणमा जाने आरोही समस्यामा परे तत्काल उद्धार गर्न सहयोग पुग्नेछ । आरोहीले आफ्नो ज्याकेटमा यस्तो चिप्स राखेर जानुपर्ने व्यवस्था गरिनेछ । यस्तो चिप्सकोसेवा शुल्क आरोहण व्यवस्थापन गर्ने एजेन्सीले तिर्नु पर्नेछ । चिप्स पेनड्राइभ आकारको हुनेछ ।
निर्देशक गुरुङका अनुसार चिप्सको मूल्य करिब १० अमेरिकी डलर पर्नेछ । आरोही हराएको अवस्थामा खोज तथा उद्धार कार्यका लागि डिटेक्टर प्रणालीले चिप्सलाई ट्रयाकिङ गरी खोजी तथा उद्धार गर्नेछ । चिप्सको सहयोगमा लामो समयसम्म ट्रयाकिङ गर्न सकिने भएकाले हिउँमा पुरिएका तथा खोचमा झरेका आरोहीको खोज तथा उद्धार गर्न सहज हुने उनको भनाइ छ । विभागका अनुसार पहिलो चरणमा सगरमाथा र पछि अन्य हिमालमा समेत यस्तो चिप्सको प्रयोग गर्ने योजना अगाडि सारिएको छ । विगतमा आरोहणका क्रममा आरोही हराउने र खोज तथा उद्धार गर्न समस्या हुँदै आएको थियो ।
अब चिप्सको प्रयोगले खोजी तथा उद्धार सहज हुने भएकालेविश्वमा नै नेपालको पर्वतारोहण सुरक्षित रहेको सन्देश प्रवाह हुने विभागका शाखा अधिकृत नारायणप्रसाद खनालले बताए । उनले भने,‘चिप्स आधार शिविरबाट माथि जाने आरोहीका लागि प्रयोग गरिने छ । त्यसले पर्वतारोहण थप सुरक्षित बनाउने छ ।दलका कुनैआरोही कारणवस हिउँबाट चिप्लिएर हराएको अवस्था तथा दुर्घटनामा परे सहज रूपमा खोज तथा उद्धार गर्न त्यस्तो चिप्स महत्वपूर्ण सावित हुनेछ ।’ आरोही वा आरोहणमा सहयोगी व्यक्ति हिमपहिरोमा परी हराए वा हिउँमुनि पुरिएको अवस्थामा पनि चिप्स रहेको स्थानलाई डिटेक्टर प्रणालीको सहयोगमा ट्रयाकिङ गरेर उद्धार हुने उनको भनाइ छ ।
आरोहणलाई थप सुरक्षित र उद्धार गर्न विद्युतीय चिप्स प्रयोग गर्ने निर्णय भएको पर्वतारोहण सञ्चालक संघनेपालका कोषाध्यक्ष ऋषि भण्डारीले बताए । उनले भने, ‘यसले गर्दा आरोही आरोहण दलमा संलग्नको खोज तथा उद्धार गर्न सहज हुनेछ ।’ सरोकारवाला निकायको बैठकले आधार शिविरमा फिल्ड कार्यालय स्थापना गर्ने, हिमाल सरसफाइमा समन्वय र सहकार्य गरी यो सिजनमा सगरमाथा क्षेत्रमा रहेका करिब पाँचवटा लास संकलन गर्ने निर्णय गरेको छ । यस्तै आइसफल बाटो निर्माण र सगरमाथा प्रदूषण नियन्त्रण समितिसँग सहकार्य गर्ने पनि निर्णय भएको छ ।
जीपीएसभन्दा प्रभावकारी हुने विभागको दाबी
विभागले आरोहीलाई सुरक्षा प्रदान गर्न गएको वर्ष हिमाल आरोहणमा जीपीएस (ग्लोबल पोजीसिनिङ सिस्टम) ट्रयाकिङ सिस्टम परीक्षण गरेको थियो । तर जीपीएस उपकरण प्रयोग गर्दा ब्याट्री निश्चित समयमा सकिने र ब्याट्री सकिएपछि ट्रयाकिङ नहुने समस्या आएको थियो । यही कारण अहिले चिप्स प्रयोग गर्ने र यो जीपीएसभन्दा बढी फाइदाजनक हुने जनाइएको छ । विभागले गत आठ वर्षदेखि आरोहणलाई व्यवस्थित गर्ने प्रकृयामा तीन वर्ष अगाडि जीपीएस डिभाइस खरिद गरेको थियो ।
तर यसको परीक्षणबाहेक पूर्णरूपमा कार्यान्वयनमा ल्याउन सकेको छैन । गएको वसन्तयाममा परीक्षण गरे पनि विभागले कार्यान्वयनमा ल्याउन सकेन । विभागले २० डिभाइस खरिद गरेर २०७७ मानै जीपीएस ट्रयाकिङ लागू गर्ने तयारी गरेको थियो । तर आन्तरिक तयारी पूरा नभएको भन्दै विभागले वसन्तयाममा परीक्षणमात्र गरेको थियो । त्यसबेला आधार शिविरभन्दा माथि जीपीएस डिभाइसको उपयोगिता देखिएन । विभागले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर २०७७ को असारमा डिभाइससहितको सामग्री खरिद गरेको थियो ।
जीपीएस लागू भएसँगै हिमाल आरोहणमा हुने गलत अभ्यासलाई रोक्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको थियो । आरोहण दलमा जाने आरोहीलाई जीपीएस सिस्टमको डिभाइस उपलब्ध गराएर आरोहण गर्दा आरोहण भए नभएको,आरोहण टोलीको वस्तुस्थिति पत्ता लगाउन विभागलाई सहज हुने भनिएको थियो । अहिले डिभाइसकै माध्यमबाट आरोही हराएको अवस्थामा उद्धार गर्न, आरोहणका नाममा हुने गलत अभ्यासलाई रोक्न जीपीएसभन्दा चिप्सले सहयोग पुग्ने विभागको भनाइ छ ।