Logo

कुनै हालतमा पनि बैंक डुब्न दिँदैनौं: गभर्नर

फाइल तस्बिर ।

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक डुब्ने अवस्थामा नरहेको दाबी गरेका छन् । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले नियमन र अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै हालतमा पनि डुब्न नदिने प्रतिवद्धता जनाए ।

उनले राष्ट्र बैंकको नियमनमा चल्ने बैंक तथा वित्तीय संस्थाको वचत सुरक्षित गर्ने मेकानिजम राष्ट्र बैंकसँग भएकाले नेपाली बैंक डुब्ने अवस्था नभएको उल्लेख गरे । गभर्नर अधिकारीले नेपालको बैंकिङ प्रणाली धेरै हदसम्म बलियो रहेको उल्लेख गरे । राष्ट्र बैंकले ल्याउने नीतिहरु बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रुपमा काम गरिरहेको बैंक तथा वित्तीय संस्थालाई त्यत्तिकै डुब्न नदिने बताए ।

उनले अहिलेको अवस्थामा नेपालका बैंक वित्तीय संस्थाहरु डुब्ने अवस्थामा नभएको भन्दै साना–साना संस्था सो अवस्थामा आएपनि तिनको नियमन गरी सुधार गर्ने राष्ट्र बैंकसँग मेकानिजम रहेको दाबी गरे । गभर्नर अधिकारीले अर्थतन्त्र संकुचनमा रहेको कारण बजारमा मागमा कमी आएको बताए । ठूला ऋणीले ऋण माग्न सक्ने अवस्था नरहेको भन्दै मुलुकको निर्माण क्षेत्र समेत सुस्तता रहेको गभर्नर अधिकारीको भनाइ छ ।

उनले निर्माण क्षेत्रलाई चलायमान बनाउनसके आर्थिक गतिविधि समेत वृद्धि हुने विश्वास व्यक्त गरे । गभर्नर अधिकारीले १४ महिनाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति मुलुकको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको बताए । उनले विदेशी मुद्रा सञ्चितिले बैंकको तरलतामा सहजता ल्याएको र राज्यले चाहेको कुरा आयात गर्नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरे । गभर्नर अधिकारीले विगतमा बैंकहरुबाट ग्राहकहरुले ऋण लिनेले क्षमताभन्दा बढी ऋण लिएका कारण हालको समस्या निम्तिएको धारणा राखे ।

उनले ऋणहरुले आफ्नो क्षमता भन्दा बढी ऋण लिँदा समयमा तिर्न नसकेको र बैंकले पनि क्षमता हेरेर ऋण नदिँदा वर्तमान समस्या उत्पन्न भएको बताए । गभर्नर अधिकारीले यस वर्ष खराब कर्जा बढेको भन्दा पनि बैंकिङ क्षेत्रको वास्तविकता बाहिर आएको वर्ष भएको धारणा राखे । उनले यसलाई अन्यथा लिन नहुने भन्दै नेट एनपीए १.४० प्रतिशत हाराहारी रहेको उल्लेख गरे । उनले तत्काल आत्तिनुपर्ने अवस्था नभएको भन्दै शेयरधनीलाई लाभांश नदिएर भएपनि प्रणाली सुधारमा लाग्नुपर्ने आवश्यकता औंल्याए ।

उनले अहिले कुनै एक बैंक डुब्न लाग्यो भनेर अर्को बैंक खुशी हुँदा त्यसले अरुलाई पनि असर गर्ने अवस्था रहेको बताए । यस्तै, गभर्नर अधिकारीले राजनीतिक पार्टीका नेतृत्व देखि बैंक बुझ्ने धेरैले बैंक अराजक, सामन्ती र मिटरब्याजी भए भनेर गाली गरिरहेको बताए । उनले नेपालका कुनैपनि बैंकहरु अराजक, सामन्ती र मिटरब्याजी भएको नपाएको दाबी गरे । उनले अहिले बैंकको आम्दानी घटेको बताए । उनले आफू गभर्नर भएर राष्ट्र बैंक आउँदा ७० अर्ब रहेको नाफा अहिले त्याे अवस्थामा पुग्नसक्ने अवस्था नरहेको उल्लेख गरे ।

३२ खर्ब बैंकको पुँजी बढेर ५० खर्ब पुग्दा पनि ७० अर्ब नाफा पुग्न नसक्ने अवस्थामा ‘कसरी बैंक साहु महाजन भए ? भन्दै प्रश्न गरे । उनले बैंकहरुलाई गाली गर्नेहरुले बैंकहरुको तथ्यांक नहेरेको बताए । उनले बैंक तथा वित्तीय संस्था डुब्दा मुलुकमा कस्तो असर पर्छ भन्ने विषयमा सबैले ध्यान दिन आवश्यक रहेको बताए । उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था फेल नहुन् भनेर मर्जरको लहर चलाएको दाबी गरे । राष्ट्र बैंकले लिने नीतिहरु तत्काल भन्दा पनि भविष्यमा आउने समस्या समाधानको लागि सहयोगी बन्ने गरेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्