Logo

पर्यटकको रोजाइमा जुम्लाको तातोपानी

जुम्ला– जिल्लाको तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा रहेको ‘तातोपानी धारा’ पर्यटकको रोजाइमा परेको छ । कर्णाली राजमार्गको आडमै रहेकाले पनि जुम्ला आउजाउ गर्ने पर्यटकको रोजाइमा तातोपानी धारा परेको हो । धारामा स्नान गर्न, अवलोकन गर्न, दैनिक एक सयदेखि डेढ सय आन्तरिक पर्यटक तातोपानी पुग्ने गरेका छन् ।

जुम्लामा आउने सबै पर्यटक तातोपानी पुगेर मात्र फर्किने गर्छन् । जिल्लाका उत्कृष्ट पर्यटन गन्तव्यमध्ये तातोपानी धारा एक हो । कर्णाली राजमार्ग भएर मुगुको रारा ताल, सिंजा उपत्यका हँदै भुलभुले सडक भएर जुम्ला पुग्ने पर्यटक तातोपानी पुगेर स्नान गरी फर्किने गरेको तातोपानी गाउँपालिका–२ का अध्यक्ष चन्द्रमान बुढाले बताए । बारुद जस्तो गन्ध आउने तातोपानी धारामा नुहाउँदा बाथरोग, नसा रोग, हाडजोर्नी सम्बन्धी समस्या, जिउ दुखेको निको हुने भएकाले जनविस्वास रहेकाले टाढाबाट तातोपानीमा सर्वसाधारण पुग्ने गरेका छन् ।

तातोपानी धारा, गिडि दह, पहिलो मार्सी खेती भएको गुरु फाक्टोलगायतका पर्यटकीय गन्तव्य तातोपानी गाउँपालिकामै भए पनि उचित लगानी र प्रचार नहुँदा आझेलमा परेका छन् । तातोपानी पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनका लागि पालिकाले कार्यविधि नै निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । तर कार्यविधिको अनुसार पर्यटकबाट शुल्क उठाउने गरेपनि व्यवस्थापन भने सन्तोषजन रुपमा हुन सकेको छैन् ।

तातोपानी धारा व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७९ को अनुसूचि १ को दफा (७) अनुसार सम्बन्धीत वडाका नागरिकलाई प्रतिव्यक्ति १० रुपैयाँ, पालिका भित्रका अन्य वडाबासीलाई प्रतिव्यक्ति ३०, जिल्ला भित्रकालाई ४० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै जिल्ला बाहिरकालाई ५० र विदेशी पर्यटकलाई भने प्रति व्यक्ति एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्