अनुदानमा ढुवानी गरी बाजुराको स्याउ बजारमा

धनगढी-बाजुराको दुर्गम क्षेत्रमा उत्पादन गरिएको स्याउ अनुदानमा ढुवानी गरी अनुदान धनगढीमा ल्याएको छ । कृषि ज्ञान केन्द्र बाजुराले छ सय क्वीन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १८ रुपैयाँ अनुदान दिएर बाजुराको स्याउ बजारमा पठाएको छ । पहिलो लटमा ६० क्वीन्टल स्याउ बाजुराको जुकोटबाट धनगढी ल्याएको कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्थाले धनगढीमा २२ किलोको प्रति कार्टुन दुई हजारमा बिक्री गरेको छ ।
सहकारीका अध्यक्ष मेघराज शाहीले ढुवानी अनुदानमा बाजुराको स्याउ काठमाडौंसमेत लगिरहेको बताए । उनले पहिलो लटमा एक सय २५ स्याउ काठमाडौं पठाइरहेको बताए । बाजुराको स्याउ धनगढी पुगेपछि सस्तो दरमा बिक्री गर्दा धनगढीका उपभोक्ताहरुले रुचिका साथ खरिद गरेका छन् । अहिले धनगढीमा काश्मिरी स्याउको नाममा भारतीय स्याउ दुई सय रुपैयाँ प्रति किलोमा बिक्री हुँदै आएको छ ।
बिगतमा बजार नपाएको बाजुराको स्याउ बारीमै कुहिने गरेको थियो । जुकोटदेखि पीलुचौरसम्म खच्चडमा ढुवानी गरी ट्रकमा राखेर धनगढी ल्याइएको अध्यक्ष शाहीले बताए । उनले सुदूरपश्चिम प्रदेशकै बाटोबाट ल्याउन खच्चर भाडा महंगो पर्ने भएकाले कालिकोट, सुर्खेत हुँदै धनगढी ल्याएको बताए ।
बाजुराको स्वामीकार्तिक गाउँपालिकाको जुकोट र साप्पाटामा वर्षेनी ठूलो परिणाममा स्याउ फलेपनि बाटो नहुँदा बजार पाएको थिएन । यो वर्ष बारीमै पुगेर कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले स्याउको ग्रेडिङ गरेर ढुवानी व्यवस्था मिलाएपछि किसानहरु पनि खुसी भएका छन् ।
स्याउ बोकेको ट्रकमा बसेर स्याउ बेच्न धनगढी पुगेकी जुकोटकी नन्दा शाहीले सरकारले ढुवानी व्यवस्था मिलाएकोमा किसानहरु निकै खुशी भएको बताइन् । सहकारीको सदस्य रहेकी उनले किसानलाई प्रति किलोको ३० रुपैयाँ दिएर सहकारीले स्याउ खरिद गरेको बताइन् ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतिले बाजुराको जुकोट र साप्पाटाका किसानले दुई सय ३० हेक्टरमा स्याउ लगाएर एक हजार ५० टन स्याउ उत्पादन गरेको बताए । यसै वर्ष बाजुराको स्याउ बारीबाटै एक रुपैयाँमा तीन दाना स्याउ बिक्री गरिएको थियो ।