Logo

कर्णालीका दुर्ई पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण हुँदै

सुर्खेत– कर्णालीका दुई जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउन संघ र प्रदेश सरकारको लगानीमा काम सुरु हुने भएको छ । डोल्पा र हुम्लामा रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्र व्यवस्थित गर्न बजेट विनियोजन भई डिपिआर बनाउन ठेक्का खोल्ने काम सुरु भएको छ ।

हुम्लास्थित मानसरोवर प्रवेशद्वार नमुना एकीकृत पूर्वाधार कार्यक्रम सुरु गरेर कामको थालनी भएको हो । प्रदेश सरकारको नौ करोड र संघीय सरकारको नौ करोड बजेटमा पूर्वाधार निर्माणको काम सुरु हुन लागेको हो । सिमकोट गाउँपालिका–५ र ६ तथा खार्पूनाथ गाउँपालिका–५ मा पर्यटन पूर्वाधार निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैशीले बताए ।

दस किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रे गरिनेछ । यसैगरी तीन वटा विद्यालय भवन निर्माण, खार्पुनाथमा रहेको शिव मन्दिरको समेत स्तरोन्नति गरिने जैशीले जानकारी दिए । उनका अनुसार संघ र प्रदेश सरकारको संयुक्त लगानीमा पर्यटन पूर्वाधारका काम अघि बढाइएको हो । यो वर्ष १८ करोड बजेट विनियोजन भएको छ ।

उत्ता पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख नविन थापाका अनुसार अध्ययनका लागि बोलपत्र आह्वान गरेर मूल्यांकन गरि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा पठाइएको छ । मन्त्रालयबाट स्वीकृत भएपछि मात्र डिपिआरको काम सुरु हुने उनको भनाइ छ । उपल्लो डोल्पामा पर्ने फोक्सुण्डो तालको किनाराको बस्ती विकास गर्न संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माण हुने उनले बताए । शे–फोक्सुण्डो गाउँपालिका–७ र ८ का बस्ती एकीकृत गरेर बस्ती विकास गर्न लागिएको हो ।

चालु आर्थिक वर्षबाट सुरुवात हुने सो परियोजनाका लागि ४० करोड लाग्ने बताइएको छ । प्रदेशकै गौरवको रुपमा रहेको फोक्सुण्डो तालको संरक्षण र प्रवद्र्धनका लागि तालको किनाराका बस्ती विकास गर्न लागिएको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य बीरबहादुर शाहीले बताए । उनका अनुसार फोक्सुण्डो ताल किनाराको ‘रिंग्मो बस्ती विकास’ कार्यक्रम सञ्चालन गरेर काम अघि बढाइएको छ ।

पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले पाँच करोड विनियोजन गरेको उनले बताए । स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको उनले जानकारी दिए । ‘फोक्सुण्डो तालको अवलोकनमा गएका पर्यटकले धेरै सास्ती पाउने गरेका छन्’ पूर्वमन्त्री शाहीले भने, ‘तालको दक्षिणी छेउमा रहेको रिंग्मो गाउँमा आवश्यक पूर्वाधार निर्माण गरेर व्यवस्थित गर्न लागिएको हो ।’
प्रदेश सरकारको पाँच करोड र संघीय सरकारको पाँच करोड गरेर दश करोड लगानीमा यो वर्ष बस्ती विकासको काम थालिएको छ ।

तालको संरक्षण गर्ने, धार्मिक महत्वका संरचना निर्माण गर्ने, रिंग्मो गाउँलाई एकीकृत रूपमा विकास गर्ने कार्यक्रम रहेको प्रमुख थापाले जनाए । बहुवर्षीय योजना भएकाले अहिले प्रि–फिजिबिलिटी अध्ययन भइरहेको छ । पहिलो चरणको काम धमाधम भइरहेको थापाले बताए । उनका अनुसार ताल हेर्न आउने पर्यटक रिंग्मो बस्तीमा बस्छन् । अहिले उक्त बस्तीलाई आवश्यक पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन थालिएको हो ।

वरिपरि पहाड र बीचमा फोक्सुण्डो ताल रहेको छ । डोल्पाको फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । डोल्पा जिल्ला सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा रहेको तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । गहिराइ ६५० मिटर छ ।

तालको दक्षिणी छेउमा रिंग्मो गाउँ छ । जुन गाँउमा पर्यटकको आतिथ्यताका लागि होटल तथा लजहरू रहेका छन् । प्रदेश र संघीय सरकारले रिंग्मो गाउँलाई आवश्यक पूर्वाधार निर्माण गरेर बस्ती विकास गर्ने लक्ष्य अनुरूप काम अघि बढाएको छ । पूर्वाधार निर्माण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै समावेश गरेर काम अघि बढाइएको हो ।

पहिलो वर्ष दस करोड बजेट विनियोजन भएको छ । सोही क्षेत्र नजिकै १२ वर्षमा १ पटक लाग्ने शे मेलासमेत लाग्ने भएको छ । अर्को वर्ष शे मेला लगाउका लागि स्थानीय तह सक्रिय रहेको छ । शे फोक्सुण्डो गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमा लाग्ने मेलामा स्वदेश तथा विदेशबाट पाहुनाहरू आउने अपेक्षा आयोजकले गरेका छन् ।

शे फोक्सुण्डो गाउँपालिकाको मुख्य आयोजनामा हुने यो मेलाको सह आयोजकमा डोल्पो बुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिका रहेका छन् । डोल्पाका अन्य सबै छिमेकी स्थानीय तहहरुसँग समेत मेला सफल रुपमा सम्पन्न गर्न सहकार्य गरिने शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष तथा मेलाको मुख्य संयोजक धावा सम्डुक गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्