Logo

झापास्थित बालुवाटार सरकारी जग्गा घोटाला प्रकरण

माओवादी नेता पुरीसहित १८७ विरुद्ध भ्रष्टाचार मुद्दा

बिर्तामोड– झापाको दमक बालुवाटार जग्गा घोटाला प्रकरणमा मुछिएका माओवादी नेता रेवतराज पुरी (गगन)विरूद्ध भ्रष्टाचार मुद्दा परेको छ ।

माओवादी कोशी प्रदेश कोषाध्यक्ष पुरीसहितका व्यक्तिमाथि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । आयोगले पुरीसँग ६ करोड २ लाख ७० हजार ४९९ रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरी मुद्दा दायर गरिएको छ भने उनकी श्रीमती केशावती पुरीविरूद्ध ८४ लाख ८९ हजार १६५ रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरिएको उनले बताए ।

त्यसैगरी रेवतराजकी आमा मनमाया पुरीविरूद्ध ५ करोड ७० लाख २८ हजार ३८० रुपैयाँ, देवकुमार पुरीविरूद्ध ५२ लाख ८४ हजार २६०, डिल्लीराम पुरीविरूद्ध ८२ लाख ९२ हजार २८३, देवरुपा पुरीविरूद्ध ४ करोड ३२ लाख ६२ हजार ७८०, ममता पुरी घिमिरेविरूद्ध १ करोड २८ लाख ७० हजार, माया पुरी पाण्डेविरूद्ध १ करोड २० लाख ५७ हजार ५८०, कृष्णकुमार पुरीविरूद्ध ९१ लाख चार हजार ४४०, प्रेमकुमार पुरीविरूद्ध १ करोड ९४ लाख ६३ हजार ३३२, कुलबहादुर पुरीविरूद्ध १ करोड ७ लाख रुपैयाँ बिगो माग गरिएको प्रवक्ता नरहरि घिमिरेले बताए ।

यस्तै, मुद्दामा नापी कार्यालय झापाका तत्कालीन प्रमुख स्व. शशिकान्त झा र उनकी श्रीमती अनारदेवी झालाई ३० करोड २ लाख ७१ हजार ९२६ रुपैयाँ बिगो माग गरिएको प्रवक्ता घिमिरेले बताए । यसअघि रेवतराज र उनकी श्रीमती केशावतीलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दमा दोषी ठहर गरेको थियो । त्यस्तै अख्तियारले नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसहित १८७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको प्रवक्ता घिमिरेले बताए ।

अख्तियारले नापी कार्यालय, चन्द्रगढीका ९ जना कर्मचारी, सरकारी सार्वजनिक जग्गा गैरकानूनी तरिकाले स्वबासी जग्गा दर्ता प्रकृयाबाट आफ्नो नाममा दर्ता कायम गरेका सुरु जग्गा दर्तावाला ६५ जना र बिगो असुलउपर तथा जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएका ११३ जना गरी १८७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको उनले बताए ।

झापाको दमक नगरपालिका–१३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ) का जग्गाहरू कि.नं.७६०.१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साविक दमक ६ ‘ग’ र दमक ५ ‘ख’ बीचको मार्जिनका जग्गाहरू स्वबासी प्रक्रियाबाट व्यक्तिको नाममा लगेको घटनामा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०२१ सालको सुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्ता श्रेस्ताबाट देखिएका ती जग्गा नापी कार्यालय चन्द्रगढीबाट पुन: नापीका क्रममा विभिन्न व्यक्तिको नाममा स्वबासी प्रक्रियाबाट जग्गा दर्ता गरिएको थियो ।

जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६ को उपदफा (६ग) र जग्गा (नाप जाँच) नियमावली, २०५८ को नियम १५ उपनियम (५) बाट समेत साविकमा सरकारी वा सार्वजनिक जग्गा जनिई नापजाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरबास गरी भोग गरेको भए पनि नाप जाँच गर्दा त्यस्तो जग्गा साविक बमोजिम नै सरकारी वा सार्वजनिक जग्गाको रुपमा दर्ता गर्नुपर्नेमा व्यक्तिको नाममा लगिएको अख्तियारले जनाएको छ ।

उक्त ऐन र नियमावलीविपरीत सरकारी सार्वजनिक जग्गा स्वबासी दर्ता प्रक्रियाबाट व्यक्ति विशेषको नाममा दर्ता गरेको अख्तियारले जनाएको छ । सुरु नापीको सरकारी सार्वजनिक जग्गा स्वबासी जग्गा दर्ताबाट जम्मा क्षेत्रफल १८ बिघा १७ कठ्ठा १३ धुर) अर्थात् ३८४ रोपनी ८ आना १ दाम व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको अख्तियारले उल्लेख गरेको छ ।

