Logo

खनियाघाट–नाग्लीवाङ सडक स्तरोन्नति सुरु

पर्वत– सडकको ट्रयाक खुलेको १६ वर्षपछि पर्वतको एक सडक स्तरोन्नतिको काम सुरु भएको छ । जिल्लाको जलजला गाउँपालिका–८ को डमुवाखोला–खनियाघाट–नाग्लीवाङ–लुप्राङ सडक स्तरोन्नतिको काम थालिएको हो । विसं २०६४ मा मार्ग खोलिएको यो सडक गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो ।

प्रदेश सरकारको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत गरी कुल दुई करोड बजेट विनियोजन गरेर सडक विस्तार, नाली र पर्खाल निर्माणका साथै ढलान गर्न लागिएको जलजला गाउँपालिका–८ का अध्यक्ष हरि विकास जिसीले जानकारी दिए । उनका अनुसार एक करोड ३३ लाखमा ठेक्का सम्झौता गरेको साहना सक्षम जेभीले साँघुरो र अप्ठ्यारो सडक तथा घुम्तीलाई फराकिलो बनाएर पर्खाल र नाली निर्माणलाई तीव्रता दिएको छ । ‘संरचना निर्माणको काम सकिएपछि सडक ढलान गर्ने तयारी गरिएको छ,’ उनले भने ।

७८० मिटर लम्बाइ र पाँच मिटर चौडाइका दरले सडक ढलान गरिने गाउँपालिकाका इन्जिनियर सुनिल बानियाँले बताए । आगामी जेठ महिनाभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । यस वर्ष विनियोजन भएको बजेट मार्ग खुलेपछि हालसम्मकै धेरै भएको वडाध्यक्ष जिसीले बताए । पहिलो चरणमा डमुवाखोलादेखि नाग्लीवाङसम्मको तीन किलोमिटर सडकलाई स्तरोन्नति गर्न लागिएको हो । हाल तीनदेखि चार मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुनेगर्छ ।

सामान्य मर्मतको भरमा यातायातका साधन सञ्चालन हुने गरेका छन् । यसअघि गाउँपालिकाको ५० लाख बजेटमा अप्ठ्यारो ठाउँमा पाँच सय मिटर सडक ढलान गरिएको थियो । नाग्लीवाङ र छिमेकी वडा बनौका एक हजारभन्दा बढी घरधुरीले यो सडक प्रयोग गर्ने वडा सदस्य खिमबहादुर खत्रीले बताए । नाग्लीवाङको वडा कार्यालय र स्वास्थ्य चौकी पनि यही भएकाले अन्य बस्तीका बासिन्दाले पनि यो सडक प्रयोग गर्छन् ।

सडक सहज भएमा यात्रा अवधि छोटिने, सुरक्षित र सहज रूपमा यात्रा गर्न पाउनु, ढुवानी र आवतजावतमा भाडादर घट्ने अपेक्षा गरिएको छ । कृषि उपज निकासीमा सहज हुनेछ । राष्ट्रिय राजमार्ग कालिगण्डकी करडोरमा पर्ने डमुवाखोलादेखि नाग्लीवाङ हुदै लुप्राङ जोड्ने यो सडक ११.५ किलोमिटर लामो छ ।

सडक पूर्ण रूपमा स्तरोन्नतिका लागि ४८ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर स्रोतको खोजी गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । प्रदेश र संघीय सरकारसँग सडक स्तरोन्नतिका लागि योजना र बजेट प्रस्ताव गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्