प्युठानमा स्वास्थ्य बिमा सुरु

प्युठानमा पहिलो पटक स्वास्थ्य बिमा कार्यक्रम संचालनमा आएको छ । आइतवार प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुनले बिमित परिवारलाई परिचयपत्र हस्तान्तरण गर्दै स्वास्थ्य बिमाको उद्घाटन गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानमा आयोजित बिमा उद्घाटन कार्यक्रममा ११ जनाले पहिलोपटक स्वास्थ्य बिमा गरेका छन् । अतिविपन्न २ परिवारले निःशुल्क र अन्य ९ परिवारले पहिलो पटक स्वास्थ्य बिमा गरेका हुन् । अतिविपन्न परिवार अन्तर्गत प्युठान नगरपालिकाका गौरी सुनार र हिम बहादुर कुमालको बिमांक रकम नेपाल सरकारले बेहोर्ने गरी निःशुल्क बिमा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले बताए । कार्यक्रममा गौमुखी गाउँपालिकाका ९९ वर्षीय खगुलाल गुरुङ र ९५ वर्षीय प्युठान नगरपालिकानिवासी टंक बहादुर विष्टले बिमा गराएका छन् ।
उद्घाटन कार्यक्रममा नेपाल स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.गुणराज लोहनीले नागरिकको स्वास्थ्य हक प्रत्याभूत गराउन स्वास्थ्य बिमाले सहयोग पुग्ने बताए । “आर्थिक जोखिम कम गर्न स्वास्थ्य बिमा महŒवपूर्ण छ” निर्देशक लोहनीले भने, “सूचीकृत अस्पतालहरूबाट यो सेवा प्राप्त गर्न सकिन्छ ।” प्युठानसंगै देशका २६ जिल्लामा स्वास्थ्य बिमा संचालनमा आएको उनले बताए ।
हालसम्म देश भर ५ लाख १५ हजार २ सय ८२ जनाले स्वास्थ्य बिमा गरेको र २ लाखले सेवा लिएको उनले जानकारी दिए । “उपचारको लागि पहिलो पटक आफू सूचीकृत भएको स्वास्थ्य संस्था जानु पर्छ” उनले भने, “समस्या समाधान गर्न नसकिए त्यहाँबाट अन्य अस्पतालमा रिफरको व्यवस्था हुन्छ ।”
जिल्ला अस्पताल बिजुवार ,प्राथमिक स्वास्थ्य केन्द्र भिगृ र खलंगामा बिमा सूचीकृतका लागि व्यवस्था भएको जनस्वास्थ्य अधिकृत सुवेदीले बताए । उद्घाटनको क्रममा उपराष्ट्रपति पुनले ग्रामीण जनताका लागि स्वास्थ्य बिमा अवसर भएकोले सबैलाई यसको फाइदा उठाउन आग्रह गरे ।
–प्रज्वल पहाडी