Logo

तामाकोसी पाँचौंमा चिनियाँ कम्पनी छनोट

फागुन– दोलखामा निर्माण गर्न लागिएको ९९.५ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजना निर्माण गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन छनोट भएको छ । आयोजना निर्माणका लागि इच्छा जाहेर गरेका चारवटा कम्पनीमध्ये प्राविधिक प्रस्तावमा छनोट भएका दुई कम्पनीमध्ये आर्थिक प्रस्ताव कम कबोल गर्ने सिनो हाइड्रो छनोट भएको हो ।

अब सिनो हाइड्रोले पहिलो चरणको सिभिल र हाइड्रोमेकानिकलको काम गर्नेछ । सिनो होइड्रो र नेपाली साझेदार कुमार श्रेष्ठ निर्माण सेवाको संयुक्त उपक्रम (जेभी) कम्पनीले निर्माण ठेक्का पाएको हो । आयोजना निर्माणका लागि प्राविधिक प्रस्तावमा छनोट भएका दुई कम्पनीमध्ये आर्थिक प्रस्तावमा कम रकम कबोल गर्ने सिनो हाइड्रो छनोटमा परेर ठेक्का पाएको हो ।

खरिद प्रक्रियामा भाग लिएकामध्ये सिनो हाइड्रो र चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पाेरेसन प्राविधिक प्रस्तावमा पास भएका थिए । यीमध्ये आर्थिक प्रस्तावमा कम कबोल गरेपछि सिनो हाइड्रोले ठेक्का पाएको प्रवर्द्धक कम्पनी तामाकोसी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले बताए । ‘एक महिनाभित्र ठेकेदार कम्पनीसँग सम्झौता हुन्छ,’ उनले भने, ‘सम्झौतापछि पूर्वतयारी गरी ६ महिनाभित्र निर्माण सुरु हुन्छ ।’

निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पनि उनले बताए । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेडको रूपमा यो आयोजना निर्माण हुनेछ । यसको हेडवक्र्स निर्माण नगरी माथिल्लो तामाकोसीको विद्युतगृहबाट आएको टेलरेसको पानीलाई सिधै सुरुङमा पठाइन्छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण गरेको सडक पनि तामाकोसी पाँचाैंबाटै गएका थप मुख्य सडक निर्माण गर्नु पर्दैन ।

यो आयोजनाले आफ्नो क्षेत्रभित्र परेकाले अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आफैं बनाउन खोजे तापनि नेपाल विद्युत प्राधिकरणले पाँच वर्षअघि छुट्टै कम्पनी बनाएको छ । नेपाल विद्युत प्राधिकरणकै सहायक कम्पनी तामाकोसी जलविद्युत कम्पनीले निर्माण गर्न लागेको आयोजनाको आठ किलोमिटर सुरुङ निर्माण गरी सुरीटारमा भूमिगत विद्युतगृह निर्माण गरी विद्युत उत्पादन गरिने छ ।

आयोजनाबाट उत्पादित विद्युत दुई किलोमिटर २२० केभीको प्रसारण लाइन निर्माण गरी गोंगर–खिम्ती प्रसारण लाइनमा जोड्ने छ । दुई प्याकेजमा निर्माण गर्न लागिएको आयोजनाको पहिलो प्याकेजमा सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणको काम हुनेछ । दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनको निर्माण हुने कम्पनीले जनाएको छ ।

आयोजनाको दोस्रो प्याकेजअन्तर्गत इलेक्ट्रेमेकानिकल र प्रसारणलाइन निर्माणका लागि यो सम्झौता लगत्तै ठेक्का आह्वान तयारी गरेको प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी दिए । प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनीले २०७९ साउन ९ (जुलाई २५, २०२२०) गते आयोजना निर्माण गर्न इच्छुक विदेशी कम्पनीका लागि प्रस्ताव आह्वान गरेकोमा सिनो हाइड्रो कर्पाेरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कर्पाेरेसन सर्टलिस्तमा छनोट भएका थिए । त्यसबेला आर्थिक प्रस्ताव उच्च भएको भन्दै ठेक्का रोकेर पुन: आह्वान गर्दा एक वर्ष ढिला भएको छ ।

आयोजनाका सम्पूर्ण संरचना विगू गाउँपाकिकामा निर्माण हुनेछ । सिनो हाइड्रोले माथिल्लो तामाकोसी र कुलेखानी तेस्रोको निर्माण गरेको छ भने तनहुँ जलाशययुक्त आयोजनाको विद्युतगृहको समेत काम गर्दै आएको छ । पछिल्लो समय अलपत्र मेलम्ची खानेपानी आयोजनाको काम पूरा गरेको हो । कुल २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी हुनेछ ।

स्वपुँजीमध्ये प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण नागरिकको ३२ प्रतिशत लगानी रहने गरी लगानीको मोडल तयार गरिएको छ । आयोजनामा कर्मचारी सञ्चय कोषले १३.७४ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । कोषसँग गत जेठ ७ गते सम्झौता भएको थियो । आयोजनाको अहिले आवास निर्माणको काम भइरहेको छ । आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम भने अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्