Logo

प्रवासको दु:खमा बच्ने उपाय

फाइल तस्बिर ।

सरकारले आव ०५०-५१ बाट मात्र वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्यांक राख्न थालेको हो । आव ०५१-५२ मा दैनिक औसत ८ जना र वार्षिक ३ हजार श्रमशक्ति कामका लागि विदेश जाने गरेकोमा आव ०७९-८० मा दैनिक औसत १८ सय र वार्षिक ६ लाख ३० हजार श्रमशक्ति बाहिरिएका छन् । जहाँसम्म वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सवाल छ, आव ०५१-५२ मा २ अर्ब १५ करोड रुपैयाँ भित्रिएकोमा आव ०७९-८० मा १२ खर्ब २० अर्ब ५५ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादन अनुपातमा २२.७ प्रतिशत हो । यति ठूलो धनराशि भित्र्याउने तप्काले वैदेशिक प्रस्थान आरम्भदेखि नफर्कुन्जेलसम्म रोजगारदाता, इजाजतवाला, इजाजतवालाको एजेन्टवाट अनेकन् दुःखपीडा भोग्ने गरेका छन् ।

रोजगारी सम्झौताअनुरूपको पारिश्रमिक तथा अन्य सेवा–सुविधाहरू प्राप्त गर्न नसक्नु, आवश्यक परेको वा चाहेको बखत स्वदेश फिर्ता हुन नपाउनु, रोजगारदाता कम्पनीले पासपोर्ट आफूसँगै राख्नु, आवश्यकता एवं इच्छाअनुसार कार्य वा रोजगारदाता परिवर्तन गर्न नपाउनु, काम गर्दागर्दै बीचमा स्वदेश फर्कनुपरेमा काम गरेको अवधिको पारिश्रमिक प्राप्त गर्न नसक्नु, कार्यको सिलसिलामा अनेकन् अन्याय, अपमान, असमानता, अमानवीय व्यवहार सहन गर्न पर्नु, पीरमर्काको उजुरबाजुर गर्न नपाउनु, स्वास्थ्य जोखिमयुक्त कार्यथलोमा स्वास्थ्य सुरक्षासम्बन्धी प्रबन्ध नहुनु, महिला कामदारमाथि यौनशोषण हुनु वैदेशिक रोजगारीको सिलसिलामा बेहोर्नुपर्ने दुःखकष्टका दृष्टान्तहरू हुन् ।

विदेशमा प्रस्थान आरम्भदेखि नफर्कुन्जेलसम्म दुःखकष्ट भोग्नुपर्नाका पछाडि तमाम कारणहरू छन् । वैदेशिक रोजगारीका सम्बन्धमा आवश्यक कुरा जानकारी राख्न नसक्नु प्रवासमा दुःखपीडा भोग्नुपर्नाको पहिलो कारण हो । वैदेशिक रोजगारीमा प्रस्थान गर्नुपूर्व रोजगारीमा जाने श्रमिकले के–कस्तो कार्यका लागि जाँदै छु, कति पारिश्रमिक प्राप्त गर्छु, लागत कति लाग्छ, भूmटा कागजातको फरेबमा परेको छु कि छैन ? जानकारी लिनु आवश्यक हुन्छ । तर, शिक्षा र सचेतनाको अभावमा कैयन् श्रमिक यस सम्बन्धमा अनभिज्ञ रहने गरेका छन् । यसैको परिणामस्वरूप कैयौं श्रमिक सम्झौताअनुरूपको सेवासुविधाबाट वञ्चित हुने गरेका छन् । त्यही कमी–कमजोरीमा दलालहरू खेल्न पाउँदा सोझासाझा श्रमिक बिचल्लीमा पर्ने गरेका हुन् ।

अपुरो–अधुरो कागजातकै भरमा वैदेशिक रोजगारीमा जानु प्रवासमा दुःखपीडा भोग्नुपर्नाको दोस्रो कारण हो । कथित इजाजतवाला वा तिनका एजेन्टले हतपतमा करार गराउने, श्रमिकलाई करारपत्र अध्ययन गर्ने मौका नदिई ल्याप्चे लगाउने, करारपत्र विमानस्थलमा पुगेपश्चात् मात्र श्रमिकको हातमा थमाउने वा फर्जी करार गराई वैदेशिक रोजगारीमा पठाउने गरेका छन् । सोही कार्यशैली चिर्न नसक्दा वा त्यस्ता ठग एजेन्टको दुराशय पहिल्याउन नसक्दा सोझासाझा श्रमिक वैदेशिक रोजगारीको क्रममा दुःखकष्ट झेल्न पुगेका हुन् । कुनै निश्चित क्षेत्र वा विषयमा विज्ञता नहुनु वा कार्यगत विशिष्टताबेगर वैदेशिक रोजगारीमा हेलिनु प्रवासमा दुःखकष्ट भोग्नुपर्नाको तेस्रो कारण हो । न्यूनतम ज्यालामा कठिन एवं जोखिमपूर्ण कार्यमा जोतिन पर्नु कार्यगत अदक्षताकै कारण हो ।

