Logo

एम्बुलेन्सबाट गाँजा तस्करी

बिर्तामोड– सामान्यतया: एम्बुलेन्सले बिरामी बोक्ने गर्छ तर झापाको बिरामी बोक्ने एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको खुलासा भएको छ । धनकुटा सागुरीगढी गाउँपालिका–३ बाट मे १ च २०३२ नम्बरको एम्बुलेन्सबाट प्रहरीले गाँजा बरामद गरेपछि यो तथ्य बाहिर आएको हो ।

झापाको हल्दिबारी–१ स्थित मुक्तिघाट समाज सेवाको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त एम्बुलेन्समा धनकुटाबाट सुनसरीतर्फ ल्याउँदै गरेको ५२ किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई शनिबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी प्रमुख सई जीवन कार्कीको कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा एम्बुलेन्समा गांजासहित विराटनगर महानगरपालिका–८ बस्ने जयदेब चन्द्र चेललाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । गाँजा तस्करी हुने गरेको सुराकी पाएको प्रहरीले एम्बुलेन्स चेकजाँच गर्दा उक्त परिणामको गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी प्रमुख सई जीवन कार्कीले जानकारी दिए ।

एम्बुलेन्सको टुल बक्स भित्र लुकाई राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो । कार्कीले यस अघि पनि ठूलो परीणाम ६ सय केजी गाँजा सहित चार जनालाई पक्राउ गरेका थिए । सई कार्कीले तेल बोक्ने ट्यांकरमा उक्त परीणामको गाँजा बरामद गरेका थिए । प्रहरी प्रमुख कार्कीले नियमित चेकजाँचको क्रममा बिराटनगरबाट शुक्रबार धनकुटा बिरामी पुर्‍याएर शनिबार फर्कँदै गरेको एम्बुलेन्सलबाट गाँजा बरामद गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्