Logo

भारतको उत्तरपूर्वी आर्थिक करिडोरले नेपाललाई फाइदा

काठमाडौं– भारतको आसाम राज्यको गुवाहटीमा आयोजित ‘समावेशी विकासका लागि उत्तरपूर्वी भारतमा अन्तरदेशीय आर्थिक करिडोर’ गोलमेच सम्मेलनमा नेपाल–भारत उद्योग वाणिज्य संघ पनि सक्रिय रूपमा सहभागी भएको छ ।

संघका उपनिर्देशक मार्शल राठौरका अनुसार आसाम सरकारको भारतको एक्ट इस्ट नीतिअन्तर्गतको सरकारी विभागद्वारा आयोजित कार्यक्रममा प्रमुख सरोकारवाला विभिन्न राष्ट्रका प्रतिनिधिको सहभागिता थियो । अन्तरदेशीय आर्थिक करिडोरमार्फत इण्डो–प्यासिफिक क्षेत्रका देशसँग भारतको आर्थिक, रणनीतिक र सांस्कृतिक सम्बन्ध सुदृढ पार्ने उद्देश्यले आयोजित कार्यक्रम आसामका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा, सचिव मानवेन्द्र प्रतापसिंहलगायतले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा एसियन इन्स्टिच्युट अफ इकोनोमिक डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्सका संस्थापक सुनील केसीले दक्षिणपूर्वी एसियाको प्रवेशद्वारका रूपमा उत्तरपूर्वी भारतको भूराजनीतिक महत्त्वलाई जोड दिँदै यस क्षेत्रमा शान्ति, स्थिरता र पारस्परिक समृद्धिका लागि आर्थिक सम्बन्धलाई बढावा दिनुपर्नेमा जोड दिए । अन्तरदेशीय आर्थिक करिडोरका सम्भावित लाभलाई जोड दिँदै केसीले व्यापारको मात्रा बढाउन, रोजगारी सिर्जना गर्न, पूर्वाधार विकासलाई उत्प्रेरित गर्न यस क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए ।

उनले यस्ता खालको पहलको सफलताको लागि बलियो पूर्वाधार, सहज व्यापार प्रवाह र प्रभावकारी नीतिगत समन्वयको आवश्यकतामा जोड दिए । गोलमेच सम्मेलनले वार्ता र सहयोगका लागि एक बहुमूल्य प्लेटफर्म प्रदान गरेको र यसले क्षेत्रीय सहयोगलाई बढावा दिने र उत्तरपूर्वी भारतमा साझा समृद्धि हासिल गर्न भविष्यका लागि आधार तयार पारेको बताए ।

प्रतिक्रिया दिनुहोस्