Logo

सूर्य नेपाल वेस्टर्न ओपन रेकर्डमा भुवनलाई उपाधि

काठमाडौं– पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३/०२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन् ।

५४ होलको प्रतियोगिता १०–अण्डर १९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो । भुवनले सन् २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९–अण्डरको रेकर्ड तोडेका हुन् । यो प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो । शुक्रबार उनले ७–अण्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए ।

पोखरास्थित पार–६९ को हिमालयन गल्फ कोर्समा अन्तिम दिन शनिबार इभन–पार ६९ को स्कोर निकाल्दा भुवनले समग्रमा १०–अण्डर १९७ को स्कोरमा करियरको एघारौं उपाधि जितेका हुन् । भुवनले रवि खड्का र एमेच्योर सदभाव आचार्यलाई १२ स्ट्रोकले माथ दिए । उपाधिसँगै भुवनले १ लाख ४० हजार नगद पुरस्कार हात पारे । सन् २०२२ को सूर्य नेपाल काठमाडौं ओपन जितेपछि उनले जितेको यो पहिलो उपाधि हो ।

प्रतिक्रिया दिनुहोस्