Logo

५० करोड लागतको सुनथराली विमानस्थल उद्घाटन

तर, छैन नियमित उडानको तयारी

जुम्ला– कालिकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडास्थित सुनथराली विमानस्थल निर्माण सुरु भएको ३८ वर्षपछि उद्घाटन भएको छ । २०४२ सालदेखि तत्कालीन जिल्ला विकास समितिको एक लाख लगानीबाट निर्माण सुरु भएको यो विमानस्थल सोमबार उद्घाटन भएको हो ।

निर्माण सम्पन्न भएको दुई वर्ष बिते पनि औपचारिक उद्घाटन हुन सकेको थिएन । पहिलो परीक्षण उडान २०७३ माघ २९ मा कर्णालीका तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका थिए । त्यसयता तीन पटक परीक्षण उडान गर्ने मिति तय भए पनि स्थगित हुँदै आएको थियो भने कालिकोटबासीले वर्षौंदेखि नियमित उडानको माग राख्दै आएका थिए ।

आइतबार दोस्रो पटक परीक्षण उडान सफल भएपछि सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थल उद्घाटन गरेका हुन् । रक्षामन्त्री खड्कासँगै पर्यटनमन्त्री सुदन किराँती, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, तत्कालीन मुख्यमन्त्रीद्वय जीवनबहादुर शाही र महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेलगायत उच्चपदस्थ व्यक्ति नेपाल वायुसेवा र तारा एयरको जहाजमा सुनथराली विमानस्थल उद्घाटन गर्न पुगेका थिए ।

पछिल्लो वर्षमा साढे १३ करोड बजेट विनियोजन भएर धावनमार्ग कालोपत्रे भएको थियो । विमानस्थल निर्माणका लागि झण्डै आधा अर्ब बजेट खर्च भएको छ । ६४० मिटर लामो धावनमार्ग, सुविधायुक्त टर्मिनल भवन, सुरक्षा गार्ड भवन, प्रशासनिक भवनलगायत सबै संरचना निर्माण भएको विमानस्थलका प्रमुख इन्जिनियर रत्न श्रेष्ठले बताए । उनका अनुसार पछिल्लो समय गौरी पार्वती श्याम एण्ड शंकर जेभीले १३ करोड बजेटमा पक्की धावनमार्ग, नाला, माटो काट्ने काम गरेको थियो भने पीआर इन्फ्रास्ट्रक्चरले भवन र टावर निर्माणतर्फ तीन करोड ४७ लाखमा विमानस्थल पूर्वाधार निर्माण काम गरेको थियो ।

रक्षामन्त्री खड्काले कालिकोटबासीको रगत र पसिनाको उचित सम्मानका लागि पनि सुनथरालीमा नियमित उडानका लागि सरकारले पहल गर्ने बताए । उनले भने, ‘आवश्यकताअनुसार नियमित उडानका लागि पहल हुन्छ । यात्रुको माग हेरेर हप्ताको एक उडानको व्यवस्था गर्छौं । कालिकोटको पर्यटन प्रवद्र्धन तथा अछाम र बाजुरासँग कालिकोटलाई जोड्न तथा समग्र कालिकोटको समृद्धिका लागि विमानस्थल कोशेढुंगा बन्नेछ ।’

पर्यटनमन्त्री किराँतीले यात्रुको मागलाई मध्यनजर गरी हप्तामा एउटा उडान गर्ने प्रतिबद्धता गरे । कालिकोबाटबासीको वर्षौंदेखिको सपना साकार तुल्याउन पनि उडान गरिने उनको भनाइ छ । यात्रुको चाप हुने विमानस्थलमा नियमित उडान नभएको अवस्थामा मन्त्रीले भनेअनुसार कालिकोटमा नियमित उडान सम्भव छैन । यद्यपि, हप्तामा एउटा हुने उडानको समेत कुनै टुंगो छैन । कालिकोटबासीले भने मन्त्रीसँग नियमित उडानको माग राखेका छन् ।

निर्माण सुरु भएको ३८ वर्षपछि विमानस्थल उद्घाटन भए पनि नियमित उडानको टुंगो छैन । विमानस्थल निर्माण गर्दा राज्य पक्षबाट मारिएका आफन्त र कालिकोटबासीले नियमित उडानको माग गर्दै आएका छन् । विमानस्थलको उद्घाटनमा ३८ वर्ष लाग्यो, अब नियमित उडान कहिले भन्दै कालिकोटबासीले रक्षामन्त्री र पर्यटनमन्त्रीलाई प्रश्न गरेका छन् ।

२०५८ फागुन ११ गते नेपाली सेनाले विमानस्थल निर्माणको काम गरिरहेका नहरिनाथ–१ का टेकबहादुर विष्टसहित ३६ जना कामदारको निर्मम हत्या गरी एउटै चिहान बनाएको थियो । २१ वर्षीय छोरा टेकबहादुर गुमाएकी आमा मृगा विष्ट सुनथरालीमा दोस्रो पटक जहाज देखेपछि खुसी भइन् । ‘चिहानमाथिको विमानस्थलमा चिलगाडी कुरिरहेका थियौं,’ उनले भनिन्, ‘ढिलै भए पनि मन्त्रीसहित जहाज आयो, खुसी छौं । तर जहाज चढ्न पाइन्या होकि नाइ पत्तो छैन । यहाँ नियमित जहाज उड्नु भनेको कालिकोटबासीले सेवा पाउनुमात्र होइन, मृतक ३६ जनाको आत्माले शान्ति पाउनु पनि हो । तर नियमित जहाज उड्ने टुंगो नाइ ?’

सरकारले चाँडै जहाज उडाउनुपर्ने, मृतक सबैलाई सहिद घोषणा गर्नुपर्ने र सहिद स्मृति पार्क बनाउनुपर्ने पीडितको माग छ । विमानस्थल उद्घाटनसँगै मख्ख परेका कालिकोटबासीले नियमित जहाज चढ्न पाउने अझै निश्चित छैन । पर्यटनमन्त्रीले हप्तामा एउटा उडान गर्ने आश्वासन दिए पनि कालिकोटबासी ढुक्क छैनन् । कर्णाली प्रदेशमा आन्तरिक उडान छैन ।

नेपालगन्जदेखि पनि अन्य जिल्लामा पर्याप्त उडान हुँदैन । यात्रुको सुनिश्चितता भए कालिकोटमा उडान गर्न सक्ने तारा एयरले बताएको छ । ताराले साविक कर्णालीका चार जिल्ला जुम्ला, मुगु, डोल्पा र हुम्लामा नियमित उडान गर्दै आएको छ । दुईतर्फी ३० जना यात्रु र समयानुकूल भाडादर कायम भए नियमित उडान गर्न सकिने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्