बैंक खुल्दा स्थानीयमा खुसियाली

अर्घाखाँची जिल्लाको सदरमुकाममा दजनौ बैंकहरू स्थापना भई कारोबार गरिरहेका छन् । सन्धिखर्कपछिको जिल्लाको दोस्रो बजार क्षेत्र भएको शितगंगा नगरपालिकाको ठाडामा स्थानीय तहको संरचना हुनुभन्दा पहिले नै बैंकहरूको स्थापना भएको थियो ।
ठाडामा राष्ट्रिय वाणिज्य बैंक, साइन रेसुङ्गा डेभलपमेन्टलगायतका बैंकहरू स्थापना भएका छन् । “शितगंगा नगरपालिकाका बासिन्दाहरू बैंकको काम गर्न सदरमुकाम सन्धिखर्क आउनु पर्दैन, बैंकहरूको सबै काम ठाडाबाट नै हुन्छ,” सुवर्णखालका चिरञ्जीवी बेल्वासेले बताए । “शितगंगा नगरपालिकामा हुने सरकारी योजनाका सबै काम यहीँबाट हुन्छ सन्धिखर्क जानुपर्दैन” नगरप्रमुख सूर्यप्रसाद अधिकारीले भने, “जनतालाई सहज हुनेगरी काम गर्दै छौं ।”
छत्रदेव गाउँपालिकामा नेपाल बङ्गलादेश बैंकको स्थापना स्थानीय तहको निर्वाचनपछि भयो । छत्रगन्जमा बैंकको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले यसको उद्घाटन गरे । बैंक खुलेसँगै सदरमुकामको सबै सुविधा गाउँमै पाइने भयो भनेर स्थानीयमा खुसी भए । गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल भन्छन्, “अहिलेसम्म गाउँपालिकाबाट हुने बैंकको काम गर्न सन्धिखर्क जानुपरेको थियो, अब राष्ट्र बैंकको स्वीकृत आएपछि यहींबाट सबै काम हुन्छ, सन्धिखर्क धाइरहनु पर्दैन ।”
पाणिनी गाउँपालिकाको पोखराथोकमा जनता बैंकको स्थापना भएको छ । खिदिम, पणेना, पोखराथोक, पटौटीलगायतका बासिन्दा बैंकको काम गर्न पोखराथोक जान्छन् । “गाउँमा ब्याज लगाउँदा पैसा नउठ्न सक्छ, गाउँको ब्याजभन्दा बैंकमा सुरक्षित भएको महसुस हुन्छ,” यहाँका बासिन्दा भन्छन् । पाणिनी गाउँपालिकाका नायव सुव्बा रामकुमार भट्टराई भन्छन्, “बैंकको काम गर्न अहिलेसम्म सन्धिखर्क नै जानुपरेको छ, पोखराथोकमा रहेको जनता बैंक दुर्गाफाँटमा ल्याउने गरी तयारी भएको छ, दुर्गाफाँट खुलेसँगै जनताबाटै काम हुन्छ ।”
मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य भन्छन्, “खनदहमा साइन रेसुङ्गा बैंक स्थापना भएको छ, गाउँपालिकालाई काम गर्न मेगा बैंकको अनुमति छ । अहिले सन्धिखर्कको मेगा बैंकबाट गाउँपालिकाको काम भइरहेको छ । चैत्रसम्ममा गाउँपालिकामा नै बैंक सञ्चालनमा ल्याई कारोबार हुन्छ ।”
जिल्लाका ६ स्थानीय तहमा बैंकहरू भए पनि भूमिकास्थानमा अहिलेसम्म कुनै बैंकको शाखा छैन। सन्धिखर्क नगरपालिकासँग नजिकै रहेको भूमिकास्थानमा सहकारीहरू भने सञ्चालनमा छन् ।
छत्रदेवको ठुलपोखरा, बल्कोट र सन्धिखर्कको वाङ्गलामा ग्लोबल आईएमई बैंकले शाखारहित कार्यालयको स्थापना गरी कारोबार गरिरहेको सन्धिखर्क शाखा प्रमुख सुष्मा गिरीले बताइन् ।
वाङ्गलाका ८६ वर्षीय बलाराम बन्जाडे ग्लोबल आईएमई शाखारहित सेवा खुल्दा हर्षित भए । ‘सामाजिक सुरक्षा भत्ता लिन सन्धिखर्क जानुपर्नेमा घरको दैलोबाटै बुभ्mन छिटो पाउने गरी वडा अध्यक्षको ध्यान जानुपर्छ,” बन्जाडेले भने ।
वृद्धभत्ता बुझदै आइरहेका वाङ्गलाकै ७६ वर्षीय रेमलाल पाण्डे भन्छन्, “सन्धिखर्क जाँदा कहिले गाडी पाइँदैन, भत्ता लिन जान एकजना सहयोगी चाहिन्छ बैंक खुल्दा खुसी छु।”
हिंड्न नसकेर वृद्धभत्ता लिन नगएका टेकबहादुर रायमाझीले गाउँमा बैंक आउला भनी सोचेका थिएनन् तर बैंक खुल्दा उनी हर्षित छन् । उनी खुसी व्यक्त गर्दै भन्छन्, “सबै वाङ्गलावासी अत्यन्तै हर्षित छौं, हिड्न नसकेर वृद्धभत्ता लिन डोकामा बोकिएर पनि सन्धिखर्क पुग्नुपर्छ, अब यहीँबाट वृद्धभत्ता दिने व्यवस्था छिटो मिलाइयोस् ।”
वाङ्गलाका वडा अध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ र राजेन्द्र भुसालले बैंक स्थापना भएसँगै वडाबाटै सामाजिक सुरक्षा भत्ता दिने विश्वास दिलाए । उनीहरूले बैंक र नगरपालिकासँग सहकार्य गरेर भत्ता वडाबाटै दिने व्यवस्था मिलाउने बताए ।
–घनश्याम पौडेल