Logo

प्रांगारिक कृषि उत्पादन बढाउन जोड

बुटवल– प्रांगारिक कृषि उत्पादन बढाउनु पर्नेमा जोड दिइएको छ । कृषि मेलाका अवसरमा बुटवलमा आयोजित कृषि वस्तुको बजारीकरण सम्बन्धी कार्यक्रममा सहभागीहरूले त्यस्तो बताएका हुन् ।

कार्यपत्र प्रस्तुत गर्दै कृषि उद्यम केन्द्र नेपाल उद्योग वाणिज्य महासंघका का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र जोशीले रैथाने र प्रांगारिक कृषि वस्तुको बजार बढ्दै गएको बताए । उनले अहिले भइरहेको प्रांगारिक उत्पादनले बजार माग पुरा गर्न नसकेको बताउँदै प्रांगारिक उत्पादन बढाउनु पर्नेमा जोड दिए । जोशीले बिस्तारै यसको बजार बढ्दै जाने भएकाले किसानले उत्पादन गर्ने कृषि उपजलाई प्रांगारिकीकरण गर्दै जानुपर्ने आवश्यकता औंल्याए ।

प्रांगारिक उत्पादनको माग बढ्दै जाँदा त्यसबाट किसानले पनि लाभ लिन सकिने बताइएको छ । प्रांगारिक उत्पादन नेपालको माटो सुहाउँदो रहेको जिकिर गरिएको थियो । यसले उत्पादन लागत घटाइ मलखाद नपाउने समस्या हल गर्ने विश्वास गरिएको छ । प्रांगारिक प्रमाणिकरण नहुँदा अप्रांगारिकलाई पनि प्रांगारिक भनेर उपभोक्ता झुक्याउने सम्भावना रहेकाले त्यसको व्यवस्था सरकारले मिलाउनु पर्ने किसानहरूले बताए ।

कार्यक्रममा महासंघ कृषि उद्यम केन्द्रका बोर्ड सदस्य झलकलाल श्रेष्ठले तीनै तहका सरकारसँग कृषिको कुनै प्रकारको तथ्यांक नभएको बताउँदै यसले कृषिको व्यावसायिक विकास हुन नसक्ने बताए । पछिल्लो समय अग्र्यानिक वस्तुको बजार बढेकाले किसानलाई अग्र्यानिक उत्पादनमा प्रोत्साहन गर्नुपर्ने धारणा राखे । संघका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले छलफलमा उठेका कुराहरूलाई लिपिवद्ध गरेर समस्या समाधानका लागि सम्बन्धित तहमा पहल र पैरवी गरिने बताए ।

उनले कृषिलाई प्रवर्द्धन गर्न सकियो भने राष्ट्रिय अर्थतन्त्रमा योगदान हुने र कृषिमा लगानी तथा युवा आकर्षण गरी उद्यमशीलतासँगै रोजगारी सिर्जना हुने भएकाले कृषि प्रवर्द्धनको लागि संघले पहल कदमी लिएको जानकारी दिए ।
कार्यक्रममा संघका कृषि परामर्शदाता प्रदिप शर्मा पौडेल, हेफर इन्टरनेशनलका एशोसियट निर्देशक राम अधिकारी, बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसी, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराईलगायतले नागरिकको स्वास्थ्यको दृष्टिकोणले अस्पतालमा भन्दा पनि स्वास्थ्यकर खाद्य वस्तुको उत्पादनमा जोड दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्