Logo

‘हुबर’ फर्मुलाले अझै बिकेन गोलिया काठ

काठमाडौं– गोलिया काठ मापन सम्बन्धि नयाँ फर्मुला (हुबर) का कारण विभिन्न जंगलको काठ अझै बिक्न सकेको छैन । नयाँ फर्मुला नहटाएसम्म लिलामी प्रक्रियामा भाग नलिने काठ उद्यमीको अडानका कारण काठ नबिकेको हो । उक्त फर्मुलाको चर्को अलोचना भएपनि परिवर्तन भने हुन सकेको छैन । यो फर्मुला लागु भएसँगै काठ बिक्न छाडेपछि फर्मुला लागु गर्ने या नगर्ने भन्ने विषयमा वन मन्त्रालय अन्यालेमा छ ।

वन मन्त्री बिरेन्द्र यादव भने हुबर फर्मुला परिवर्तन गर्ने प्रतिबद्धता जानाउँदै आएका छन् । तर वन मन्त्रालयकै अधिकांश कर्मचारी भने हुबर फर्मुला नै ठीक रहेको बताउँछन् । बढ्दो आलोचनासँगै उक्त फर्मुला परिवर्तन गर्ने या कायम राख्ने भन्नेबारेमा अन्योलमा परेपछि सरोकारवालासँग छलफल सुरु गर्ने र निष्कर्ष अनुरुप अगाडि बढ्ने भनिए पनि मन्त्रालय भने अझै तयारीमै अड्किएको छ ।

उक्त फर्मुला लागु भएसँगै काठको परिमाणको अवस्था बढेपनि सो अनुसार मूल्य समायोजन नहुँदा उपभोक्ता मारमा पर्ने भन्दै विरोध बढेको हो । उद्यमीले काठको लिलामी प्रक्रियामा भाग नलिँदो पटक पटक सूचना निकाल्दा पनि काठ बिक्री हुन नसकेको डिभिजन वन कार्यालयहरुको गुनासो छ ।

अर्घाखाँचीका डिभिजनल वन अधिकृत ईश्वरी पौडेलले ३ पटक सूचना निकाल्दा समेत काठ नबिकेर जंगलमै कुहिने अवस्थामा पुगेको बताए । ‘हामीले ३ पटकसम्म सूचना निकालेका थियौं, तर काठ लिलामी भएन’ उनले भने, ‘हुबर फर्मुला लागु भएपछि काठ व्यवसायी विरोध गरेर काठ किन्न आउँदैनन्, अनि जति सूचना निकाल्दा पनि बिक्दैन ।’

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मञ्जिलबाबु मास्केले हुबर फर्मुला नहटाएसम्म लिलामी प्रक्रियामा भाग नलिने बताउँछन् । ‘पहिला ‘क्वाटर गर्थ’ विधिद्वारा काठको गोलिया मात्रा निकालिन्थ्यो, तर वन नियमवालीले ‘हुबर’ विधिद्वारा गोलिया काठको मापन गर्ने प्रावधान ल्याएको छ, यसले पहिलाको भन्दा बढी काठमा क्वान्टीटी बढी देखाउँछ, यसो हुँदा बजारमा काठको मूल्य वृद्धि हुन सक्छ’ उनले भने, ‘नरम प्रजातिको काठको पनि रोयल्टी बढाएको छ, वन नियमवाली चोर बाटोबाट आफूखुसी ल्याइयो, यसले अझै काठको आयात बढाउने छ, तसर्थ हामी लिलामी प्रक्रियामा भाग लिँदैनौं ।’

मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले वन नियमवालीका केही बुँदा सच्याउन मन्त्रिपरिषद्मा प्रस्ताव पुगेको बताए । नियमवालीमा धेरै कुरा सम्बोधन भएपनि गोलिया मापन गर्ने फर्मुलाले गर्दा अब स्वदेशी काठ मंहगिने र विदेशी काठ आयात बढ्न सक्ने काठ व्यवसायीको भनाइ छ । पहिला ‘क्वाटर गर्थ’ फर्मुला प्रयोग गरी गोलिया काठ मापन गरिन्थ्यो । ‘क्वाटर गर्थ’ को भन्दा हुबर’ फर्मुला प्रयोग गरी गोलिया काठ मापन गर्दा काठको केही परीमाण बढ्ने मन्त्रालयले बताएको छ । काठ उद्यमी, वन विज्ञ तथा अन्य सरोकारवालाले उक्त फर्मुलाको विरोध गर्दै फर्मुला परिमार्जन गर्न मन्त्रालयलाई दवाब दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्