Logo

११ करोड लागतमा अस्पताल निर्माण

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकाले ११ करोड ७८ लाख लागतमा अस्पताल निर्माण गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले एकै साथ शिलान्यास गरेको एक स्थानीय तह एक अस्पतालअन्तर्गत उक्त अस्पताल निर्माण भएको हो । अस्पताल १० शैयाको निर्माण गरिएको हो । अस्पताल निर्माणसँगै सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाका नौवटा स्थानीय तहमध्ये जगन्नाथ गाउँपालिकाले अन्य स्थानीय तहभन्दा चाँडो अस्पताल निमार्ण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीनजिकै निर्माण भएको अस्पतालमा पर्याप्त जनशक्ति र उपकरण नहुँदा पनि सञ्चालनमा ल्याएको जगन्नाथ गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताए ।

१० शैया अस्पतालमा चित्किसकसहितको सेवा सञ्चालन गर्नुपर्ने भए पनि संघीय सरकारले व्यवस्था नगरेका कारण स्थानीय तहको जनशक्तिबाट सो अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष शाहीले बताए । डाक्टर र उपकरण नभएका कारण अस्पताल त्यत्तिकै हुने भएकोले हेल्थ असिस्टेन्ट र स्टाप नर्सले चलाइरहेको उनले बताए ।

१० शैयाको अस्पतालमा दुईजना एमबीबीएस चिकित्सकसहित २२ जना कर्मचारी कार्यरत रहने स्वास्थ्य मन्त्रालयको व्यवस्था रहे पनि बजेट अभावका कारण स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न चुनौती देखिएको गाउँपालिका अध्यक्ष शाहीले बताए । स्वास्थ्य मन्त्रालयलाई दरबन्दी स्वीकृत गरी बजेट व्यवस्थापनका लागि आग्रह गरे पनि सुनुवाइ नभएको अध्यक्ष शाहीको गुनासो छ ।

गाउँ कार्यपालिकाको बैठकले पटक पटक निर्णय गरी मन्त्रालयमा फाइल पठाए पनि सम्बोधन हुन नसकेको अध्यक्ष शाहीले बताए । मन्त्रालयबाट बजेट र दरबन्दी स्वीकृत नहुँदा कर्मचारी भर्ना प्रक्रियामा समेत समस्या भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्