के हो दमकको ‘बालुवाटार’ जग्गा घोटाला प्रकरण ?
झापाको दमकमा ‘बालुवाटार’ नामाकरण गरिएको जग्गाको फाँट छ । रतुवा खोलाले सधैं बगाउने र बालुवा थुपारिरहने भएकाले त्यो फाँटको नाम पञ्चायतकालतिरै ‘बालुवाटार’ राखिएको थियो । केही महिनाअघि तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल निकट विवादास्पद व्यापारी अजयराज सुमार्गी ‘बालुवाटार’ पुगेका थिए । दमककै चिनजानका पूर्वमाओवादी नेता रेवतराज पुरी ‘गगन’ ले सुमार्गीलाई त्यही ‘बालुवाटार’ फाँट देखाए ।

दमक नगरपालिका–८ (साबिक–१३) को त्यो ठूलो फाँटको जग्गामा १६ अर्ब लगानी गरेर विश्वस्तरको पार्क बनाउने उनीहरूले प्रचार गरे । पुरी र सुमार्गीको टोलीमा नेकपाका केही नेताहरू पनि थिए । त्यो प्रचारको उद्देश्य जग्गाको मूल्य बढाउने थियो । पार्क बन्ने हल्ला पिटाएर जग्गा महंगोमा बेच्ने उनीहरुको योजना थियो । सो क्षेत्रमा ५० बिगाह जमिन छ । त्यो जमिनमध्ये पुरी एक्लैको नाममा १५ बिगाह रहेको अनुसन्धानबाटै देखिएको छ ।

यो जग्गा अनुसन्धानमा तानिएपछि पार्क बन्नु त कता–कता, पार्क बनाउन हल्ला गर्नेहरूकै अहिले भागभाग छ । यो ठाउँ कुनै बेला सरकारी जग्गा थियो । पुरीको नाममा कसरी आइपुग्यो भनी अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । यो जग्गालाई ‘बालुवाटार घोटाला–२’ भन्न थालिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई महिना लगाएर गरेको अनुसन्धानमा दमकका नवधनाढ्य पुरीले सरकारी जग्गा कीर्ते गरेर आफ्नो नाममा ल्याएको पत्ता लागेको छ ।

ब्युरोले सो अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय झापालाई बुझाएसँगै अहिले पुरी परिवारको बास दमकबाट उठेको छ । पुरीसहित उनका केही आफन्तविरूद्ध इलाका प्रहरी कार्यालय दमकले कीर्तेमा मुद्दामा अनुसन्धान गरिरहेको छ । ५० मध्ये १५ बिगाह पुरी र उनका परिवारको नाममा देखिएपछि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बाँकी जग्गा अन्य थुप्रै व्यक्तिको नाममा पुगेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

केही व्यक्तिमाथि कीर्ते मुद्दामा अनुसन्धान थालिएको र अनुसन्धानकै क्रममा रहेकाले उनीहरुको नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए । यो जग्गा पूर्वपश्चिम राजमार्गबाट १ किलोमिटर दक्षिणमा पर्छ । त्यो सरकारी जग्गा पुरीले कीर्ते गरेर आफ्नो नाममा ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सरकारी जग्गा गगन पुरीको नाममा मिलेमतो गरेर पास गरिएको अनुसन्धानबाट खुलेपछि मुद्दा चलाउने प्रयोजनार्थ प्रतिवेदन जिल्ला प्रहरी कार्यालय झापालाई बुझाएको थियो ।

अहिले स्पष्ट तरिकाले पुरीको नाममा मात्र भएको जग्गा १५ बिगाह देखिएको र त्यो फाँटको सरकारी जग्गा पुरीले टुक्रा–टुक्रा पारेर विभिन्न व्यक्तिलाई बेचेको पत्ता लागेको प्रहरीले जनाएको छ । जग्गा किन्ने व्यक्तिहरू सबै अनुसन्धानमा तानिएकाले जग्गा हत्याउने तानाबाना खुल्दै जाने उनले बताए । काठमाडौंको बालुवाटार जग्गा घोटाला अनुसन्धान गरिरहेको ब्युरोले नै झापाको जग्गा अनुसन्धान थालेको थियो । ब्युरोका दुई जना प्रहरी अधिकृत दुई महिना झापामा बसेर जग्गा अनुसन्धान गरेका थिए ।

यसबीचमा उनीहरूले दमक मालपोतमा रहेका जग्गाका ढड्डा पल्टाए । कागजात खोज्ने क्रममा २०६६ र २०६७ सालमा त्यो सरकारी जग्गा पुरीको नाममा पास भएको पेला पारेका थिए । त्यतिबेला पुरी एक्लैको नाममा नामसारी भएको जग्गा बिक्री वितरण भएर विभिन्न व्यक्तिको नाममा पुगेको हो । ब्युरोको अनुसन्धानले पुरीलाई दोषी देखाएपछि सो जग्गा अहिले कस–कसको नाममा पुगेको छ भन्ने दमक प्रहरीले खोजी गरिरहेको छ ।

