Logo

सार्वजनिक ऋण भुक्तानी गर्न १ खर्ब बढी रकम विनियोजन गर्नुपर्ने अवस्था छः अर्थमन्त्री

प्रतिनिधिसभामा सोमबार आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महत

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न सरकारले वर्षेनी ठूलो रकम विनियोजन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा मात्रै एक खर्ब भन्दा बढी रकम सार्वजनिक ऋणको भुक्तानीको लागि खर्च गर्नुपर्ने दायित्व सरकार सामु रहेको बताए । उनले विकास आयोजनाहरुमा न्युन बजेट विनियोजन गरेका कारण सृर्जित दायित्व भुक्तानी गर्न पनि सरकारका लागि चुनौतिको विषय रहेको स्पष्ट पारे ।

उनले जाजरकोटलगायतका भूकम्प पीडितहरुका लागि आवास पुनर्निर्माणका लागि ठूलो बजेटका आवश्यकता रहेको बताए । अर्थमन्त्री महतले स्रोत सुनिश्चित नभएका कारण भूकम्प प्रभावित क्षेत्रका स्थायी आवास निर्माणको कामले गति लिन नसक्ने अवस्था रहेको बताए । यस्तै, अर्थमन्त्री महतले आम नागरिकको जीवनस्तरमा सुधार हुनेगरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताउँदै आधारभुत आवश्यकता पूरा गर्न कठिन अवस्थामा रहेका नेपाली नागरिकहरुको जीवनस्तर सुधार हुनेगरी आगामी वर्षको बजेट तर्जुमा गर्नुपर्ने आवश्यकता महशुस गरेको बताए ।

महतले मुलुकको अर्थतन्त्रलाई विश्व अर्थतन्त्र गतिसँगै अघि बढाउने लक्ष्य पनि आगामी आर्थिक वर्षको बजेटमा हुने बताए । उच्च र दिगो आर्थिक वृद्धि हासिल गरी उत्पादन वृद्धिसँगै रोजगारीको अवसर सृजनामार्फत गरिवी न्युनिकरण गर्ने, आर्थिक असमानता कम गर्दै वित्तीय स्थायित्व कायम गर्न अर्थतन्त्रलाई दिशा निर्देश गर्नु अपरिहार्य ठानेको पनि उनले बताए ।

अर्थमन्त्री महतले मुलुकले भोग्दै आएको न्युन उत्पादन र उत्पादकत्व, उच्च व्यापार घाटा, कमजोर निर्यात, आर्थिक दृष्टिले सक्रिय उमेर समूहको जनशक्ति पलायनजस्ता समस्या समाधान गर्नु आगामी आर्थिक वर्षको बजेटको प्राथमिकताको विषय भएको पनि उल्लेख गरे । त्यस्तै, उनले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाउने बताए ।

अर्थमन्त्री महतले किसानहरुलाई सहुलियतपूर्ण कर्जा, उन्नत प्रविधि तथा तालिम, सिंचाई सुविधा, मल, बीउको उपलब्धता, सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिने समेत बताए । उनले प्राकृतिक र प्राङगारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिने बताए । अर्थमन्त्री महतले पहाडका टार र तपाई मधेशमा थप क्षेत्रमा सिंचाई सुविधा बिस्तार गर्न जोड दिइने बताए । साथै, उनले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताएको दाबी गरेका छन् ।

अर्थमन्त्री महतले लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पूँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवं वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढ्न सफल भएको स्पष्ट पारे । उनले विद्युत उत्पादन र पर्यटक आगमन वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको समेत उल्लेख गरे ।

अर्थमन्त्री महतले वाह्य क्षेत्रतर्फ चालु खर्च सोधान्तर बचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितीले आर्थिक क्रियाकलापका लागि अनुकुल वातावरण सृजना गरेको बताए । राजश्व संकलन लक्ष्य अनुरुप नभए पनि वृद्धिदर करिव १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान रहेको उनले बताए । अर्थमन्त्री महतले बैकिङ क्षेत्रतर्फ पर्याप्त तरलता, ब्याजदर एकल बिन्दुतर्फ झर्ने क्रममा रहेको तथा निक्षेप र कर्जा प्रवाहमा क्रमशः वृद्धि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्