केरुङ हुँदै चिनियाँ भूमिबाट खाद्यान्न ढुवानी

हुम्ला-नेपाल खाद्य संस्थानले हुम्लामा चाडपर्वका बेला खाद्यान्न अभाव हुन नदिन चिनियाँ भूमी प्रयोग गर्दै ढुवानी गरेको छ । संस्थानको हुम्ला शाखाले दसैं र तिहारलाई लक्षित गरी हवाई र स्थलमार्गबाट खाद्यान्न ढुवानी सुरु गरेको हो ।
रसुवाको केरुङ नाकाबाट चीनको विभिन्न भाग हुँदै पुनः हुम्लाको सीमामा रहेको हिल्सा नाकाबाट खाद्यान्नको ढुवानी सुरु भएको छ । हाल सिमकोटमा रहेको नेपाल खाद्य संस्थानको डिपोमा ढुवानीको लागि नाम्खा गाउँपालिकाको केर्मीबाट हरेक दिन ३ वटा टिपरले ढुवानी गर्दै आइरहेका छन् ।
हवाई ढुवानीबाट भन्दा स्थलगत रुपमा ढुवानी गर्दा संस्थानलाई प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्म सस्तो पर्ने गरेको छ । खाद्य संस्थानको काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट रसुवाको केरुङ नाका हुँदै तिब्बतको बाटो भएर हिल्सासम्म चिनियाँ कन्टेनर र त्यहाँबाट नेपाली टिपरले हिल्सा सिमकोटसम्म ढुवानी भइरहेको छ । संस्थानको ढुवानी अनुदानको ५ हजार क्विन्टल खाद्यान्नमध्ये पहिलो चरणमा २ सय क्विन्टल सिमकोट पुगिसकेको छ । अन्य ढुवानी कार्यको लागि पहल भइरहेको नेपाल खाद्य संस्थान हुम्ला प्रमुख रामबहादुर विष्टले जानकारी गराए । पहिलो चरणको खाद्यान्न हाल नाम्खाको केर्मीसम्म सुरक्षित रुपमा ढुवानी भइसकेको र एक हप्तामा सिमकोट ढुवानी भइसक्ने विष्टको भनाइ छ । टेण्डर पाएको कम्पनीलाई जतिसक्दो चाँडो ढुवानी गर्नको लागि सुझाएको, चाडपर्वमा हुम्लामा खाद्यान्नको अभाव नहुनेगरी पहल भइरहेको बताए ।
हरेक वर्ष चाडपर्व र अन्य बेलामा चामलको केही कन्जुस्याइँ गरेर वितरण गर्नुपर्ने भए पनि यो वर्ष त्यस्तो नहुने विष्टको भनाइ छ । नेपालगञ्ज र सुर्खेतबाट पनि हवाईजहाजमार्फत चामल ढुवानीको कार्य जारी छ । दुवै मार्गबाट ढुवानी गर्दा खाद्य संस्थानमा स्टक चामल राम्रो गराउनेतर्फ संस्थान लागि परेको छ ।
केरुङबाट ढुवानी भएको चामलमध्ये एक हजार क्विन्टल याल्वाङ वितरण केन्द्रको लागि भएको र त्यतैबाट वितरण गर्ने गरी व्यवस्था मिलाइएको छ । चामल ढुवानीको जिम्मा पाएका देउती बज्यै कन्स्ट्रक्सनले जतिसक्दो चाँडो ढुवानी गरी चाडपर्वको बेला चामल अभाव हुन नदिनेमा कटिवद्ध भएको कम्पनीका प्रतिनिधि ध्रुवबहादुर शाहीले बताए ।
सडकको हालत ठिक नभए पनि स्काभेटरले बिग्रेको बाटो आफैं निर्माण गरी ढुवानी गरिरहेको उनको भनाइ छ । बाँकी रहेको ३ हजार ७ सय ३० क्विन्टल चामलको हरेक दिन सिमकोटसम्म ओसार्ने गरेको छ । पहिलोपटक सिमकोटमा भित्रिएको ट्रिपर हेर्नको लागि स्थानीयको भीडसमेत लागेको थियो । सिमकोटसम्म प्रतिकिलो ढुवानी लागत ८४ रुपैयाँ ९५ पैसा पर्न गएको छ । हवाई ढुवानी गर्दा प्रतिकिलो १ सय १५ सम्म भने खाद्य संस्थानले बेहोर्ने गरेको छ । यता, नाम्खाको लिमी उपत्याकामा बसोबास गर्ने ३ वटा गाउँ तिल, हल्जी र जाङका वासिन्दाले भने चिनको ताक्लाकोटबाट ८ महिनाको लागि आवश्यक पर्ने खाद्यान्न निजी स्तरबाट ढुवानी गरेका छन् । हिउँदको महिनामा जिल्लाको विभिन्न भागबाट खाद्यान्न आपुर्तीको समस्या हुने भएको कारण असौज र कार्तिकमा नै चामल र मैदाको जोहो गर्ने गरेको छन् ।