Logo

प्रधानमन्त्रीले अचानक बोलाए निजी क्षेत्रलाई

निजी क्षेत्रका प्रतिनिधिहरुँग आइतबार भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले अचानक निजी क्षेत्रका प्रतिनिधिमूलक प्रमुख तीन संस्थाका पदाधिकारीलाई बोलाएर भेटेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल र नेपाल चेम्बर अर्फ कमर्सका अध्यक्ष राजेन्द्र मल्ललाई आइतबार प्रधानमन्त्री दाहालले बोलाएका हुन् ।

केही दिनदेखि विभिन्न क्षेत्रका पीडित राजधानीमा आएर प्रदर्शन र धर्ना बसेका छन् । अहिले काठमाडौंमा मुख्य रुपमा सहकारी, मिटरब्याजी, लघुवित्त पीडित र दूध किसान आन्दोलित बनेका छन् । सहरका विभिन्न भागमा दिनहुँ उनीहरुको प्रदर्शन र धर्ना छ । यी पीडितका पक्षमा सांसदहरुले संसद्मा पनि कुरा उठाएका छन् ।

यस्तो माहोल बनेका बेला प्रधानमन्त्री दाहालले निजी क्षेत्रका अगुवाहरुलाई अचानक भेट्न बोलाउनुलाई अर्थपूर्ण रुपले हेरिएको छ । भेटमा प्रधानमन्त्री दाहालले आफूले अर्थतन्त्र सुधारको पक्षमा काम गरिरहेको बताएका थिए । दाहालले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप आफूले काम गर्न पहल गरेको उनको दाबी थियो ।

त्यसक्रममा उनले देशको अर्थतन्त्रको अवस्थाप्रति आफू गम्भीर रहेको र यसको सुधारका पक्षमा सरकारले काम गरिरहेको बताएको तीनवटै संख्याले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीले देशमा व्यावसायिक वातावरण निर्माणका लागि सरकार लागिपरेको पनि बताए । अर्थतन्त्रमा समस्या देखिएपछि आफू प्रधानमन्त्री भएदेखि नै निजी क्षेत्रको सल्लाह र सुझावका आधारमा काम गरेको र अहिले पनि निजी क्षेत्रको परामर्शअनुसार अघि बढ्ने उनको भनाइ छ ।

निजी क्षेत्रका संस्थाका अध्यक्षहरुले भने देशमा व्यावसायिक वातावरण नभएको भन्दै वातावरण बनाउन आग्रह गरेका थिए । उनीहरुले प्रधानमन्त्रीसँग अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए । बाह्य क्षेत्र सुधार हुँदै गए पनि बजार चलायमान हुन नसक्दा अर्थतन्त्र अझै पनि जोखिममा रहेको तथा औसतमा उद्योगहरु ४० प्रतिशतभन्दा कम क्षमतामा चलिरहेको भन्दै उनीहरुले व्यावसायिक वातावरण निर्माण गर्न आग्रह गरे ।

‘कोभिडपछिको तीव्र विस्तार व्यवस्थापन गर्न नसक्दा यो समस्या आएको हो । मूलतः सरकार र अन्य नियामक निकायहरुको नीतिका कारण अर्थतन्त्रमा साना व्यवसायीबाट सुरु भएको समस्या बैंक–वित्तीय संस्थामा पुगिसकेको छ । बैंक वित्तीय संस्थापछि यसको असर सरकारको राजस्वमा समेत परिरहेकोमा निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको छ,’ निजी क्षेत्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकार समस्या समाधानका लागि तत्पर हुनुपर्ने महासंघका अध्यक्ष ढकालले बताए । ‘न्यून माग छ, निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण प्रतिकूल छ र आयोजना निर्वाध रुपमा चलाउन सकिएको छैन,’ ढकालले भने, ‘सरकार समस्या समाधानका लागि तत्पर हुनैपर्छ ।’

परिसंघ अध्यक्ष अग्रवालले व्यवसायीहरुलाई निर्वाध काम गर्ने वातावरण हुनुपर्ने धारणा राख्दै निजी क्षेत्रलाई हेर्ने अहिलेको अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । चेम्बर अध्यक्ष मल्लले घरजग्गा र सेयर कर्जामा रहेको जोखिम भारको व्यवस्थालाई एक सय प्रतिशतमा झार्नुपर्ने बताए । उनले भने, ‘अहिले एक सय २५ प्रतिशत जोखिम भार छ, यसलाई एक सय प्रतिशतमा घटाउन सके बजारमा माग बढ्छ ।’ उनीहरुले भेटमा रेमिटेन्स आप्रवाह र विदेशी मुद्राको सञ्चिति निकै बढी भए पनि मूलतः बजारमा माग नहुँदा व्यवसायी निराश भएको र ठूलो रकम बैंक–वित्तीय संस्थाहरूमा थन्किएको बताए ।

प्रतिक्रिया दिनुहोस्