Logo

सयुक्त रूपमा सहकारीको अनुगमन

काठमाडौं– आइतबारदेखि सहकारी विभाग र नेपाल राष्ट्र बैंकले सयुक्त रूपमा सहकारीको अनुगमन गर्ने भएको छ । ५० करोड रुपैयाँ बढी सेयर पुँजीका सहकारीको सयुक्त रूपमा अनुगमन हुने भएको हो । सहकारीमा बढेको बेथितिलाई नियन्त्रण गर्ने यसअघि सहकारी मन्त्रालयले आग्रह गर्दा राष्ट्र बैंकले नियमनले नगर्ने जनाएको थियो ।

तर, पछिल्लो छलफलमा राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोलीमा सहकारीको अनुगमन हुने भएको छ । विभागको क्षेत्राधिकार भित्र पर्ने सहकारीको अनुगमन विभागले निरन्तर गर्दै आएको छ । तर, राष्ट्र बैंकसहितको सयुक्त टोलीमा पहिलो पटक आइतबारदेखि अनुगमन हुन लागेको हो । अनुगमन टोलीले राम्रा र नराम्रा दुईबै किसिमका सहकारीको अनुगमन गर्ने छ ।

‘सहकारीमा केही समस्या छ भने सुधारका लागि निर्देशन दिन्छौं, ठूलो गल्ति गरेको छ भने कारबाहीका लागि सिफारिस गर्छौं, राम्रा सहकारीको पनि अनुगमन गरेर तिनको अभ्यास अन्य सहकारीलाई पनि यस्तो गर भनेर सल्लाह दिन्छौं,’ अनुगमन टोलिका एक सदस्यले बताए । राष्ट्र बैंकले सहकारीको अनुगमनमा प्राविधिक सहयोगका लागि उपनिर्देशक डा. रमेश चौलागाईं, गैर बैंकिङ वित्तीय संस्थाका रामकृष्ण राई र लघुवित्त विभागका रमेश पौडेललाई पठाएको छ ।

‘राष्ट्र बैंकलाई ठूला सहकारीको अनुगमनका लागि अनुरोध गरेका थियौं । तर, राष्ट्र बैंकले जनशक्तिको अभाव भन्दै एक्लै अनुगमन गरेन, अब हामीले सहकार्यमा अनुगमन गर्छौं, राष्ट्र बैंकबाट आएका कर्मचारीले वित्तीय विवरण विश्लेषणको पाटो हेर्नु हुन्छ,’ विभागका अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्