खाडी मुलकमा करिब ७० प्रतिशत नेपाली ‘थ्रीडी’ अर्थात् डेन्जर, डर्टी र डिफिकल्ट कार्यमा हेलिन पर्नु मूलतः निश्चित सीप वा विज्ञताको अभाव हुनु हो । विदेशमा कामका लागि जाने श्रमिकलाई स्मार्टकार्ड प्रबन्ध गर्न नसक्नु प्रवासमा दुःखकष्ट बेहोेर्नुपर्नाको चौथो कारण हो । वैदेशिक रोजगारीमा जाने श्रमिकको व्यक्तिगत अभिलेख तथा गतिविधि चुस्त, दुरुस्त, यथार्थपरक र अद्यावधिक तुल्याउन स्मार्टकार्डको अहम् भूमिका हुन्छ । श्रमिक समस्यामा परेका बखत खोजतलास गर्न वा वास्तविकता पहिल्याउन समेत स्मार्टकार्ड सहयोगसिद्ध नभइरहँदैन । यस हिसाबले सरकारले अगाडि सारेको स्मार्टकार्ड योजना कार्यान्वयनमा नआउँदा प्रवासी नेपाली श्रमिकले दुःखकष्ट झेल्नुपरेको हो ।

गन्तव्य मुलुकमा राजदूतावासको स्थापना, श्रम–सम्झौता र श्रमसहचारीको व्यवस्था नहुनु नेपाली श्रमिकहरूले प्रवासमा दुःखपीडा सहन गर्नुपर्नाको पाँचौं कारण हो । वैदेशिक रोजगारीका क्रममा रोजगारदाता वा अन्य कुनै पक्षबाट भएगरेको अन्याय, अत्याचार वा गैरकानुनी व्यवहारको खिलापमा गुनासो वा उजुरी गर्न राजदूतावास, द्विपक्षीय सम्झौता र श्रमसहचारीको प्रबन्ध हुनुपर्छ । नेपालले विश्वका १ सय ११ मुलुकमा वैदेशिक रोजगारीका लागि वैधानिक रूपमा खुला गरिए तापनि इजरायल, जापान, लेबनान, मलेसिया, कतार, साउदी अरब, दक्षिण कोरिया, ओमान, युएई, कुवेतलगायत ३० वटा मुलुकमा मात्र राजदूताबास स्थापना भएको छ ।

कतार, इजरायल, दक्षिण कोरिया, बहराइन, युएई, मलेसिया, जापान, बेलायतलगायत १२ वटा मुलुकसँग मात्र द्विपक्षीय श्रम–सम्झौता हुन सकेको छ । मलेसियामा, कुवेत, युएई, दक्षिण कोरिया, साउदी अरब, लगायत ८ मुलुकबाहेक अन्य मुलुकमा श्रम सहचारीको व्यवस्था हुन सकेको छैन । नेपाली कामदारले चाही–नचाही दैनिक १२-१४ घण्टा काममा जोतिन पर्नु, कृषि फार्ममा विषादी प्रयोग गर्दा आवश्यक पर्ने मास्क, ग्लोबजस्ता स्वास्थ्य सुरक्षा सामग्रीहरू उपलब्ध नहुनु, एउटा सानो कोठामा २०–२५ जना कामदार थिचिएर बस्न पर्नु, बिरामी पर्दा उपचार प्राप्त गर्नुका अतिरिक्त कामबाट हात धुन पर्नुलगायतका दुःखकष्ट भेल्न पर्नु मूलतः राजदूतावास, श्रम–सम्झौता र श्रमसहचारी प्रबन्ध नहुनको परिणति हो ।

