Logo

गाउँपालिकाका प्रशासकीय अधिकृतमाथि कुटपिट

मुगु-सदरमुकाम गमगढी बजारबाट कार्यक्षेत्र सोरु गाउँपालिकातर्फ जाने क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेका छन् ।
सोमबार गमगढीदेखि गाउँपालिका कार्यालय सोरुकोटतर्फ जाँदै गरेका अधिकृत पर्शुराम उपाध्यायलाई तारापानीमा कार्यकर्ताले कुटपिट गरेका हुन् । उपाध्यायमाथि विप्लव समूहले तारापानी सिप गाउँमा हातपात गरेको भन्ने प्रारम्भिक जानकारी आएको र हातपात गर्नेहरुको खोजीका लागि प्रहरी चौकी कालै र जिल्लाबाट समेत प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
कुटपिटपछि घाइते भएका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई जिल्ला अस्पताल गमगढी ल्याएर उपचार भइरहेको बताइएको छ ।
के कति कारणले उपाध्यायमाथि कुटपिट गरेको भन्ने जानकारी आफूलाई प्राप्त भए पनि विस्तृत जानकारी भने आउन नसकेको प्रहरीले जनाएको छ । विप्लव समूहलाई नियन्त्रण गर्न त्यसतर्फ संयुक्त सुरक्षा फौज परिचालन गरिने पनि प्रहरीले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको अहिले स्वास्थ्य सेवा कार्यालय ठिनी मुगुमा उपचार भइरहेको छ । बिरामीको टाउकोमा चोट र शरीरका अन्य भागमा पनि चोट रहेका छन् । अहिले उपचार भइरहेको हुँदा बिरामीको अवस्थाबारे बताउन नसकिने उपचार संलग्न डाक्टरहरु बताउँछन् ।
बिहान खाना खाइरहेका बेला केही मानिसहरुले मुखमा मास्क लगाएर आएको र हातमा लाठी बोकेको अनि अधिकृतलाई पिटेको सोरु गाउँपालिकाका एक कर्मचारीले बताए ।

प्रतिक्रिया दिनुहोस्