Logo

एक सतादेखि नागढुंगा सुरुङ निर्माण ठप्प

धादिङ– एक सातादेखि नागढुंगा सुरुङमार्ग निर्माण रोकिएको छ । फागुन ६ देखि स्थानीय विभिन्न माग राखेर आन्दोलित भएपछि एक सातादेखि सुरुङमार्ग निर्माणको काम ठप्प भएको हो । सुरुङमार्गको काम सहज रूपमा भएको भए फागुन २३ मा सुरुङ छेड्ने काम सम्पन्न हुने नागढुगा सुरुङ आयोजनाले जनाएको थियो ।

सुरुङ आसपासका स्थानीयले खानेपानीको प्रबन्ध गरिदिनु पर्ने वा डिप बोरिङ गर्नुपर्ने, सुरुङमार्ग माथीको जग्गाको मुअब्जा दिनुपर्ने, खेतीयोग्य जमिनमा सिँचाईको प्रबन्ध मिलाउनु पर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका छन् । फागुन ६ देखि काम ठप्प रहेकाले पूर्व निर्धारित मिति फागुन २३ मा सुरुङ छेड्ने काम पुरा हुन नसक्ने कन्सलटेन्ट अच्युत भट्टले बताए ।

नागढुंगा सुरुङ आयोजना कार्यालय प्रमुख सिनियर इन्जिनियर नविनमान श्रेष्ठले फागुन ६ बाट सुरुङमार्ग निर्माणको काम ठप्प रहेको बताए । तर, श्रेष्ठले के कति कारणले काम ठप्प रहेको भने बताएका छैनन् । २०८० साउन २२ मा दुई हजार ५५७ मिटरको आकस्मिक मार्ग छेड्ने काम सम्पन्न भइसकेको छ ।

दुई हजार ६८८ मिटरको मुख्य सुरुङमार्ग फागुन २३ मा छेड्ने तयारी रहेको थियो । ठेक्का प्राप्त गरेपछि जापानी निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले पुस २०७७ देखि सुरुङ खन्न सुरु गरेको हो । त्यसको तीन वर्षपछि छेड्न लागेकोे मुख्य सुरुङको चौडाइ ९.५ मिटर र उचाइ ८.३ मिटर रहेको छ । सुरुङमा दुई लेन सडक हुने छ  । आकास्मिक सुरुङको चौडाइ ४.५ मिटर रहेको छ ।

सुरुङमा एक लने सडक हुनेछ  । मुख्य सुरुङमा मात्रै सवारी साधन आवत जावत गर्ने छन् । मुख्य सुरुङमा दूर्घटना भएमा उद्धारको लागि आकास्मिक सुरुङ निर्माण गरिएको छ । आकस्मिक सुरुङमा सुरक्षाकर्मीको गाडी, एम्बुलेन्स, वारुण यन्त्रजस्ता सवारीसाधन जान पाउनेछन् । मुख्य सुरुङबाट आकास्मिक सुरुङमा जानका लागि सात वटा वाइपास बनाइएको छ ।

सुरुङमार्गमा मोटरसाइकल, साइकल, पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्रक र ठूला आकारका गाडी बाहेक सबै प्रकारका सवारी साधनले सुरुङमार्ग प्रयोग गर्न पाउनेछन् । सुरुङमार्ग प्रगोग गरे प्रायोग गरे वापत निर्धारित शुल्क तिर्नुपर्नेछ । सुरुङमार्ग छेडेपछि पनि भित्रको सडक ढलान गर्नुपर्ने, अक्सिजनको मात्रा मिलाउने, कन्ट्रोल सिस्टम बनाउने, टेलिफोन जडान गर्ने, आकास्मिक उद्दार कक्ष निर्माण, बत्ती जडान गर्ने, तापक्रम मिलाउनेलगायतका थुप्रै काम गर्न बाँकी रहन्छ ।

सुरुङमार्ग छेड्दैमा प्रयोगमा ल्याउन सकिँदैन । प्रयोगमा ल्याउन अझै एक वर्ष समय लाग्ने आयोजनाका परामर्शदाता रमेश कोइरालाले बताए  । फ्लाईओभर बनाउने काम पनि बाँकी छ । यस्ता काम सम्पन्न गर्न थप एक वर्ष समय लाग्ने कोइरालाले बताए । मुख्य सुरुङ सम्पन्न भएको एक वर्षमा सुरुङ सञ्चालनमा ल्याउन सकिन्छ । नेपालमा सुरुङमार्ग सञ्चालन गर्ने प्राविधिक जनशक्ति छैन । केही समय जापानलाई सञ्चालन गर्न दिने चर्चा चलिरहेको छ ।

हालसम्म सुरुङ खन्नेतर्फ करिब ९९ प्रतिशत काम पुरा भएको छ । सुरुङमार्ग बनाउन सडक विभाग र जापानी कम्पनी हाजमा एन्डो कर्पाेरेसनबीच सेप्टेम्बर २०१९ मा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले २०१९ अक्टोबर २१ मा शिलान्यास गरे पनि काम नोभेम्बर २०२० देखि सुरु भएको थियो । आयोजना सम्पन्न गर्न कुल २२ अर्ब १४ करोड लाग्ने अनुमान छ  । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड सहुलियत ऋण र पाँच अर्ब ८५ करोड नेपालको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्