Logo

आयोजना बैंक बनाउँदै सुदूरपश्चिम प्रदेश सरकार

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगले आयोजना बैंक बनाउन थालेको छ । प्रदेशको मन्त्रिपरिषद्ले सुदूरपश्चिम प्रदेश आयोजना बैंक तुर्जमा दिग्दर्शन २०८० स्वीकृत गरेपछि आयोगले सफ्टवेयर तयार गरी आयोजना बैंक बनाउन थालेको हो ।

आयोगका सदस्य सचिव पदमराज जोशीले आयोजना बैंकको सफ्टवेयर चलाउन र आयोजना बैंक तुर्जमा दिग्दर्शन २०८० को विषयमा प्रदेशका मन्त्रालयका योजना शाखाका कर्मचारीलाई अभिमुखीकरण तालिम दिइरहेको छ । तालिम पश्चात सबै मन्त्रालयलाई युजर आईडी दिइने र मन्त्रालयले नै आयोजना बैंकमा आयोजना राख्ने बताए ।

उनले आयोजना बैंकमा प्रदेशका ठूला आयोजना राख्ने र आगामी आर्थिक वर्षको बजेटमा सोही आयोजनालाई समेटेर बजेट विनियोजन गरिने बताए । आयोजना बैंक तर्जुमा दिग्दर्शन, २०८० को अभिमुखीकरण तथा प्रयोगशाला सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै प्रदेशका आर्थिक मामिलामन्त्री मन्त्री नरेशकुमार शाहीले आगामी वर्षको आयोजना छनोट गर्दा गरिबी न्यूनीकरण हुने, रोजगारी सिर्जना हुने तथा प्रतिफल प्राप्त हुने प्रकृतिका योजनालाई प्राथमिकता दिइने बताए ।

उनले रोजगारीका लागि भारत जानुपर्ने बाध्यतालाई रोक्ने किसिमको योजनासमेत आयोजना बैंकमा समावेश गर्नुपर्ने बताए । सामाजिक परिवर्तन प्रदेश सरकारको एकमात्र लक्ष्य भएको बताउँदै मन्त्री शाहीले आयोजना बैंकले धेरै हदसम्म आयोजनालाई व्यवस्थित गरी लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने बताए । उनले आयोजना बैंकको प्रभावकारी कार्यान्वयनमा सम्बद्ध सबै पक्ष लाग्न आग्रह गरे ।

नीति तथा योजना आयोगले प्रदेशको आगामी आर्थिक वर्षको बजेट निर्माणसमेत थालनी गरेको छ । सदस्य सचिव जोशीले प्रदेशका स्थानीय तहबाट समपूरक र विशेष अनुदानबाट आगामी वर्ष सञ्चालन हुने योजना माग गरिएको बताए । उनले आगामी चैत १५ गतेभित्रै प्रदेशका सबै मन्त्रालय र स्थानीय तहलाई बजेट सिलिङ पठाइसक्ने गरी स्रोत अनुमान समितिले काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्