सात महिनामा बेलहिया नाकाबाट ८ अर्बको निर्यात

भैरहवा– बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारततर्फ ७ अर्ब ८८ करोडभन्दा बढी रुपैयाँँका विभिन्न सामानहरु भारत तथा तेश्रो मुलुकमा निर्यात भएका छन् । यो गर्त वर्षको माघको तुलनामा ७० प्रतिशत बढी हो ।
गत वर्षको सात महिनामा ५ अर्ब ५२ करोड मूल्य बढीका सामानहरु निकासी भएको भैरहवा भन्सार कार्यालयका प्रमुख एवं भन्सार अधिकृत नारद गौतमले बताए । गत वर्षको तुलनामा भारत एवं तेस्रो मुलुकमा निकासी वृद्धि भएको तथ्यांकले देखाएको छ । निर्यात व्यापार बढेको कारण व्यापार घाटा केही कम भएको छ । चालु वर्षको सात महिनामा ७ अर्ब ८८ करोड रुपैयाँँको साामन निकासी हुँदा १ खर्व ३७ अर्ब रुपैयाँँ भन्दा बढीका सामान बेलहिया नाका हँदै नेपाल भित्रिएको गौतमले बताए ।
गौतमका अनुसार आयात निर्यात दुवै बढेको छ । यो नाका हुँदै निकासी बढी हुने मुख्य साामनमा सेन्थेटिक यार्न, सिमेन्ट, क्लिन्कर, प्लाइउड, विभिन्न वनस्पति उत्पादन, पीना, अदुवा, सुठोलगायतका जडिबुटी रहेका छन् । त्यसै गरी तयारी चाउचाउ, पास्ता तथा चोकर भुस, रोजिन टर्पेन्टाइन, पिभिसी फिटिङ पाइप, खोटो रोजिन, बियर, अल्कीड रेजीन र अन्य पिभिसी रेजीन, स्टिलका भाडाकुडालगायतका वस्तु भारत तथा तेस्रो मुलुकमा निर्यात हुने गर्छन् ।
भैरहवा भन्सार कार्यालय सूचना एवं कम्प्यूटर शाखाका शाखा अधिकृत श्याम न्यौपानेका अनुसार चालु वर्षको ७ महिनामा यो नाका हुँदै सबैभन्दा बढी सेन्थेटिक यार्न निकासी भएको छ । ७ महिनामा ३ अर्ब १६ करोड ५३ लाख ९९ हजार रुपैयाँँको १४ हजार ९३६ टन सेन्थेटिकयार्न निकासी भएको शाखा अधिकृत न्यौपानेले बताए । गत वर्षको ७ महिनामा १ अर्व ९० करोड ५६ लाख ५६ हजार रुपैयाँँ बराबरको ८ हजार ३२५ टन सेन्थेटिक यार्न निर्यात भएको थियाे ।
यो नाका हुँदै यार्न भारत मात्र नभएर टर्कीसम्म जाने गरेको छ । ७ महिनामा १ अर्ब ६६ करोड रुपैयाँँको सिमेन्ट तथा क्लिंकर भारत निकासी भएको छ । यो अवधिमा ९१ करोड करोड ३२ लाख रुपैयाँँको ३ लाख ५५ हजार टन सिमेन्ट तथा ७५ करोड ३७ लाख रुपैयाँँ बराबरको २ लाख ५० हजार टन क्लिंकर भारत निकासी भएको हो । केही वर्ष अघिसम्म सिमेन्ट तथा क्लिंकरका लागि भारतकै भर पर्नुपर्ने अवस्था रहेकोमा आयात प्रतिस्थापन गर्दै अघिल्लो वर्षदेखि सिमेन्ट क्लिन्कर निकासी हुन थालेको हो ।
गत आर्थिक वर्षको तुलनामा सिमेन्ट तथा क्लिंकर निकासी बढी भएको छ । सरकारले बजेटमार्फत विभिन्न वस्तु तोकिएको परिमाणभन्दा बढी निकासी गरेमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको छ । सोही अनुसार उद्योगहरुले भारततर्फ निकासी बढाइरहेका भन्सार प्रमुख गौतमले भने । क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानीसहित ८ वस्तु तथा सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस आउटसोर्सिङ निकासीमा उच्च सम्भावना रहेका वस्तु तथा सेवा तोकिएको परिमाणमा निकासी गरे ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था सरकारले गरेको छ ।
बेलहिया नाका हुँदै सेन्थेटिक यार्न, सिमेन्टसहित अन्य वस्तुको निकासी बढेको छ । यो नाका हुँदै १ अर्व ३ करोड रुपैयाँँ बराबरको ६ हजार १३९ टन प्रशोधित तेल भारत निकासी भएको छ । नयाँ वस्तुका रूपमा प्लाईउड निकासी यो नाकाबाट सुरु भएको छ । ७ महिनामा २४ करोड ४८ लाख रुपैयाँँको प्लाइउड निकासी भएको कार्यालयले जनाएको छ । विगतका वर्षभन्दा चालु आर्थिक वर्षमा यो नाका हुँदै विभिन्न वनस्पति उत्पादन, पिना, अदुवा, सुठोलगायत जडिबुटीको निकासी बढ्दै गएको छ ।
भन्सार कार्यालयका अनुसार गत साउनदेखि माघ मसान्तसम्म वनस्पति उत्पादन ४२ करोड ६० लाखको निकासी भएको छ । यसैगरी पिना ४० करोड ५९ लाखको, सुठो अदुवा २६ करोड ४७ लाखको निकासी भएको छ । यो नाका हुँदै तयारी चाउचाउ, पास्ता तथा चोकर भुससमेत निकासी भइरहेको छ । ७ महिनामा चाउचाउ र पास्ता २७ करोड ६५ लाखको निकासी हुँदा चोकर निकासी पनि बढेको छ । बेलहिया नाकाबाट रोजिन टर्पेन्टाइन, पिभिसी फिटिङ पाइप पनि भारत निकासी हुँदै आएको छ ।
खोटो रोजिन चालु वर्षको ७ महिनामा २३ करोड ५७ लाख तथा अल्कीड रेजीन र अन्य पिभिसी रेजीन ३८ करोड रुपैयाँँभन्दा बढीको निकासी भएको छ । निकासी सम्भावना भएका वस्तुहरको अध्ययन गरी त्यस्ता वस्तु उत्पादन गर्ने, एवं प्रशोधन गरेर पठाउँने उद्योग, संस्थाहरुलाई राहत हुने गरी नीति बनाइ निकासीको वातावरण अझ सहज बनाए बढी भन्दा बढी वस्तु भारत एवं अन्य मुलुक निकासी गरी व्यापार घाटा घटाउन मद्दत पुग्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।
उनले भने, ‘हामी कहाँ उत्पत्तिको प्रमाणपत्र लिन आउने कतिपय निकासीकर्ताले हाम्रै देशमा नीतिका कारण समस्या हुने गरेको गुनासो गर्दै आएका छन् । हामीहरूले सरकारलाई लिखित रूपमा र विभिन्न फोरमहरुमा पनि ध्यानाकर्षण गराउँदै आएका छौं, नाका र देश भित्र निकासीका लागि अझै सहज नीति आउनुपर्छ ।’