Logo

कार्यसम्पादनमा रुवीभ्याली कमजोर

धादिङ– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन तथा मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रदेश सरकारको कार्यसम्पादन तथा मूल्यांकन १० वटा सूचांकको ९० अंकभार राखेर नतिजा सार्वजनिक गरेको हो ।

धादिङ जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी अंक नेत्रावती डवजोङ गाउँपालिकाले ४८ दशमलव ७१ प्राप्त गरेकोे छ । यसैगरी सिद्धलेक गाउँपालिकाले ४८ दशमलव ६० अंक र नीलकण्ठ नगरपालिका ४४ अंक प्राप्त गरेको छ । गंगाजमुना गाउँपालिकाले ३५ दशमलव ९६ अंक, बेनिघाट रोराङ गाउँपालिकाले ३३ दशमलव ०३ अंक, त्रिपुरासुन्दरी गाउँपालिकाले ३२ दशमलव ८९ अंक, खनियाबास गाउँपालिकाले ३२ दशमलव ३९ अंक प्राप्त गरेको छ ।

यसैगरी ज्वालामुखी गाउँपालिकाले २८ दशमलव २५ अंक, थाक्रे गाउँपालिका २६ दशमलव ६७ अंक, गजुरी गाउँपालिकाले २६ दशमलव १८ अंक, धुनिबेशी नगरपालिकाले २५ दशमलव ८८ अंक, गल्छी गाउँपालिका २४ दशमलव ७७ अंक र रुवीभ्याली गाउँपालिका २३ दशमलव ६५ अंक प्राप्त गरेको छ ।

स्थानीय तहले असार १० भित्र बजेट ल्याए/नल्याएको, असार मसान्तभित्र बजेट स्वीकृत गरे नगरेको, खर्च, बेरुजु, लेखा परीक्षणले औंल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरेन/गरेको, राजस्वको विभाजन गरे/नगरेको लगायतका सूचकमा कार्यसम्पादन मूल्यांकन हुनेगर्छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्यांकन गरी नतिजा प्रकाशित गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्