दसैंमा बजार अनुगमनमा आफैं निस्किन्छु : मन्त्री खनाल

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले दसैंमा मासुको कुनै अभाव नहुने बताएका छन् । मन्त्री खनालले दसैंमा देशभरि कतैपनि मासुको अभाव नहुने स्पष्ट पारेका हुन् ।
उनले भने, ‘काठमाडौं उपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यकत्ता हो, ४० हजार खसी बोका आउने भइसके । अब हामीलाई पर्याप्त हुन्छ । मासुको कुनै अभाव हुँदैन् ।’ दसैं सुरु भएकोले सरकारले बजारमा अनुगमन बढाएको पनि उनले बताए । चाडपर्व सुरु भएसँगै आपुर्तिमा असहजता भएको, व्यापारीको मनोमानी बढेको भन्ने गुनासो आएकोले कृषि मन्त्रालय र आपूर्ति मन्त्रालयले संयुक्त अनुगमन सुरु गरेको पनि उनको भनाइ छ । उनले भने, ‘आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियमित अनुगमन गरिरहेको छ ।’
मन्त्री खनालले मासुमा नेपाल आत्मनिर्भर हुने अवस्थामा रहेको बताए । उनले भने, ‘हामीले आफ्नै उत्पादनले ७५ प्रतिशतसम्म धान्न सक्छौं । कुखुरामा आत्मनिर्भर छौं ।’ खसी, बोकाको मासुमा आत्मनिर्भर बन्नको लागि मन्त्रालयले यसपटक जोन, सुपरजोन चलाउने, लाईभ स्टक ईनोभेसनमा पनि खसी, बोका उत्पादन र कृषिमा युवा कार्यक्रम गरेर तीन वटा कार्यक्रम सुरु गरेको उनले बताए । आगामी तीन वर्षभित्र नेपाल खसी, बोकामा पनि आत्मनिर्भर हुने उनको दाबी छ ।
आफूहरुले बजार अनुगमनको कामलाई तिव्रताका साथ अघि बढाइएको बताउँदै मन्त्री खनालले केही मिठाई पसलले गुणस्तरहीन सामान बेच्ने गरेकोले गुणस्तरीयता कायम गर्न कडा निर्देशन दिएको जानकारी दिए ।