Logo

तुलसीपुर एयरपोर्टको डीपीआर तयार गरिँदै

दाङ– तुलसीपुर एयरपोर्ट विस्तारका लागि डीपीआरको काम अन्तिम चरणमा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित अन्य प्राविधिक टोलीले डीपीआरको काम गरेको हो । डीपीआरको काम केही दिनमा सकिने तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिइन् ।

‘फिल्डमा काम सकेर अन्य काम भइरहेको छ केही दिनमा डीपीआरको काम सकिन्छ भन्नु भएको छ,’ उपप्रमुख चौधरीले भनिन् । डीपीआरका लागि नेपाल नागरिक उडयन प्राधिकरणको प्राविधिक टोलीसँगै ६ जनाले काम गरिरहेको उनको भनाइ छ । प्राविधिक टोलीले तीन दिनसम्म लगाएर फिल्डमा काम गरेको छ । अहिले फिल्डको काम सकेर अन्तिम तयारीमा लागेको उपप्रमुख चौधरीले बताइन् ।

डीपीआरको काम सकिएपछि प्रधानमन्त्री तथा मन्त्री यस क्षेत्रका जनप्रतिनिधि प्राविधिक टोलीसहित बसेर यसका बारेमा जानकारी गराइने छ । सबैलाई यसका बारेमा जानकारी गराउन सकेमा बजेट विनियोजन गर्न पनि सहज हुने अपेक्षा गरिएको छ । ‘अहिले डीपीआर गर्नेका लागि खटिएको प्राविधिक टोली सकारात्मक नै रहेको पाएका छौं,’ उपप्रमुख चौधरीले भनिन् । कहिले निर्माण भइरहेकोे डीपीआरमा १९ सय मिटरको धावनमार्ग बनाउने प्रस्ताव गरिएको छ ।

जसका लागि दुई अर्ब बजेटमा निर्माण गर्ने सक्ने गरी डीपीआर निर्माणको काम भइरहेको उपप्रमुख चौधरी बताउँछिन् । डीपीआर तयार भएपछि बजेटका लागि अगाडि बढ्ने उनको भनाइ छ । ‘आउँदो आर्थिक वर्षमा बजेट विनियोजन गरी सबै मिलेर अगाडि बढ्ने छौं,’ उपप्रमुख चौधरीले भनिन् । यसमा सबैको सहयोग रहनेसमेत उनले बताइन् । यसअघि पनि धेरै पटक डीपीआरको गर्ने काम भएको थियो । तर काम अगाडि बढ्न सकेको छैन ।

‘मैले धेरै पटक आफ्नो व्यक्तिगत खर्चमा समेत डीपीआर बनाउने काम गरें,’ उनले भनिन्, ‘पैसा धेरै खर्च भइसकेको छ काम हुन सकेको छैन तर पनि भेटघाट छलफललाई निरन्तरता दिँदै आएकी छु ।’ सबै एकताबद्ध हुन नसक्दा पुरानो एयरपोर्ट सञ्चालनमा समस्या रहेको उनको भनाइ छ । ‘सबै क्षेत्र एक भएमा एयरपोर्ट सञ्चालनमा ल्याउन सकिन्छ,’ उपप्रमुख चौधरीले भनिन् । जिल्लामा एयरपोर्ट नहुँदा बाहिरी जिल्ला गएर जहाज चढ्नसमेत लाज लाग्ने गरेको उनी बताउँछिन् ।

इन्जिनियर प्रा.डा. गोविन्दप्रसाद लामिछानेले तुलसीपुरमा रहेको एयरपोर्ट विस्तार गर्न प्राविधिक रूपमा कुनै समस्या नरहेको बताउँछन् । आफूले गरेको अध्ययनअनुसार कुनै समस्या नदेखिएको उनको भनाइ छ । एयरपोर्ट निर्माणका लागि इच्छाशक्ति आवश्यक रहेको उनको भनाइ छ । ‘इच्छाशक्ति भएमा एयरपोर्ट विस्तार र सञ्चालनमा कुनै समस्या छैन,’ लामिछानेले भने । प्राविधिक रूपमा काम गर्नका लागि आफू तयार रहेको समेत उनले बताउँदै आएका छन् ।

अहिले डीपीआर तयार गर्नका लागि समेत उनले काम गर्दै आएका छन् । सबै एकबद्ध भई अगाडि बढ्नसमेत उनको आग्रह छ । जिल्लाका सरोकारवाला एकताबद्ध भएर लागेमा आफू सहयोग गर्न तयार रहेको उनी बताउँछन् । वि.सं २०११ मा टरीगाउँ एयरपोर्टस्थल सञ्चालनमा आएको हो । पुरानो एयरपोर्ट भए पनि कहिले सञ्चालन हुने कहिले बन्द हुने गर्दै आएको छ । एयरपोर्ट विकासका लागि राजनीतिक दलले हरेक निर्वाचनमा चुनावी एजेण्डा बनाउँदै आएका छन् ।

तर यसको विस्तार तथा नियमित रूपमा सञ्चालनका लागि पहल हुन सकेको छैन । निजी क्षेत्रको पहलमा पटकपटक सञ्चालनमा आउने र बन्द हुने भइरहेको छ । निजी क्षेत्रले एयरपोर्ट सञ्चालनका लागि दबाब दिनका लागि धावनमार्ग विस्तारका लागि खुक्रुके अभियानसमेत सञ्चालन गरेका थिए भने जिल्लामा रहेका सामाजिक संघ संस्थाले दबाब दिनका लागि एयरपोर्टमा नै गएर बैठक बस्ने ध्यानाकर्षण गराउने कार्य गर्दै आएका छन् । जिल्लामा एयरपोर्ट नियमित सञ्चालन नहुँदा जिल्लाको विकासमा समेत असर पुगेको निजी क्षेत्रका अगुवा बताउँछन् ।

नियमित हवाइसेवा भएमा जिल्लाको विकासमा धेरै ठूलो सहयोग पुग्ने स्थानीय नागरिक बताउँछन् । सहज रूपमा जिल्लामा आउने वातावरण नहुँदा लगानीकर्ता समेत यहाँसम्म नआउने गरेको उनीहरूको भनाइ छ । जिल्लामा हवाइसेवा नहुँदा नेपालगन्ज तथा भैरहवा गएर हवाइसेवा लिनुपर्ने बाध्यता छ । यसले नागरिकलाई समयसँगै आर्थिक रूपमा समेत बढी खर्च हुने गरेको छ । केही समय अघि तथा नियमित हवाइसेवा तथा धावनमार्ग विस्तारको माग गदै जिल्लाका जनप्रतिनिधि तथा निजी क्षेत्रका अगुवा काठमाडौं पुगेका थिए ।

काठमाडौं पुगेको जनप्रतिनिधि तथा निजी क्षेत्रका अगुवासहितको टोलीले मन्त्री तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा राजनीतिक नेतृत्वसँग भेटघाट तथा छलफल गरेका थिए । भेटघाटका क्रममा उनीहरू तुलसीपुरमा रहेको एयरपोर्ट विस्तार तथा नियमित सञ्चालनका बारेमा सकारात्मक रहेको उपप्रमुख चौधरीले बताइन् । सबैको सहयोग भएमा तत्काल ठेक्का आह्वान गरेर दुई वर्षभित्र काम गर्न सकिने उनको भनाइ छ । ‘सबैको सहयोग भएर काम सुरु भएमा दुई वर्षमा सञ्चालन गर्न सकिने छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्