Logo

कर्णाली एक्सपो सञ्चालनको बाटो खुल्यो

सुर्खेत– सुर्खेतमा सञ्चालन गर्न लागिएको कर्णाली एक्सपो–२०८० सञ्चालनका लागि बाटो खुलेको छ । उच्च अदालत सुर्खेतले महोत्सवका सन्दर्भमा परेको रिटमाथि फैसला गर्दै सञ्चालनको बाटो खोलिदिएको हो ।

सोमबार उच्च अदालतका मुख्य न्यायाधीश लोहितचन्द्र शाह र न्यायाधीश खड्कबहादुर केसीको संयुक्त इजलासले कानुनबमोजिम एक्सपो सञ्चालनको कार्य गर्न आदेश दिएको छ । ‘तेस्रो कर्णाली एक्सपो २०८० फागुन १४ देखि २२ गतेसम्म सञ्चालन हुने स्थल खेलमैदान, मेला र महोत्सव गर्ने भन्ने रहेको र बालमन्दिर विद्यालयको पठन पाठन सकिएर मिति चैत १ गतेदेखि परीक्षा सञ्चालन हुने भन्ने देखिँदा यस अदालतबाट मिति भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन। कानुन बमोजिम गर्नू ।’

आदेशमा भनिएको छ । यसअघि अधिवक्ता प्रकाशबाबु ऐडीले वीरेन्द्रनगर नगरपालिकालाई विपक्षाी बनाएर तेस्रो कर्णाली एक्सपो–२०८० सञ्चालन नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमा फागुन ११ गते उच्च अदालतले महोत्सव रोक्न अल्पकालिन आदेश जारी गरेको थियो ।

सोमबारको इजलासमा निवेदकका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता भुषणकुमार मानन्धर, रिट निवेदक अधिवक्ता प्रकाशबाबु ऐडी, अधिवक्ताहरु दुर्गाप्रसाद सापकोटा, मातृकाप्रसाद खनाल, गीताकुमारी कोइराला, विनोदमणि भट्टराई, लबन न्यौपाने र शेरबहादुर खत्रीले बहस गरेका थिए । रिट निवेदनमा विपक्षी बनाइएको वीरेन्द्रनगर नगरपालिका लगायतको तर्फबाट अधिवक्ता कृष्णबहादुर हमाल, ध्रुवकुमार श्रेष्ठ र उत्तमप्रसाद आचार्यले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्