Logo

घोराही-तुलसीपुर सडकमा टाइमकार्ड

दाङ– जिल्लाका सडकमा टाइमकार्ड लागू गरिएको छ । जिल्लामा टाइमकार्ड सुरु गरिएको यो नै पहिलो भएको दाबी गरिएको छ । दुर्घटना न्यूनीकरणका लागि यस प्रकारको कार्य सुरु गरिएको हो । घोराही–तुलसीपुर सडक खण्डमा सोमबारदेखि टाइमकार्ड सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको सरोकारवालाको बैठकले टाइमकार्ड लागू गर्ने निर्णय गरेको हो । टाइमकार्ड अनुसार घोराही–तुलसीपुर सडक खण्डको दुई चरणमा गरेर ७० मिनेट निर्धारण गरिएको छ । जसमा घोराही–तुलसीपुर सडक खण्डको घोराही–नारायणपुर ३० मिनेट र नारायणपुर–तुलसीपुर ४० मिनेट समय निर्धारण भएको छ ।

प्रतिकिलोमिटर औसत तीन मिनेट समय निर्धारण गरेर टाइमकार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख किरणप्रकाश मल्लले जानकारी दिए । उनले घोराहीको बसपार्कदेखि तुलसीपुर बसपार्कको दूरी, घोराहीको तुलसीपुर चोक र तुलसीपुरको घोराही चोकमा बस अडिने समयसमेत गरेर ७० मिनेट राखिएकाले ७० मिनेट बढी नभएको बताए ।

‘औसत तीन मिनेट प्रतिकिलोमिटर राखिएको हो । यसमा ओभर स्पिड कन्ट्रोल होस् भन्ने मुख्य उद्देश्य छ । यातायात व्यवसायीकै सहमतिमा टाइमकार्ड लागू भएको छ,’ उनले भने, ‘सुरुमा हामीले नि:शुल्क रूपमा टाइमकार्ड दिन्छौं, हराएमा ५० रुपैयाँ छपाइ शुल्क लिएर दिनेछौं ।’ टाइमकार्डमा बताएको समय लागू भए नभएको निरीक्षणका लागि घोराही–तुलसीपुर र नारायणपुरमा ट्राफिक प्रहरी रहने जानकारी दिए ।

ट्राफिक प्रहरीको अनुपस्थितिमा नेपाल प्रहरीको सहयोग लिइने सहमति भएको उनले बताए । ट्राफिक प्रहरीका अनुसार तोकिएको समयको मापदण्ड पालना नगर्ने सवारीसाधनलाई लापरबाहीअन्तर्गत कारबाही गरिने छ । सुरुमा पाँच सय, दोस्रो पटक एक हजार, तेस्रो पटक एक हजार पाँच सयको दरमा जरिवाना हुने जनाइएको छ । दुर्घटना न्यूनीकरणका विषयमा पुस १८ गते नै जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल पनि गरेको थियो ।

तीव्र गति तथा ओभरटेकका कारण दुर्घटना न्यूनीकरण हुन नसकेको तथा विद्यालय क्षेत्रका सडक सुरक्षित हुन नसकेको भन्दै जिल्लास्तरमा सरोकारवाला बीचको छलफलले जिल्लामा दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गर्ने निर्णय त्यतिबेला नै गरेको थियो । कार्ड छपाइलगायतको तयारीका लागि समय लागेको भन्दै महिना दिनपछि निर्णय लागू भएको हो । जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको छलफलमा पहिलो चरणमा घोराही–तुलसीपुर सडकको टाइमकार्ड लागू गरिएको जानकारी दिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले सोमबारदेखि टाइमकार्ड लागू भएको जानकारी दिँदै छिट्टै सवारीसाधनको गति परीक्षण यन्त्र र चालकको नि:शुल्क स्वास्थ्य परीक्षणको काम पनि सुरु गर्न पहल भइरहेको जानकारी दिए । ‘सडक सुरक्षाका लागि विभिन्न प्रयास थालिएको छ,’ उनले भने, ‘पहिलो चरणमा टाइमकार्ड लागू भएको छ, अब छिट्टै सवारीसाधनको गति परीक्षण यन्त्र र चालकको नि:शुल्क स्वास्थ्य परीक्षणको काम पनि हुन्छ ।’

लमही–घोराही–तुलसीपुर सडक खण्डमा १८० गाडी नियमित गुड्ने गरेको ट्राफिक प्रहरीको रेकर्ड छ । त्रिसिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले प्रशासनको पहलमा सडक सुरक्षाका सवालमा भइरहेका कार्यको प्रशंसा गर्दै सबैभन्दा धेरै कर तिर्ने यातायात क्षेत्रमा राज्यले थप चासो बढाउनु पर्ने बताए ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले सवारी चालकको स्वास्थ्य परीक्षण स्थानीय सरकारले गर्ने जानकारी दिँदै सबै पालिकाले यसको थालनी गर्नुपर्ने बताइन् । ‘हामी बसपार्कमै गएर चालकको प्रेसरलगायतको नियमित परीक्षण जाँच गर्ने काम सुरु गर्छौं,’ उनले भनिन्, ‘सबै स्थानीय तहले यसमा ध्यान दिन जरुरी छ भने चालकले पनि मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनु हुँदैन भने चलाउन दिनु पनि हुँदैन ।’

बढ्दो दुर्घटना न्यूनीकरण गरी सडकलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन जिल्ला समन्वय समितिका प्रमुख, घोराही उपमहानगरपालिका तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला ट्राफिक प्रहरी प्रमुख, सडक डिभिजन प्रमुख, यातायात व्यवसायीलगायत सरोकारवालाको संलग्नतामा बसेको बैठकले टाइमकार्ड लागू गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्