Logo

सेयर मूल्यमा आरएसआईको प्रयोग

सेयर मूल्यमा आरएसआईबारे जानकारी दिन यहाँ दुईवटा उदाहरण दिइएको छ । एक हो, नेपालको नबिल बैंक । यो बैंकको सेयर मूल्य लामो समयदेखि बियरिस छ । सेयर मूल्य बियरिस भएपछि आरएसआई पनि लामो समयदेखि ओभरसोल्ड जोनमा छ । ओभरसोल्ड जोनमा आएको आरएसआई लामो अवधिसम्म नै ओभरसोल्ड जोनमै रहन्छ भन्ने उदाहरण नबिल बैंकलाई मान्न सकिन्छ । आरएसआई ३० मा आएपछि झन् तल झरेको छ ।

दोस्रो उदाहरण हो, अमेरिकाको सुपरमाइक्रो कम्प्युटर । यसको सेयर मूल्य बढ्दो ट्रेन्डमा छ । आरएसआई ७० हुँदै ९८ मा पनि पुग्यो । आरएसआईको ओभरवट जोन ७० हो । ओभरवट जोनमा पुगेपछि बुलिस बजारमा कसरी आरएसआई ९७ सम्म पुग्छ भन्ने उदाहरण सुपरमाइक्रो कम्प्युटर बनेको छ ।

लगानीकर्ताले सम्पत्तिको मूल्यको गति पत्ता लगाउन प्राविधिक विश्लेषणका लागि आरएसआई प्रयोग गर्छन् । उदाहरणका लागि १ हजार रुपैयाँ पुगेको सेयरको मूल्य घटबढ भएन भने पनि आरएसआई घटबढ भएको हुन्छ । यसले भविष्यको मूल्यको संकेत गरेको हुन्छ । मोमेन्टम इन्डिकेटर हो आरएसआई । रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) जे वेल्स वाइल्डरले आफ्नो किताबमा पहिलो पटक उल्लेख गरेका थिए । आरएसआई मोमेन्टर ओसिलेटरमा सेयर बजारमा प्राविधिक विश्लेषकले प्रयोग गर्छन् । मूल्यको ट्रेन्डको स्पिड मापन गर्छ आरएसआईले । शून्यदेखि १ सय अंकसम्म आरएसआई मापन हुन्छ ।

आरएसआई ७० पुगेको अवस्थामा ओभरवट मानिन्छ । आरएसआई ३० मा आएको अवस्थालाई ओभरसोल्ड मानिन्छ । विभिन्न विद्वान्हरूले आरएसआई ७० पुगेपछि मूल्य घट्ने अनुमान गरेका छन् । यस्तै आरएसआई ३० मा आएपछि ट्रेन्ड परिवर्तन भएर मूल्य बढ्ने अनुमान पनि उनीहरूले गरेका छन् । व्यवहारमा ओभरवट भएको अवस्थामा आरएसआई ७० बाट झन् माथि जान्छ । ओभरसोल्ड भएको अवस्थामा आरएसआई ३० बाट झन् तल जान सक्छ । यी दुवै अवस्था भनेको एउटा ट्रेन्ड हो । बुलिस ट्रेन्ड लामो अवधिसम्म बुलिस नै रहन सक्छ ।

बियरिस ट्रेन्ड लामो अवधिसम्म बियरिस नै रहन सक्छ । विभिन्न अध्ययनले आरएसआई ७० भन्दा माथि भएपछि ट्रेन्ड परिवर्तन भएर मूल्य तल झर्ने सम्भावना २१ प्रतिशत रहेको देखाएका छन् । ओभरवट तहमा पुगेको बुलिस बजारमा ७९ प्रतिशत सम्भावना ट्रेन्ड उही रहन्छ । आरएसआई ३० भन्दा तल भएपछि मूल्य बढ्ने सम्भावना १६ प्रतिशत मात्रै हुन्छ । ८४ प्रतिशत सम्भावना बियरिस मूल्य झन् बियरिस हुने र आरएसआई झन् तल झर्ने नै हुन्छ ।