वैदेशिक रोजगार इजाजत प्राप्त संस्थाले गरेका काम–कारबाही, पठाएका कामदार, कामदारको अवस्था, सेवासुविधा आदिको अनुगमन, निरीक्ष्ण तथा मूल्यांकन नियामक निकायबाट हुन नसक्नु नेपाली श्रमिकले प्रवासमा दुःखकष्ट भोग्न पर्नाको छैटौं कारण हो । अनुगमन तथा निरीक्षणको अभावमा पूर्व–निर्धारित कार्य छाड्ने, अवैध रूपमा लुकीछिपी कार्य गर्ने, मदिरा सेवन गरी लडाइँझगडा गर्ने, त्यहीं विवाह गरी बस्ने, धर्म परिर्वतन गर्नेलगायतका हर्कत भएका हुन् । यी र यस्तै हर्कतले प्रश्रय पाउँदा जानअन्जानमा प्रवासमा नेपाली कामदारले दुःखकष्ट बेहोर्नुपरेको हो । हेक्का रहोस्, वैदेशिक रोजगारीका सिलसिलामा दुःखकष्ट झेल्न पर्नु वा नपर्नुमा मूल रूपमा श्रमिकमै निर्भर गर्छ ।

मूलतः रोजगारदाता मुलुकको विषयमा प्राप्त जानकारी, रोजगारीसम्बन्धी सूचनाको वास्तविकता जानकारी, इजाजतवालालाई नगद भुक्तानीमा सजगता, उडानका लागि वैधानिक बाटो अवलम्बन, राजदूतावाससम्बन्धी जानकारी आदि उपाय अवलम्बन गर्न सके प्रवासमा अनाहकमै दुःखकष्ट बेहोर्नु पर्दैन । प्रवासमा अनाहकमा भेल्नुपर्ने दुःखकष्टबाट बच्न वैदेशिक रोजगारीमा जाने कामदारले तपसिलका कुराहरू हेक्का राख्नुपर्छः पहिलो, कानुनतः संस्थागत र व्यक्तिगत गरी दुई किसिमबाट वैदेशिक रोजगारमा पुग्न सकिन्छ भन्ने कुरा राम्रोसँग बुझ्नुपर्छ ।

व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले रोजगारदाताको स्वीकृति, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र र निरोगिताको प्रमाणपत्र पेस गर्नुपर्छ भन्ने कुरा भुल्नु हुँदैन । दोस्रो, श्रमस्वीकृतिबेगर वैदेशिक रोजगारमा जानु हुँदैन भन्ने कुरा राम्रोसँग हेक्का राख्नुपर्छ । श्रमस्वीकृति निस्सा (स्टिकर) प्राप्तिका लागि अभिमुखीकरण तालिमको प्रमाणपत्र, निरोगिताको प्रमाणपत्र, बीमा गरेको प्रमाणपत्र, इजाजतवाला र कामदारबीच भएको करारपत्र, इजाजतवालालाई बुझाएको रकमको रसिद वा बैंक भौचर वैदेशिक रोजगार विभागमा पेस गर्नपर्छ भन्ने कुरा श्रमिकले राम्रोसँग हेक्का राख्नुपर्छ ।

तेस्रो, वैदेशिक रोजगारीमा प्रस्थानपूर्व रोजगारदाता मुलुकको भाषा, संस्कृति, रहनसहन, आप्रवासन कानुन, लाग्ने खर्च तथा सेवा शुल्क, प्राप्त हुने पारिश्रमिक तथा अन्य सेवा–सुविधा, कामको प्रकृति तथा कार्य घण्टा आदि राम्रोसँग अध्ययन गरी चित्त बुझेमा मात्र रोजगार सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्छ भन्ने कुरा भुल्नु हुँदैन । चौथो, वैदेशिक रोजगारका लागि पत्रपत्रिकामा प्रकाशन भएका सूचनाको आधिकारिकता पहिल्याउनुपर्छ । वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा सम्पर्क गरी वा विज्ञापनमा उल्लिखित लट नम्बर टाइप गरी विभागले उपलब्ध गराएको कोडमा एसएमएस पठाई उक्त सूचनाको आधिकारिकता पहिल्याउनुपर्छ ।

कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनिट्रान्सफर कम्पनीलाई वैदेशिक रोजगारमा पठाउने अधिकार नभएको हुँदा त्यस्ता संस्थाको फन्दामा पर्नु हुँदैन । वैदेशिक रोजगार व्यवसाय इजाजतवाला संस्थाले राहदानी माग गरेमा गन्तव्य मुलुक, रोजगार अवधि, लागत खर्च निक्र्योल नगरी वा भर्पाई नलिई सक्कल राहदानी बुझाउनु हुँदैन । पाँचौं, आफ्नो नाममा भिसा प्राप्त नभई रोजगार व्यवसायी वा निजको प्रतिनिधिलाई नगद बुझाउनु हुँदैन, नगद बुझाउँदा इजाजतवाला संस्थाको बैंक खाता वा प्रधान कार्यालयमा बुझाउनुपर्छ । नगद बुझाएपश्चात् नगद बुझाएको भर्पाई वा रसिद माग गर्नुपर्छ ।

