मन्दिर नबन्दै पर्यटक बढे

धादिङ– धादिङको पुरानो सदरमुकाम सुनौला बजार नजिक रहेको भैरवी मन्दिर निर्माण नसक्दै धार्मिक पर्यटकको चहलपहल बढेको छ । पहाडको चुचुरोमा कहाली लाग्दो भिरको केही समथर भागमा मन्दिर रहेको छ । मन्दिर प्रवेश गर्ने बाटोमा चिटिक्क परेका सिँढी बनाइएको छ । उनै भैरवीको दर्शन गरी फोटो किचेर सामाजिक सञ्जालमा पोस्ट गर्न आन्तरिक पर्यटकहरू बढेका हुन् ।
जिल्ला सदरमुकाम समेत रहेको नीलकण्ठ नगरपालिका– ६ सुनौला बजारमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको भैरवी मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा रहेको छ । मन्दिर परिसरबाट गणेश हिमाल, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत हिमश्रृखलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । हिमाललाई पृष्ठभुमिमा राखेर भैरवीसँग फोटो खिच्न सकिने भएकाले मन्दिरमा धार्मिक पर्यटकका रूपमा मानिसहरूकोे निकै ठूलो घुइँचो लाग्न थालेका छ ।
मन्दिरका पुजारी भगवान राना मगरका अनुसार राम शाहले १६६६ मा स्थापना गरेको आठ शक्ति पीठमध्ये भैरवी मन्दिर एक भएको शाहले स्थापना गरेको लालमोहरमा लेखिएको छ । भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले मन्दिरको इतिहास नेपालको एकीकरणसँग जोडिएको बताए । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा वास बसी भाकल गरेका थिए ।
भाकलपछि नुवाकोट जितेको भनाइ छ । मन्दिरमा पूजासहित बडा दसैँ र चैते दसैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बली चढाउने परम्परा रही आएको छ । ‘मन्दिर पुग्न सदरमुकामबाट ८ किमि पिच र १० किमी कच्ची गरी १८ किलोमिटरको यात्रापछि पुग्न सकिन्छ । सवारी साधनबाट मात्र नभई हाइकिङ गर्नेहरू पनि मन्दिर आइपुग्ने गरेको श्रेष्ठ बताउँछन् । २०७२ को भूकम्पले मन्दिर भत्किएपछि अहिले पुनर्निर्माण भइरहेको छ ।
२०७६ फागुन २३ गते मन्दिरको शिलान्यास गरिएको हो । १३ करोडको डिपिआर गरेर निर्माण कार्य सुरु गरिएको मन्दिर चार करोड रुपैयाँ बराबरको खर्चले पुनर्निर्माण भइरहेको गुठीका अध्यक्ष श्रेष्ठले बताए । नीलकण्ठ नगरपालिकाले पर्यटन प्रवर्द्धनमा विशेष प्राथमिकता दिएको नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताए । मन्दिरको पुनर्निर्माणमा नगरपालिकाले सहयोग गरिरहेको छ । मन्दिर जाने सडक निर्माण, मन्दिर वरिपरी पार्क बनाउने तयारी भइरहेको छ ।
होमस्टे सञ्चालन तथा विकासका लागि पनि प्रदेश सरकारसँग समन्वय भैरहेको विकले बताए । मन्दिरले वडा नगरपालिकाको मात्र चिनारी नभइ जिल्ला तहमै यसले ठूलो महत्व बोकेको नीलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष भुपेन्द्रकुमार श्रेष्ठले बताए । ‘प्रचारप्रसारमा लागिरेहका छौं । ठूलो रकमको डिपिआर भएकोले पुनर्निर्माणको काममा ढिलाइ भएको हो । तर भैरवी मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि पर्यटन प्रवर्द्धन र जिल्लाकै चिनारी हुने अपेक्षा गरेका छौं,’ वडा अध्यक्ष श्रेष्ठले भने ।
मन्दिर आइपुग्नेहरू धार्मिक महत्वका साथै प्राकृतिक सुन्दरताले पनि लोभिने गरेको नीलकण्ठ –७ का कार्यवाहक वडाअध्यक्ष युवराज पोखरेलले बताए । ऐतिहासिक महत्व बोकेको भैरवी मन्दिरको प्रचारप्रसार हुन सके जिल्लामा मात्र नभइ राष्ट्रिय स्तरमै पहिचान हुने वडा अध्यक्ष पोख्रेल बताउँछन् । पछिल्लो समय आन्तरिक रूपमा घुमफिर गर्ने वानीको विकास भएको छ ।
अझ धार्मिक पर्यटनका हिसाबले विकास हुने मन्दिर सवै उमेर समूहका मानिसहरूका लागि हुने भएकाले धर्मावलम्वी तथा पर्यटकलाई सुनौला बजारमा बसोवासको प्रवन्ध गर्ने हो भने जिल्लाको पुरानो तथा ऐतिहासिक सदरमुकाको बारेमा जानकारी हुने अपेक्षा गरिएको छ । धर्मावलम्वी तथा पर्यटकलाई बसाउन स्थानीयको लगानीमा होमस्टे कार्यक्रम सञ्चालन गर्नु उपयुक्त हुन सक्छ । यस्तो गरिएमा पुरानो सदरमुकामको साख समेत जोगिने र त्यहाँ बसोवास गरिरहेका स्थानीयको रोजगारी तथा आर्य आर्जनको बाटो खुल्ने बताइएको छ ।