मालपोतका कर्मचारीको मिलेमतोमा त्यो जग्गा पुरीको नाममा नामसारी गराइएको खुलेको र जग्गा पास गर्ने बेला को–को कर्मचारी थिए तिनीहरूको सूची बनाएर प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ । दमकका एक स्थानीयका अनुसार पुरीको नाममा पुगेको जग्गासँगै त्यहाँ नेकपाको पार्टी कार्यालय पनि छ । पहिले त्यहाँ माओवादीको पार्टी कार्यालय थियो । एमाले–माओवादी मिसिएर नेकपा भएपछि त्यहाँ जनवर्गीय संगठनहरूका गतिविधि बढी हुने गरेका थिए ।

२०६४ सालमा पुरीले माओवादी पार्टी कार्यालय बनाइदिए । सरकारी जग्गासँगै जोडिएको जग्गामा करिब पाँच कठ्ठा क्षेत्रफलमा पार्टी कार्यालय खोलिदिएका थिए । पार्टी कार्यालय नै खोलिदिएपछि पुरी नेताहरूको नजरमा ‘दाता’ र ‘समाजसेवी’ भनेर चिनिन थाले । त्यसको फाइदाका लागि नेताहरूसँग उनी नजिक हुन पुगे । पुख्र्यौली जग्गा पनि भएका पुरी विस्तारै पार्टी राजनीतिमा सक्रिय हुँदै गएपछि जग्गा हत्याउने ‘तानाबाना’ रच्न थाले ।

यो जग्गा पुरीले आफ्नो नाममा ल्याउन प्रपञ्च जोडतोडले चलाएको पनि २०६४ सालपछि नै भएको ती स्थानीय बताउँछन् । स्थानीय चुनावमा पुरीलाई माओवादी पार्टीले दमक नगरपालिकाको मेयर उठाए पनि मेयरमा पराजित भएपछि उनी पुरी अहिले नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य छन् । रतुवा नदी पश्चिम र दिपेनी खोला उत्तरको उक्त जग्गा अहिले प्रतिकठ्ठा ५० लाखभन्दा धेरै पर्ने अनुमान गरिएको छ ।

पुरीको नाममा आएको जग्गामा पहिले करिब ८८ परिवार सुकुम्बासी बस्थे । भूमिसुधार सक्रिय भएका बेला उनीहरूलाई जग्गा दिने प्रक्रिया थालिएको थियो । २०४० सालमा रतुवा खोलामा बाढी आउँदा बस्ती बगाएसँगै सुकुम्बासीको बास उठ्यो । रतुवाको धार परिवर्तन गराएपछि जोगिएको त्यो जग्गा हत्याउन पुरीले तीन–चार वर्ष मिहिनेत गरेको ब्युरोको अनुसन्धानले देखाएको छ ।

सुरूमा नापी गर्दा सुकुम्बासी परिवार उठिसकेको र पुरीले एकलौटी नापी गराएर ‘पछि मालपोतका कर्मचारीसँग मिलेर जग्गा आफ्नो नाममा गराएको स्थानीय बताउँछन् । तत्कालीन पञ्चायतका वडाअध्यक्ष डम्बरबहादुर अधिकारीको रोहवरमा ८४ घरपरिवारलाई २०३६ सालमा त्यहाँ बसोबास गर्ने कार्य भएको र २०३९ सालमा गठित सुकुम्बासी आयोगमार्फत उक्त जग्गालाई १२० कित्ता बनाएर ती परिवारको नाममा फिल्डबुक कायम गरिएको छ ।

यो जग्गामा पहिले बसेका सुकुम्बासीले आफूहरूको नाममा आउन लागेको जग्गा पुरीले कीर्ते गरेर हत्याएको आरोप लगाएका छन् । सरकारी जमिन व्यक्तिको नाममा पार्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले छ जनालाई मंसिर र पुसमा पक्राउ गरेको थियो । पक्राउ परेकालाई झापा जिल्ला अदालतले जनही तीन लाख ७५ हजार धरौटीमा रिहा गरेको छ ।

पक्राउ पर्नेमा दमक नापीका कर्मचारी विनोद मण्डल, कृष्णप्रसाद भट्टराई, पथरीका ओमप्रकाश पौडेल, दमक–८ का वेदबहादुर पौडेल, दमक नगरपालिकाका कर्मचारी दलबहादुर खत्री र मोहन ओली थिए । पुरीले आफ्नो नाममा ल्याएकोमध्ये ११ बिगाहा जग्गा पौडेलको नाममा पास गराएका छन् । तीन कित्तामा छुट्याइएको जग्गामध्ये कित्ता नम्बर ७४ को जग्गा पौडेलको नाममा देखिएको छ । पौडेललाई पुरीले दुई कठ्ठा दिने सर्तमा पास गराएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्