Logo

श्रम गर्ने नाजिर बने उद्योगी

वीरगन्ज– पर्साको धोबिनी गाउँपालिका– २ का नाजिर अहमद पहिले कुखुरा फर्ममा श्रम गथ्र्ये । तर अहिले उनी आफै उद्योगी बनेका छन् । उनलाई मालिक बन्ने सल्लाह कुनै ठूला सफल र अनुभवी व्यवसायीको सहयोग तथा प्रेरणाले होइनन् । ७ कक्षामा पढ्ने छोराको आग्रह अनुसार उनी अहिले कुखुरा फार्मका मालिक बनेका छन् ।

नाजिर आफ्ना चार जना छोराछोरी र श्रीमतीसहित वीरगन्जमा बस्दै आएका छन् । पहिले औषधि उद्योगमा काम गरेर उनले परिवार चलाउने गरेका थिए । छोराछोरी पनि त्यहीँ जागिरको भरमा पढाउँदै आएका थिए । कान्छो छोराले दिएको सल्लाहले अहिले उनी सफल कुखुरा व्यवसायी बनेका छन् ।

नाजिरका अनुसार उनका कान्छो छोरा कक्षा सातमा अध्ययन गरिरहेका थिए । उनले विद्यालयमा किताब पढ्ने बेलामा कुखुरापालन व्यवसायको बारेमा थाहा पाए । त्यसपछि उनले आएर घरमा बाबु नाजिरलाई कुखुरापालन व्यवसायलमा लाग्न आग्रह गरे । छोराको आग्रह अनुसार उनले श्रीमती नगमाको नाममा पोल्ट्री फार्म घरेलु तथा साना उद्योगमा दर्ता गराए । त्यहीँबाट उनले नोकरी छोडेर व्यवसाय गरे ।

पढ्ने क्रममै कान्छो छोराले गरेको आग्रहमा नाजिर दम्पतीले कुखुरा पालन व्यवसाय सुरु गरेका हुन् । २०७४ सालमा घरेलु तथा साना उद्योग कार्यालयमा श्रीमतीको नाममा नगमा कुखुरा फार्म दर्ता गराएपछि गाउँघरकै छिमेकीसँग सापटी र आफ्नो बचतबाट पाँच लाखको पुँजी बनाएर कुखुरा पालन व्यवसाय सुरु गरे ।

पाँच लाख पुँजीबाट व्यवसाय गरेका नाजिर अहिले ५० लाखको कुखुरापालन व्यवसाय गरिरहेका छन् । कुखुरा पालन व्यवसायबाटै अहिले उनले चारैजना छोराछोरीलाई पढाउने,घरखर्च चलाउनेदेखि अन्य व्यवसायमा समेत लगानी बढाएका छन् । नाजिरका चारैजना छोराछोरी अहिले एसइइ गरेर उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

उनलाई कुखुरापालन व्यवसाय गर्न आग्रह गर्ने कान्छो छोरा व्यवस्थापन विषय लिएर पढिरहेका छन् । नाजिरको फार्ममा अहिले पति पत्नि बाहेक अन्य तीन जनाले रोजगारी पाएका छन् । उनको ५/६ वर्षको अनुभवले कुखुरा पालनमा कुनै प्राविधिक सल्लाह लिनु परेको छैन । कुखुरालाई आवश्यक औषधि र दाना आफैले मात्रा मिलाएर दिने गरेका छन् । कहिलेकाहीँ आवश्यकता परेमा मात्रै उनले प्राविधिकहरूको सहयोग लिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्