आरएसआई डाइभरजेन्स भएको अवस्थामा मूल्यविपरीत बाटोमा अग्रसर हुन्छ । सेयरको मूल्य बढिरहेको अवस्थामा आरएसआई घट्न थाल्यो भने मूल्य पनि तल आउने हुन्छ । मूल्य घटिरहेको अवस्थामा आरएसआई हाइयर हाई हुन थाल्यो भने मूल्य डाइभरजेन्स भएर विपरीत बाटोतर्फ लाग्छ । रिलेटिभ ट्रेन्थ इन्डेक्स (आरएसआई) विश्वभरकै लगानीकर्ता र ट्रेडरबीच लोकप्रिय छ । प्राविधिक विश्लेषण गरी छोटो समयमा सेयरको खरिद–बिक्री गर्नेले यसको प्रयोग ज्यादा गर्छन् । चरम बुलिसको अवस्था र चरम बियरिसको अवस्थाको संकेत आरएसआईले दिने गर्छ ।

जे वेल्स वाइल्डरले विकसित गरेको रिलेटिभ ट्रेन्थ इन्डेक्स (आरएसआई) एक मोमेन्टम ओसिलेटर हो, जसले मूल्यको गति र परिवर्तन मापन गर्छ । दैनिक र साताको मूल्य हेर्न आरएसआईको सेटिङ १४ दिनलाई आधार मानेर गर्ने गरिन्छ । यो १४ दिने सेटिङ लगानीकर्तामाझ लोकप्रिय छ । घट्दो र बढ्दो मूल्यको गति नाप्ने भएकाले आरएसआईको प्रयोग प्राविधिक विश्लेषकले धेरै गर्छन् । डे ट्रेडरले नौ दिनको आरएसआई सेटिङ मन पराउँछन् । ५० दिनको मुभिङ एभरेज रेखाको प्रयोग गर्छन् । १५ मिनेटको चार्ट मूल्यलाई आधार बनाउँछन् ।

स्विङ ट्रेडर र लामो अवधिका लगानीकर्ताले १४ दिनलाई आधार बनाएर आरएसआईको सेटिङ गर्छन् । आरएसआईको सेटिङ लगानीकर्तामा भर पर्छ । बिचलन र असफलताका स्विङ खोजेर आरएसआईले संकेत उत्पन्न गर्छ । आरएसआईलाई मूल्यको सामान्य प्रवृत्ति पहिचान गर्न पनि प्रयोग गरिँदै आएको छ । आरएसआई ओभरवट भई पटक–पटक ७० पुगेको छ भने यो अझै ८० सम्म र अझ माथि पुग्न सक्ने हुन्छ । सेयर र अरू कुनै सम्पत्तिको यो चरम बुलिस अवस्था हो ।

ओभरवटको मान्यता बलियो र बढ्दो मूल्य प्रवृत्ति हो । केही समय मूल्यले केही करेक्सन दिएपछि यही सेयर किन्ने बढ्छन् । बढ्दो मूल्य प्रवृत्तिको सेयर केही समय आराम गर्दै फेरि माथि जान्छ । लगानीकर्ताले आरएसआई ७० पुगेको सेयरको मूल्य अझै माथि जान्छ भनेर होल्ड गर्ने गर्छन् । नयाँ खरिदकर्ता पनि मूल्य बढिरहेको सेयर किन्न चाहन्छन् । सर्टसेलर पनि बढिरहेको मूल्यको सेयरलाई बढी जोखिम लिएर सर्टसेल गर्न चाहन्नन् । यसले माग बढाउँछ । बढ्दो मूल्यको सेयरको भाउ अझै बढ्छ ।

ओभरवट भएपछि सेयर बिक्री गर्ने भन्ने मान्यता पनि धेरैले सुन्ने गरेका छन् । ओभरवट भएको सेयरको मूल्य तत्कालै घट्दो ट्रेन्डमा जान्छ भन्ने हुँदैन । आरएसआई ७० पुगेको अवस्था मूल्यको अपट्रेन्ड हो । बजार नै अपर्झट बियरिस भएको अवस्थामा बाहेक आरएसआई माथि गएको सेयरको मूल्य अझै माथि जान्छ ।

