Logo

सुस्त अर्थतन्त्र र आयातको अवस्था

गत वर्षदेखि सुस्ताउन सुरु गरेको वैदेशिक व्यापारमा अझै चमक देखिएको छैन । चालु आर्थिक वर्षको सातौं महिनामा आउँदा पनि वैदेशिक व्यापार उस्तै छ । आयात र निर्यात दुवै घटेका छन् । आयातमा कमीका कारण व्यापार घाटा पनि केही घटेको छ । भन्सार विभागले गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको माघसम्म आइपुग्दा कुल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब रुपैयाँको भएको छ । यसमध्ये आयात ८ खर्ब ९७ अर्ब र निर्यातको हिस्सा ८६ अर्ब ८३ करोड छ । माघसम्ममा व्यापारघाटा ८ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ ।

यो तथ्यांकलाई गत वर्षसँग तुलना गर्दा कुल वैदेशिक व्यापार २.७५ प्रतिशतले खुम्चिएको छ । यस्तै आयात २.३१ र निर्यात ७.०७ प्रतिशतले घटेको छ भने व्यापारघाटा १.७७ प्रतिशतले कमी आएको छ । गत वर्ष कुल व्यापारमा निर्यातको हिस्सा ९.२३ प्रतिशत रहेकोमा यो वर्ष ८.८२ प्रतिशतमा झरेको छ । पछिल्लो माघ महिनालाई मात्र हेर्ने हो भने १ खर्ब २९ अर्बको आयात हुँदा ११ अर्बको निर्यात व्यापार भएको छ । विगतमा उच्च आयात हुँदा मुलुकका लागि टाउको दुखाइ बन्दै आएको हो ।

निर्यात खासै बढ्न नसक्ने तर आयात चुलिँदा प्रश्न मात्रै उठ्ने गरेको थियो । दुई वर्षअघि सम्हाल्न नसक्ने गरी आयात बढ्दा मुलुकको विदेशी विनिमय सञ्चिति नै तल्लो अवस्थामा पुगेको थियो । त्यही बेला श्रीलंकामा विदेशी मुद्राको सञ्चिति रित्तिएपछि ठूलो संकट आयो । आमजनता सडकमा उत्रिए । सत्तामा रहेको राजनीतिक दल र तिनका नेताहरूको भागाभाग भयो । सरकार परिवर्तन भयो । आयात चुलिँदै जाने र विदेशी विनिमय घट्दै जाँदा श्रीलंकाको त्यस्तै समस्या नेपालमा पनि आउँछ कि भन्ने बहसहरू भए ।

त्यस्तो समस्या आउन नदिन सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगायो । फलस्वरूप आयात क्रमश: कम हुँदै गयो र विदेशी विनिमय सञ्चिति पनि बढ्दै गयो । आयात उच्च भएर समस्या आएको दुई वर्षपछि अहिले फेरि अवस्था ठीक उल्टो बनेको छ । आयातमा निरन्तर कमी आइरहेको छ । रेमिटेन्स बढ्दो क्रममा छ भने इतिहासमै सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिति पुगेको छ । सरकारले अहिले आयात बढोस् भन्ने चाहना राख्दा पनि बढ्न सकेको छैन ।

आयातमा आइरहेको संकुचनकै कारण सरकारी राजस्व बढ्न सकेको छैन । गत वर्ष राजस्व असुलीदर इतिहासमै सबैभन्दा कमजोर रह्यो । अघिल्लो वर्षजति पनि राजस्व उठ्न सकेन । यो वर्ष गत वर्षको तुलनामा ७–८ प्रतिशतका दरले मात्र राजस्व बढेको छ, जुन सरकारले राखेको लक्ष्यको ज्यादै थोरै हो । राजस्व नबढ्दा सरकार वित्त व्यवस्थापन गर्न समस्या परेको छ । आयात कम हुनुको अर्को अर्थ आन्तरिक बजार अझै संकुचनमा छ भन्ने हो । हाम्रो आफ्नो आन्तरिक उत्पादन धेरै छैन । आयात कम भएको अहिले आन्तरिक उत्पादन बढेर होइन ।

मुलुकभित्रका उद्योग कुल क्षमताको २० देखि ५० प्रतिशत मात्र चलेका छन् । अधिकांश वस्तु आयातमै निर्भर भएका बेला आयात कम हुनु भनेको बजारमा माग नहुनु हो । अहिलेको मूल समस्या बजारको माग कसरी बढाउने भन्ने हो । जबसम्म माग बढ्दैन त्यस बेलासम्म न आयात बढ्छ न त आन्तरिक उत्पादन नै । माग बढाउन आमजनतासँग पैसा पुग्नुपर्छ । यसका लागि उनीहरूलाई रोजगारीको आवश्यकता पर्छ । सरकारले खर्च बढाउने र निजी क्षेत्रले लगानी थप गरे मात्र रोजगारीका अवसर सिर्जना हुन्छन् । अहिले सरकार र निजी क्षेत्र त्यसैमा चुकेको छ ।

सरकारले खर्च बढाउन सकेको छैन भने निजी क्षेत्रले पनि नयाँ लगानीमा रुचि देखाएको छैन । अहिलेको समस्यालाई पार लगाउने हो भने सरकार र निजी क्षेत्र दुवैले मिलेर काम गर्नुको विकल्प छैन । सरकारले पुँजीगत खर्च बढाउन जोड दिनुपर्छ भने निजी क्षेत्रले केही जोखिम मोलेर भए पनि नयाँ लगानी गर्न सुरु गर्नुपर्छ । नत्र रोजगारीका नयाँ अवसर सिर्जना नहुने, जनतासँग पैसा नपुग्ने र अर्थतन्त्र सुस्त रहिरहने हुनेछ । यस्तोमा आयात बढ्ने कल्पना गर्न पनि सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्