कृषि मेलामा माटो परीक्षण

बुटवल– बुटवलमा जारी राष्ट्रिय प्रांगारिक कृषि मेलामा निःशुल्क माटो परीक्षण गरिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेले माटो परीक्षणको घुम्ती प्रयोगशाला मेलामा राखेको हो । प्रयोगशालाको पहेलो रंगको बस भित्र रुपन्देहीका विभिन्न ठाउँका किसानले ल्याएको माटो प्राविधिकहरुले परीक्षण गर्ने काम गरिरहेका छन् ।
घुम्ती प्रयोगशालामार्फत किसानले ल्याएको माटोमा ५ वटा प्यारामिटर हेर्ने गरिएको माटो तथा मल परीक्षण प्रयोगशालाका प्रमुख कोमल शाहीले बताए । ‘हामीले माटो अम्लीय कि छारिय कस्तो छ भनेर हेर्छौं । अमिलो र छारिय माटो भयो भने विरुवाले माटोबाट सहज रुपमा खाना लग्न सक्दैन,’ उनले भने, ‘माटोमा प्रांगारिक पदार्थबारे पनि परीक्षण गर्छौं । प्रांगारिक पदार्थ कम भएमा विरुवा रोगी हुन्छ, उत्पादकत्व बढ्न सक्दैन । त्यस्तै नाइट्रोजन, फसपोरस र पोटासको लेबल हेर्छौं ।’
मेलामा शनिबार अपरान्हसम्म एक सय वटा माटोको नमुना परीक्षणको लागि आएको छ । त्यसमध्ये ५० वटा माटोको नतिजा आएको प्रयोगशालाले जनाएको छ । परीक्षण गरिएका माटोका नमुनामध्ये अधिकांसमा नाइट्रोजनको मात्रा कम र फसपोरसको मात्रा ज्यादा देखिएको प्रयोगशालाका खाद्य तत्व नायव प्राविधिक सहायक तिलक केसीले जानकारी दिए ।
‘नाइट्रोजनको मात्रा कम छ । फसपोरसको मात्रा अधिक देखिएको छ । पोटासको मात्रा सन्तुलित छ,’ उनले भने ‘माटोमा नाइट्रोजन कम हुँदा विरुवाहरु हलक्क बढ्दैन । नबढ्दा राम्रो फल दिँदैन,’ उनले भने,‘डिएपी मल चाहिँ कृषकहरुले आवश्यकताभन्दा बढी गरेका रहेछन् । अनावश्यक खर्च भएको देखियो ।’ माटोमा नाइट्रोजन कम हुँदा युरिया मल प्रयोग गर्नुपर्ने हुन्छ । माटो परीक्षण गरेपछि आफूहरुले कति बालिमा कुन मल कति प्रयोग गर्ने बारे सल्लाह दिने गरेको प्राविधिक सहायक केसीले बताए ।