आरएसआई ३० मा झरेपछि मूल्य सपोर्टको तहमा पुगेको मान्दै खरिदकर्ता देखिन्छन् । छोटो अवधिका लागि खरिदकर्ता देखिए पनि बियरिस अवस्थाको सेयरको मूल्य अझै योभन्दा तल झर्न सक्छ । धेरै लगानीकर्ताले मूल्य ओरालो लागेको सेयर किन्दैनन् । भ्यालु इन्भेस्टरले भने अवमूल्यन भएको सेयर किनेर होल्ड गर्न मन पराउँछन् । प्राविधिक विश्लेषणका आधारमा छोटो समयमा किनबेच गर्नेले मूल्य ओरालो लागेको सेयर होल्ड गर्दैनन् । आरएसआई ३० मा झरेको सेयरको मूल्यमा केही सुधार देखिनेबित्तिकै सर्ट सेलर बढ्छन् । मूल्य घटिरहेको सेयर किन्न चाहनेको संख्या घट्छ । आरएसआई ३० मा झर्नु भनेको डाउन ट्रेन्डको अवस्था हो । अझ आरएसआई ४० मा आएपछि नै डाउनट्रेन्ड मान्नेहरू धेरै छन् ।
कुनै पनि इन्डिकेटरले मूल्यको विगतको अवस्थालाई देखाउने हो । भविष्यको मूल्यको अनुमान गर्ने हो । मूल्य अनुमान गरेअनुरूप नै बढ्छ र घट्छ भन्ने हुँदैन ।

सामान्य रूपमा बुझ्नुपर्ने तथ्य के हो भने खरिदकर्ता बढेपछि मूल्य बढ्ने हो । बिक्रीकर्ता बढेपछि मूल्य घट्ने हो । इन्डिकेटरले पनि यही देखाउने हो । लगानीकर्ताले पनि मूल्य बढिरहेको सेयर थप्दै जाने हुन् । घट्दै गइरहेको सेयर बिक्री गर्ने हुन् । आफ्नो पोर्टफोलियो समायोजन गर्नुपर्ने भएमा ट्रेडर र लगानीकर्ताले आरएसआईलाई महत्वपूर्ण संकेतका रूपमा लिएर खरिद–बिक्री गर्छन् । ओभरवट र ओभरसोल्डको अवस्था लामो समयसम्म पनि रहन सक्छ । प्रवृत्ति बुलिस भएमा ओभरवट जोनमा र मूल्य प्रवृत्ति बियरिस भएमा ओभरसोल्ड जोनमा लामो समय आरएसआई टिकिरहन पनि सक्छ ।

आरएसआईले चार्टको ढाँचा पनि बनाउँछ । यी चार्टका ढाँचा अन्तरनिहित मूल्यमा नदेखिन सक्छ । डबल टप र डबल बटम देखाएर सेयर खरिद गर्ने र बिक्री गर्ने संकेत आरएसआईले दिन्छ । मूल्यको अपट्रेन्डमा आरएसआई ४० देखि ९० सम्म रहन्छ । बुलिस बजारमा ४० देखि ५० सम्मको जोनलाई सपोर्टको तह मानिन्छ । डाउनट्रेन्डको अवस्थामा आरएसआई १० देखि ६० को तहमा रहन्छ । बियरिस अवस्थामा ५० देखि ६० सम्मको जोनले रेसिस्टेन्सको काम गर्छ । यी दायरा बजारको अवस्थामा भर पर्छ । आरएसआईको सेटिङ र कम्पनीको सेयर मूल्यको प्रवृत्तिका आधारमा आरएसआईले मूल्यको संकेत देखाउने हो ।

सेयरको भाउ नयाँ उचाइ र नयाँ न्यून तहमा पुगेको छ । तर, यसलाई आरएसआईले पुष्टि गर्दैन भने मूल्य उल्टोतिर जाने हुन्छ । कतिपय अवस्थामा मूल्य हाइयर हाईमै रहे पनि आरएसआई लोअर लो बन्दै गएको हुन्छ । यो अवस्थालाई ट्रेडरले मूल्य घट्ने अवस्थामा पुगेको ठान्छन् । यसविपरीत कतिपय अवस्थामा मूल्य घट्दो ट्रेन्डमा भए पनि आरएसआई हाइयर हाई बन्दै गइरहेको हुन्छ । यो अवस्थामा खरिदकर्ता आउँछन् ।

आरएसआईलाई महत्वपूर्ण इन्डिकेटर मानिन्छ । योसँगै भोलुमको घटबढको अवस्था हेर्न सक्यो भने मूल्यको सम्भावित गति पहिल्याउन सकिन्छ । हालसालै अमेरिकाको सेयर बजारमा आरएसआई ओभरवट तहमा पुगेपछि कसरी झन् माथि गएको हो भन्ने उदाहरण सुपरमाइक्रो कम्प्युटर बनेको छ । आरएसआई तल झरेको कम्पनीको सेयर मूल्य झन् तल जान्छ र आरएसआई झन् तल झर्छ भन्ने एउटा उदाहरण नबिल बैंकलाई लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्