Logo

नहरको पानी चुहिँदा हजारौं विघा जमिन दलदलमा परिणत

महेन्द्रनगर– कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा हजारौं विघा जमिन सिमसारमा परिणत हुँदै गएको छ । बेलडाँडी गाउँपालिकाको वडा नं १ देखि ५ सम्मको करिब तीन हजार विघा जमिन दुई दशकदेखि बाँझै रहेको छ । २०५५ सालदेखि महाकाली सिँचाइ दोस्रो चरणको नहर निर्माण भएसँगै नहरबाट पानी चुहिएका कारण उर्वर जमिन सिमसारमा परिणत हुँदै गएको स्थानीयको भनाइ छ ।

त्यसैगरी बेलडाँडीको गाउँपालिकाको पूर्वमा झर्ना खोला र पश्चिममा चौधर नदीसहितका खोला नालाका कारणसमेत जमिन दलदलमा परिणत हुँदै आएको स्थानीयको भनाइ छ । बेलडाँडी वडा नम्बर–५ झिलमिलाका स्थानीय तेज रावलले नहर निर्माण भएदेखि नहरको पानी चुहिएर खेतमा जाने भएकाले उर्वर भूमि सिमसारमा परिणत भएको बताए । उनले भने, ‘जमिन छँदा छँदै पनि खेती लाग्ने जमिन सिमसारमा परिणत भएपछि यहाँका प्रत्येक घरका स्थानीय मजदुरी गर्न भारतलगायत अन्य मुलुक जान बाध्य छन् ।’

२०५५ सालअघि उर्वर भूमिमा धान, मुसुरोलगायतका अन्नबाली लगाउने गरे पनि खेत सिमसारमा परिणत भएपछि उक्त क्षेत्रका अधिकांस युवा विदेशिनु पर्ने बाध्यता रहेको उनले बताए । सो क्षेत्र सिमसारमा परिणत हुनुअघि जिल्लाकै सबै भन्दा राम्रो धान, गहुँ बढी फल्ने नामले परिचित भएको बताए । झिलमिलामा मात्रै ३ सय भन्दा बढी जमिन सिमसारमा परिणत भएकाले प्रयोगमा समेत नआएको उनको भनाइ छ ।

बेलडाँडीको दक्षिण क्षेत्रमा रहेका किसानले त्यहीँ बराबर रहेको खेतमा नगदे बाली लगाएर वार्षिक लाखौं आम्दानी गरेपनि बेलडाँडीका किसानले बाँझो जमिन हेरेरै चित्त बुझाइ रहेका छन् । उक्त क्षेत्रका सर्वसाधारणले स्थानीय सरकारदेखि लिएर प्रदेश र संघीय चुनावमा उठ्ने दलका नेता–कार्यकर्ताले समेत चुनाव जित्नकै लागि उक्त एजेण्डा अघि सारेपनि चुनाव जितेपछि वास्ता नै नराख्दा उर्वरा जमिन जलाशयमा परिणत हुँदै गएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्