४२५ युवा इजरायल जाँदै
काठमाडौं– इजरायलका वृद्धाश्रममा सहायक कामदारका रुपमा काम गर्न ४२५ नेपाली युवा जान पाउने भएका छन् । छनोटका क्रममा रोकिएका यी युवासँग अहिले श्रमसम्झौता गर्न सुरु भएको छ ।
सम्झौतापछि युवा इजरायल जान पाउनेछन् । विभिन्न वृद्धाश्रममा काम गर्न युवा छनोटमा परेर पनि एक वर्षसम्म जान पाएका थिएनन् । यी युवा यसअघि इजरायल जान छनोट भएका तर लट्रीमा नपरेका हुन् । विगतमा रोकिएका ४२५ युवालाई पुनः छनोट गरेर पठाउन सुरु गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका जिटुजी शाखा निर्देशक गोपालराज तिमिल्सिनाले ४२५ मध्ये ३ हप्ताभित्र २५२ जनाको श्रमसम्झौता गर्ने इजरायली योजना रहेको बताए । विगत दुई वर्षदेखि इजरायलले अन्य देशको तुलनामा नेपाली युवालाई छनोट गर्ने क्रम बढेको छ । निर्देशक तिमिल्सिनाले पछिल्लो समय इजरायल नेपाली लैजान सकारात्मक हुँदै गएको जनाउँदै सोहीअनुसार नेपालले तयारी गरेको बताए । इजरायल र हमासबीचको द्वन्द्व कम हुँदै गएपछि सुरक्षित स्थानमा नेपाली पठाउने गरी प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ ।
छनोट भएर पनि लट्रीमा फालिएका युवाले अनुरोध गरेपछि इजरायली पक्षसँग छलफल गरेर ४२५ जनालाई पठाउने तयारी गरिएको हो । दुई वर्षअघि भाषा परीक्षा र अन्तर्वार्तामा छनोट भएर पनि लट्रीमा नपरेकालाई अब पठाउने तयारी भइरहेको भन्दै विभागले आइतबार ११ जनाको श्रमसम्झौताको सूचना सार्वजनिक गरेको छ । यसका लागि विभागले मोबाइलमा भिसालगायत प्रक्रियाको जानकारी दिनेछ । हाल बाँकी रहेका बाहेक यसअघि १ हजार १०५ सयभन्दा बढी इजरायल गइसकेका छन् ।
इजरायलले यसबाहेक थप ५०० नेपाली पठाउन अनुरोध गर्दै आएको छ । इजरायलबाट माग आएअनुसार ३ हप्तासम्म जाने कामदारको श्रमसम्झौता गरिनेछ । पछिल्लो समय इजरायलमा सरकारी तवरले जाने कामदारको अभाव भएपछि नेपालबाट थप केयरगिभर लैजाने आश्वासन दिँदै आएको छ । इजरायलको केयरगिभर क्षेत्र (बेताबोद) मा कार्यरत नेपालीका अनुसार कतिपय केयर सेन्टरमा जिटुजीमार्फत माग गरिँदै आएका केयरगिभरको अभाव देखिएको छ । इजरायलले युद्ध हुनुअघि नेपालबाट २ चरणमा १ हजार नेपाली केयरगिभर लैजाने आश्वासन दिएको थियो । त्यसमध्ये ४२५ को भने प्रक्रिया नै सुरु भएको छ ।
इजरायलस्थित नेपाली दूतावासले युद्धअघि तत्कालका लागि ५०० सय र थप ५०० लागि छलफल गर्ने जनाएको थियो । यसअघि नै पपुलेसन एण्ड इमिग्रेसन अथोरिटी (पिवा) सँगको छलफलमा नेपालबाट १ हजार केयरगिभर लैजानेबारे अनौपचारिक छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । तर, तेस्रो चरणमा माग गर्ने भनिएको ५ सयको बारेमा भने थप छलफल गरेपछि मात्र कोटा तय हुनेछ । घरायसी केयरगिभरको तुलनामा जिटुजीमार्फत जाने सस्ता भएका कारण त्यहाँका केयरगिभर सेन्टरले सरकारी माध्यममार्फत नै नेपाली युवा माग गर्दै आएका छन् ।
यसबाहेक दुई वर्ष अघिदेखि इजरायल गएर काम गर्ने नेपाली केयरगिभर १ हजार १ सयभन्दा बढी छन् । इजरायलस्थित नेपाली दूतावासले गत असोजमा नै नेपाललाई दिने केयरगिभर कोटाका सम्बन्धमा छलफल गरेको थियो । तर, तत्काल युद्धको अवस्था रहेका कारण प्रक्रिया रोकिएको थियो । नेपाली केयरगिभरको विषयलाई लिएर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले नेपाली पक्षसँग लगातार छलफल गर्दै आएका छन् । राजदूत गोडरले नेपालीहरु कामप्रति बफादार भएकोले इजरायली रोजगारदाता खुशी रहेको बताउँदै आएका छन् ।
आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल जाने श्रमिक बढेपछि त्यहाँबाट आउने रेमिटेन्स पनि बढेको छ । इजरायलबाट न्यून मात्रामा हुण्डीमार्फत पैसा नेपाल आउने गरेका कारण पनि इजरायल रेमिटेन्सका हिसाबले राम्रो श्रम गन्तव्य हो । इजरायलले थप नेपालीलाई रोजगारीको अवसर दिने प्रतिबद्धता जनाएपछि नेपाल सरकारले थप नेपाली पठाउनेबारे गृहकार्य सुरु गरिसकेको श्रम मन्त्रालयले जनाएको छ । इजरायल सरकारले वार्षिक रुपमा नेपाली श्रमिकको माग संख्या वृद्धि गर्दै लगेर नयाँ केयर सेन्टरमा रोजगारी दिने बताएको छ । हाल पहिलो चरणमा रोजगार सम्झौता बाँकी भएका सबै नेपाली युवा इजरायल प्रवेश गरिसकेका छन् ।
सन् २००९ सम्म मेनपावर कम्पनीबाट नै श्रमिक इजरायल रोजगारीमा जाने गरेको भए पनि मेनपावर कम्पनीले श्रमिकबाट चर्को सेवा शुल्क असुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । तीन वर्षअघि जिटुजीमार्फत नै केयरगिभर लैजाने गरी श्रमसम्झौता गरिएको थियो । नेपाल र इजरायलबीच २०७७ असोज १४ गते इजरायलको श्रम बजारमा नेपाली कामदारको रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि २०७७ माघमा दुई देशबीच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भएको थियो ।