Logo

बैंकबाट ऋण लिएर घर बनाउने बढे, पुससम्म ४ खर्ब ऋण लगानी

काठमाडौं– गत आर्थिक वर्षमा धीमा गतिले विस्तार भएको व्यक्तिगत आवासीय कर्जा (घर बनाउन बैंक तथा वित्तीय संस्थाबाट लिइने ऋण) चालु आवमा भने रफ्तारमा बढ्दै गएको छ । गत असारको तुलनामा यस्तो कर्जा ९.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो असारको तुलनामा गत आवको ६ महिनामा यस्तो कर्जा ३.२ प्रतिशतले मात्रै बढेको थियो । चालु आवको ६ महिनामा ३ खर्ब ८० अर्ब रुपैयाँ व्यक्तिगत आवासीय कर्जा विस्तार भएको छ, जबकि गत आवको पुससम्ममा यस्तो कर्जा ३ खर्ब ४८ अर्ब रुपैयाँ थियो ।

चालु आवको साउनमा ३ खर्ब ५९ अर्ब रुपैयाँ व्यक्तिगत आवासीय कर्जा विस्तार भएकोमा त्यसयताका हरेक महिना बढ्दै आइरहेको छ । गत आवको कात्तिक मसान्तसम्म ३ खर्ब ४५ अर्ब हाराहारीमा मात्रै यस्तो कर्जा विस्तार भएको थियो । गत आवमा सुस्त रहेको घरजग्गा कारोबार चालु आवको सुरुवातदेखि नै क्रमशः सुध्रँदै गएको जानकारहरू बताउँछन् । कर्जा विस्तार हुँदै जाँदा घर निर्माणको काम पनि बढेको हो । गत आवकै मंसिरमा यस्तो कर्जा विस्तार घटेर ३ खर्ब ३७ अर्बमात्रै थियो भने पुसमा थोरै बढेर ३ खर्ब ४८ अर्बको हाराहारीमा पुगेको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवमा भने हरेक महिना व्यक्तिगत आवासीय कर्जा बढ्दो क्रममा छ । साउनमा ३ खर्ब ५९ अर्ब रहेको यस्तो कर्जा भदौमा ३ खर्ब ६५ अर्ब, असोजमा ३ खर्ब ७४ अर्ब, कात्तिकमा ३ खर्ब ७६ अर्ब, मंसिरमा ३ खर्ब ७७ अर्ब हुँदै पुसमा ३ खर्ब ८० अर्ब रुपैयाँ पुगेको हो । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा पहिलो घर निर्माणका लागि दिइने आवासीय कर्जाको सीमा बढाएसँगै कर्जा विस्तार बढेको हो । मौद्रिक नीतिले पहिलो घर बनाउन एक व्यक्तिले अधिकतम दुई करोड रूपैयाँ कर्जा पाउन सक्ने व्यवस्था गरेको थियो । यसअघि यस्तो व्यवस्था एक करोड ५० लाख रुपैयाँमात्र थियो ।

तीन हजार वर्गफिटसम्मको घर निर्माण, खरिद वा अपार्टमेन्ट निर्माणका लागि यस्तो कर्जा पाउने व्यवस्था छ । गत पुसमा राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट ६० प्रतिशत पुर्याएको थियो । राष्ट्र बैंकले पहिलो त्रैमासको मौद्रिक समीक्षामार्फत ५० लाख रुपैयाँ माथिको रियलस्टेट कर्जाको जोखिम भार १२५ प्रतिशतमा झारेको थियो । घरजग्गा क्षेत्रमा ऋण प्रवाह बढाउन एकपछि अर्को नीतिगत लचकता अपनाइएपछि आवासीय कर्जा बढेको तथ्यांकले देखाउँछ । रियलस्टेट कर्जा प्रवाह भने ६ महिनामा १.८ प्रतिशतले घटेको छ ।

असारसम्म बैंक तथा वित्तीय संस्थाको रियलस्टेट क्षेत्रमा २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकामा पुससम्म आउँदा २ खर्ब ४५ अर्ब रुपैयाँमा झरेको छ । आवास कर्जा सहज हुँदा मन्दीमा गएको निर्माण क्षेत्रमा समेत सुधार हुने र अर्थतन्त्र चलायमान हुने अपेक्षा रहेको बैंकर र व्यवसायीले बताएका छन् । आवास कर्जाले सिमेन्ट, डण्डी, रंगलगायतका उद्योगको गतिविधि बढ्ने सरोकारवालाले बताउँदै आएका छन् । अर्कोतिर मजदुरले पनि काम पाउने छन् । पछिल्ला दिनमा बैंकमा लगानीयोग्य रकम (तरलता) सहज अवस्थामा रहँदा बैंकहरूले विभिन्न अफरसहित घर कर्जालाई प्राथमिकता दिइरहेका छन् ।

यसअनुसार कर्जा प्रवाह बढ्दै गएको हो । राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय बैंकहरूले कर्जा प्रवाहमा क्रमशः वृद्धि गर्दै गइरहेको देखाउँछ । चालु आवको पुससम्ममा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा ४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको पुससम्ममा यस्तो कर्जा ३ प्रतिशतले मात्रै बढेको थियो । गत पुसमा मात्र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय बैंकको ब्याजदर क्रमिक रूपमा सहज हुँदै गएको र बैंकमा तरलता पनि सहज अवस्थामा रहेकाले कर्जा विस्तारमा सुधार हुँदै जाने अपेक्षा बैंकरहरूको छ ।

विस्तारै घरजग्गाको पनि कारोबार बढ्दै गएकाले घरजग्गा कर्जा झनै वृद्धि हुने र यसले अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न सहयोग गर्ने सरोकारवाला बताउँछन् । चालु आर्थिक वर्षको कात्तिकबाट उकालो लागेको जग्गाको कारोबार र राजस्व संकलन माघसम्म पनि निरन्तर देखिएको छ । चालु आवको साउन, भदौ र असोजमा उतारचढाव रहेको जग्गाको कारोबार र राजस्व संकलन कात्तिकदेखि निरन्तर उकालो लागेको हो । सरकारले जग्गाको कित्ताकाट खुलाएपछि देशभरका मालपोत कार्यालयमा जग्गा कारोबार सामान्य बढेको देखिन्छ । चालु आवको माघसम्म ८ लाख ६० हजार जग्गा कारोबार हुँदा २१ अर्ब ६२ करोड राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा ६ लाख ९३ हजार कारोबार हुँदा २१ अर्ब ५७ करोड राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्