वैदेशिक रोजगारीमा प्रस्थान गर्नुपूर्व अभिमुखीकरण तालिम लिई रोजगारदातामा मुलुकको श्रम कानुन, भौगोलिक अवस्था, सामाजिक तथा सांस्कृतिक वातावरण, हावापानी, ट्राफिक नियम आदि विषयमा सक्दो जानकारी लिन, सरकारले तोकेको बिमकमार्फत बीमा गराउन र कल्याणकारी कोषमा तोकिएको रकम दाखिला गरी रसिद लिन छुटाउनु हुँदैन । छैटौं, विदेश प्रस्थानका लागि नेपालकै विमानस्थल प्रयोग नगर्दा ठगिने सम्भावना हुन्छ भन्ने कुरा विशेष हेक्का राख्नुपर्छ । अन्य मुलुकको बाटो प्रयोग गरी वा ललाइफकाइ लैजान लागेको शंका लागेमा प्रहरी प्रशासनलाई खबर गर्न संकोच मान्नु हुँदैन ।

अवैध रूपमा वा लुकीछिपी वैदेशिक रोजगारीमा जाँदा कानुनी कारबाही हुन सक्ने, अलपत्र परिन सक्ने, सम्झौताबमोजिम काम तथा पारिश्रमिक पाउन नसक्ने, उद्धार गर्न कठिन हुने, कल्याणकारी कोष तथा बीमाबापतको रकम प्राप्त नहुने हुँदा सतर्क हुनुपर्छ । ठगिन लागेको शंका लागेमा नियामक निकायले उपलब्ध गराएको टेलिफोन नम्बरमा (नेपालबाहिरबाट १४२४ तथा ११७७ र नेपालभित्रवाट ११७७ हटलाइन) सम्पर्क राख्न बिर्सनु हुँदैन । सातौं, वैदेशिक रोजगारीमा प्रस्थानपूर्व आफू काम गर्न जान लागेको मुलुकमा रहेको नेपाली राजदूतावास र श्रमिकलाई सघाउने संघसंस्था वा व्यक्तिको सम्पर्क ठेगाना जानकारी राख्नुपर्छ ।

त्यस्तै, श्रम स्वीकृतिको निस्सा प्राप्त नहुँदै हवाई टिकट खरिद गर्नु हुँदैन । प्रस्थानपूर्व आफूले प्राप्त गरेको रोजगार सम्बद्ध कागजातहरूको एक थान प्रतिलिपि परिवारका सदस्यलाई सुरक्षितपूर्वक राख्न अह्राउनुपर्छ भने एक थान कागजात आफूसँगै लैजानुपर्छ । आठौं, पहिले लिएको श्रम स्वीकृतिको म्याद पूरा भएको भए वा नयाँ मुलुक वा कम्पनीमा वैदेशिक रोजगारीका लागि प्रस्थान गर्नुपर्ने अवस्थामा श्रम स्वीकृति नवीकरण गराउनुपर्छ । कार्य–सम्झौता अवधि समाप्तिपश्चात् स्वीकृतिबेगर वा गैरकानुनी रूपमा अथवा भिसाको म्यादभन्दा अधिक समय रोजगारदाता मुलुकमा बसिरहनु हुँदैन ।

गैरकानुनी रूपमा रहँदा रोजगारदाता मुलुकको कानुनी फन्दामा पर्न सकिने जोखिम भुल्नु हुँदैन । यसका अतिरिक्त पुनः वैदेशिक रोजगारीमा फर्कंदा राहदानीको म्याद पूरा भएको भए नवीकरण गराउन भुल्नु हुँदैन । कुनै कारणवश करार अवधिअघि फर्कनुपरेमा वैदेशिक रोजगार विभाग र रोजगारीमा पठाउने संस्थालाई फिर्ता आएको १५ दिनभित्रमा जानकारी दिनुपर्छ । विदेशमा रहँदा–बस्दा एचआईभी एड्सलगायतका यौनजन्य रोग, तालाबन्दी, बन्द–हड्ताल, निषेधित क्षेत्रमा मदिरा सेवन, आफूखुसी कार्य परिवर्तन र रोजगारदाता मुलुकको प्रचलित कानुनी प्रावधान उल्लंघन गर्नेजस्ता हर्कतबाट टाढा रहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्