Logo

कर्णाली एक्स्पो सञ्चालनमा अन्योल

सुर्खेत– सुर्खेतमा हुने भनिएको महोत्सव ‘तेस्रो कर्णाली एक्स्पो’ सञ्चालनमा अन्योलता छाएको छ । उच्च अदालत सुर्खेतले महोत्सव सञ्चालन कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएपछि अन्योलता छाएको हो ।

सुर्खेत उद्योग वाणिज्य संघले यही फागुन १४ गतेदेखि महोत्सव सञ्चालनको तयारी गरेको थियो । तर महोत्सव सञ्चालनस्थल वीरेन्द्रनगर–८ नजिकै रहेको बालमन्दिर प्राथमिक विद्यालयमा पठन पाठनमा असर पुग्ने भन्दै अधिवक्ता प्रकाशबाबु ऐडीले महोत्सव रोक्न आदेशको मागसहित उच्च अदालतमा रिट निवेदन दिएका थिए ।

अधिवक्ता ऐडीको निवेदनमा वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, गीताकुमारी कोइराला र दुर्गाप्रसाद सापकोटाले बहस गरेका थिए । शुक्रबार भएको बहसमा न्यायाधीश माधवप्रसाद धितालको इजलासले महोत्सव कार्य रोक्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा दुवै पक्षलाई छलफलका लागि १३ गते अदालतमा बोलाइएको छ ।

रिट निवेदनमा मेला सञ्चालनको अनुमति दिने वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सुर्खेत उपत्यका नगर विकास समिति र आयोजक उद्योग वाणिज्य संघ सुर्खेतलाई विपक्षी बनाई अन्तरिम आदेशसहितको निषेधाज्ञा माग गरिएको छ । मेला सञ्चालनका लागि वीरेन्द्रनगरकै खुलामञ्च, जिल्ला प्रशासन कार्यालयको दक्षिणतर्फको खुला मैदान, कालुन्चोकमा रहेको खेल मैदान, बुलबुले उद्यानलगायतका स्थानको विकल्पसमेत दिइएको छ ।

महोत्सव आयोजना गर्न लागिएको स्थाननजिकै बाल मन्दिर प्राथमिक विद्यालय रहेको छ । उक्त विद्यालयमा कक्षा एकदेखि पाँचसम्म अध्ययन गर्ने ११० जना बालबालिका रहेका छन् । विद्यालयले चैत १ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गर्ने भनेको छ । महोत्सव गतिविधिले परीक्षाको मुखैमा बालबालिकाको पढाइलाई गम्भीर असर पुग्ने भएकोले यसलाई रोक्न अदालतमा रिट निवेदन दायर भएको थियो ।

बालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानुनी अधिकारलाई ध्यानमा राखी महोत्सव कार्य रोक्न आदेशको माग गरिएको छ । विगतका वर्षदेखि नै सोही क्षेत्रमा महोत्सव सञ्चालन हुँदै आएका छन् । मेला आयोजनास्थल घेरबार, विभिन्न प्रदर्शनीस्थल, बाल उद्यान, प्रवेशद्वार निर्माणलगायतका काम अन्तिम चरणमा पुगेको थियो । अदालतको अन्तरिम आदेशले भने मेला सञ्चालनमा अन्योलता छाएको छ ।

सम्बन्धित निकायबाट अनुमति लिएर मेला आयोजनाको अन्तिम चरणमा अदालतको आदेशले उद्योगी व्यवसायीलाई दुःखित तुल्याएको मेला संयोजकसमेत रहेका सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँंडेलले बताए । ‘अन्तरिम आदेशबारे हामीले पनि मिडियामार्फत मात्रै जानकारी पाएका छौँ आधिकारिक पत्र आएको छैन,’ अध्यक्ष कंँडेलले भने, ‘आधारिक पत्र आएपछि छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने संस्थागत निर्णय हुन्छ ।’ अदालतले अल्पकालीन आदेश दिएर छलफलका लागि बोलाएकाले एक दुई दिन ढिला भए पनि मेला सञ्चालन हुने अध्यक्ष कँंडेलले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्