सात महिनामा तिलाको खर्च १५ करोड, आम्दानी १० लाख

जुम्ला– जुम्लाको तिला गाउँपालिकाले सात महिनामा साढे १५ करोड बढी बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्म तिलाले चालु र पुँजीगततर्फ विनियोजित कुल बजेटको १५ करोड ५२ लाख रुपैयाँ खर्च गरेको हो । चालु आवमा चालु र पुँजीगत गरी कुल ५१ करोड २४ लाख रुपैयाँ विनियोजन भएकोमा माघ मसान्तसम्म समग्रमा १५ करोड ५२ लाख रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढ्थापाले बताए । चालुतर्फ कुल ३३ करोड २४ लाख रुपैयाँ विनियोजन भएकोमा सात महिनामा १५ करोड २७ लाख रुपैयाँ खर्च भएको छ ।
त्यस्तै पुँजीगततर्फ विनियोजित कुल १७ करोड ९९ लाख रुपैयाँमध्ये माघ मसान्तसम्म २४ लाख ९० हजार रुपैयाँमात्रै खर्च भएको छ । पूर्वाधार विकासलाई प्राथमिकता दिएको तिलाले पुँजीगत बजेट खर्च किन न्यून ? भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत बुढ्थापा भन्छन्, ‘चालुको तुलनामा पुँजीगत खर्च निकै न्यून छ । केही समय प्रशासकीय अधिकृत नहुँदा ठेक्का पट्टा रोकिएका थिए । केही काम भएका योजनाको भुक्तानी पनि हुन सकेन । म आइसकेपछि करिब एक दर्जन योजनाको बोलपत्र आह्वान भएका छन् । अब पुँजीगत खर्चले पनि गति लिन्छ ।’
यसैबीच तिला गाउँपालिकाले सात महिनाको आन्तरिक आम्दानी १० लाखमात्रै भएको छ । सात महिनामा १५ करोड बजेट खर्च गरेको तिलाले १० लाख ५० हजारमात्रै आन्तरिक आम्दानी गरेको छ । नौ वटा वडा रहेको तिलामा स्रोत र सम्भावना थुप्रै हुँदा पनि नीति अभावले आन्तरिक आम्दानीमा तिला निकै कमजोर देखिएको छ । कृषि, जडिबुटी, पर्यटनको प्रचुर सम्भावना भएको तिलाले अपेक्षित राजस्व संकलन गर्न सकेको छैन । तिलाजस्तै खर्चको तुलनामा आम्दानी निकै न्यून हुनुले जुम्लाका स्थानीय तह सम्भावना भएर पनि अनुदानका भरमा चल्न बाध्य छन् । संघ प्रदेशले अनुदान रोकेको खण्डमा विकास निर्माणका सबै काम ठप्प हुने निश्चित छ ।
यद्यपि, तिलामात्र नभई जुम्लाका सबै स्थानीय तह आन्तरिक आम्दानीमा कमजोर छन् । स्थानीय स्रोत साधनको अधिकतम प्रयोग तथा परिचालनमा स्थानीय सरकार चुक्दै आएका छन् । उत्पादनमूलक क्षेत्रमा निकै न्यून लगानी छ । वितरणमुखी टुक्रे योजनामा बजेट बढी छ । स्थानीय तहको आन्तरिक आम्दानीको मुख्य स्रोत ढुंगा, गिट्टी बालुवा भए पनि त्यसको उत्खनन् र बिक्रीलाई व्यवस्थित नगर्दा करोडौं राजस्व गुमेको छ । तर आन्तरिक आम्दानी बढाउन पालिकाको ध्यान गएको छैन ।
संघ र प्रदेशमा १४ योजना माग
तिला गाउँपालिकाले १३औं हिउँदे गाउँसभाबाट संघ र प्रदेशमा १४ वटा योजना माग गर्ने निर्णय गरेका छन् । पालिकाको बजेट अपुग भएपछि नागरिकस्तरबाट माग भई आएका योजना संघ प्रदेशमा माग गर्ने निर्णय भएको हो । जसमा थाप्ला विद्युतीय लिफ्ट सिँचाइ योजना, त्रिवेणी, मडारी, जक्ताखोली कृषि ग्रामीण सडक निर्माण, सरस्वती मावि कुडारीको पर्खाल र घेरबार निर्माण, त्रिवेणीदेखि कान्चे खोला नदी नियन्त्रण तथा तटबन्धन निर्माण, पञ्चेश्वर महादेव आवि थापा गाउँ पर्खाल तथा घेराबार निर्माण योजना माग गर्ने निर्णय भएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।
उनका अनुसार डुग्रीदेखि पातिहान टावरसम्म सडक निर्माण, सामुदायिक स्वास्थ्य कार्यालय रावतबाडा घेराबार तथा फिल्ड निर्माण, तम्तेली गाउँदेखि हमाले हलेखडा सडक निर्माण, नौली घट्टदेखि झुलाखोला तटबन्धन तथा वृक्षरोपण, मुड खोलादेखि पालता घट्ट हुँदै बालुघाटसम्म तटबन्धन निर्माण, स्याउको कोल्ड भवन निर्माण र सिम खोला ओखर पकेट क्षेत्रको घेरबार गरी १४ वटा योजना संघ र प्रदेशमा माग गर्ने निर्णय गरिएको छ ।
पालिकाको बजेट बाँडफाँट भइसकेको र नागरिकले माग गरेको योजनामध्येबाट १४ वटा योजनालाई संघ प्रदेशमा बजेट स्वीकृतिका लागि पठाइने तिलाको तयारी छ । भूगोल र जनसंख्याका आधारमा स्थानीय तहमा बजेट नआउँदा काम गर्न मुस्किल भएको उपाध्यक्ष गोरीकला बुढाले बताइन् । पर्याप्त बजेट नआउने आएको बजेट विषयगत शाखामै नपुग्ने समस्याले संघ प्रदेशसँग गुहार माग्नुपर्ने बाध्यता रहेको उपाध्यक्ष बुढाको भनाइ छ ।