Logo

‘सडकबाट आउने दबाबले बैंकिङ क्षेत्र अफ्ठ्यारोमा’

फाइल तस्बिर ।

काठमाडौं- नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र सडकबाट आउने दबाबले अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सडकबाट नै चल्ने अवस्था आएको गुनासो गरे ।

उनले नेपाली बैंकहरुमा कुनै पनि समस्यामा नभएको दाबी गर्दै त्यस्ता हल्ला र गलत प्रचारको पछि नलाग्न सबैलाई आग्रह गरे । उनले बैंकहरू सबल अवस्थामा रहेको भन्दै अहिलेको अवस्थामा कुनैपनि बैंक डुब्ने अवस्था नभएको दाबी गरे । उनले डक आन्दोलनमार्फत बैंकको ऋण नतिर्ने भन्ने दबाब भइरहेको बताए । उनले बैंक तथा वित्तीय उद्योगलाई अफ्ठ्यारो अवस्थामा सरकारबाट पाउनुपर्ने सहयोग र समर्थन पाउन नसकेको दाबी गरे । उनले बैंकहरु सबै डुब्न थाले, खतम हुन थाले भन्ने हल्लाले भएपनि बैंकहरु पारदर्शी र सवल रहेको बताए ।

उनले विश्वका विकसित मुलुकको समेत अवस्था हेर्दा मुख्य सूचकहरुमा बैंकको कर्जाको ब्याजदर घट्न खाजेकाले नेपालमा पनि कर्जामा ब्याजदर कम हुँदै जाने अवस्था आउने बताए । उनले पछिल्लो समय बैंकहरुको खराब कर्जा बढे पनि बैंकहरु धान्न सक्ने अवस्थामा रहेको बताए । उनले समग्रमा ३.४० प्रतिशतले खराब कर्जा बढेको बताए । उनले नेट एनपीए १.४० हुँदा बाहिरबाट हेर्दा खराब कर्जाको अफ्ठ्यारो अवस्था देखिए पनि धेरै ठूलो अफ्ठ्यारो नपरेको उल्लेख गरे ।

उनले अफ्ठ्यारो अवस्था भएपनि वचतकर्तालाई सुरक्षित गर्नेगरी बैंकहरुले काम गरिरहेका बताए । उनले सरकारको पुँजीगत खर्च बढ्न नसक्दा समस्या भएको बताए । उनले रेमिट्यान्स बढ्दै गइरहेको बताए । उनले वैदेशिक मुद्रा सञ्चिति बढ्नु राम्रो भएपनि यसको प्रयोग गर्न जान्न आवश्यक रहेको बताए । उनले ५ लाखसम्मको निक्षेपको बीमा पनि हुने भएको भन्दै बैंकहरुमा पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्